एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सुरु – Nepal Press

एमालेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सुरु

सरकारका गतिविधिले मुलुकमा अस्थिरता बढाएको उपमहासचव प्रदीप ज्ञवालीको आरोप

रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारका गतिविधिका कारण मुलुकमा अस्थिरता पैदा बढेको बताएका छन् ।

मुलुकको प्रधानमन्त्रीले राष्ट्र हितभन्दा बाह्य हितको लागि काम गरिरहेको आरोप लगाउँदै नेता ज्ञवालीले देश विकासको लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक परेको बताएका छन् ।

सोमबारदेखि लुम्बिनीको दाङ देखुरीमा प्रदेश पार्टी स्कुल विभागले आयोजना गरेका प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्वको जगमा बलियो राष्ट्रिय शक्तिको आवश्यक रहेपनि निर्वाचनबाट जनमत छरिएका कारण मुलुकले समस्या भोग्नुपरेको तर्क गरे ।

प्रधानमन्त्रीको ध्यान राष्ट्रतिर नभई आफ्नो कुर्सीको खुट्टातिर मात्रै रहेकाले मुलुकमा संकट उत्पन्न भएको उनले दावी गरे ।

‘६–७ वटा पार्टी नमिलेसम्म सरकार बन्न सक्ने अवस्था छैन । छरिएको जनमत आयो । प्रधानमन्त्रीको ध्यान राष्ट्रतिर भन्दा आफ्नो कुर्सीको खुट्टातिर मात्रै छ’, उनले भने, ‘प्रधानमन्त्रीले हरेक बिहान उठ्दा खेरी, हरेक साँझ सुत्दाखेरी कतैबाट आरा लाग्यो की, कतैबाट मुसाले खाइदियो की भनेर गन्नुपर्ने स्थिति छ ।’

नेता ज्ञवालीले एमालेले स्कुल विभागलाई चुस्त बनाउँदै कार्यकर्ता प्रशिक्षणलाई व्यापक बनाउनेगरी काम अघि बढेको जानकारी दिए । चार तहमा एमालेको स्कुल विभागले कक्षाहरु सञ्चालन गर्ने भन्दै त्यसबाट विचारको बलियो जग निर्माण हुने उनको भनाई छ ।

‘सात वटै प्रदेशका स्कुल विभागलाई व्यवस्थित गरेर अघि बढाउन थालेका छौं । पार्टीमा लाग्नेहरु विचारमा स्पष्टता हुनुपर्छ । त्यही भएर सबै तहका सदस्यहरुलाई कक्षा सञ्चालन गरेर प्रशिक्षित गर्ने छौं’उनले भने,‘आधारभूत, माध्यमिक, केन्द्रीय र बिशिष्टकृत स्कुल चलाउने छौं । त्यही पढाउनेछौं ।’

पार्टीमा आवद्ध हुने सबै सदस्यलाई प्रशिक्षीत गर्ने योजनाअनुसार काम अघि बढाइको जानकारी दिए । प्रशिक्षण अभियान चलाउन प्रशिक्षक तयार पार्न थालिएको छ । हरेक जिल्लामा कम्तिमा ४ जना प्रशिक्षक तयार पार्ने र कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्त, भावी रणनीति र योजनाको बारेमा प्रशिक्षित गर्ने कार्यक्रम तय गरिएको छ ।

लुम्बिनी प्रदेशका स्कुल विभाग प्रमुख लक्ष्मण ज्ञवालीले पार्टीको स्कुललाई व्यवस्थित गरिएको जानकारी दिए । पार्टीको नीति, बिचार र सिद्धान्तलाई सबै माझ जानकारी दिने उद्देश्यअनुसार काम अघि बढाइएको उनले बताए ।

प्रशिक्षण साउन २५ गतेसम्म चल्ने र यो प्रशिक्षणबाट पार्टीले नियमित स्कुलका कार्यक्रम संचालन गर्ने जनशक्ति तयार गर्ने एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए । उनले यही महिना बाँकेमा प्रदेशमा पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिलाई प्रशिक्षण गरिसकेको जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर