ल्हारक्यालको नियुक्तिमा माओवादी विभाजित- पार्टीलाई पार्ने प्रभावको ख्याल गर्न सुझाव – Nepal Press

ल्हारक्यालको नियुक्तिमा माओवादी विभाजित- पार्टीलाई पार्ने प्रभावको ख्याल गर्न सुझाव

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा डा. ल्हारक्याल लामाको नियुक्तिलाई लिएर नेकपा माओवादी केन्द्रमा असन्तुष्टि देखिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गरेपछि नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

विवादास्पद छविका लामालाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोषको उपाध्यक्ष नियुक्त गरेको थियो । तर, पार्टी केन्द्रीय सदस्यसमेत रहेका लामा प्रचण्डको रोजाइमा पर्दा नेताहरु सन्तुष्ट छैनन् ।

आइतबार सम्पन्न माओवादीको केन्द्रीय समितिको बैठकले पार्टी रुपान्तरणको अभियान थाल्ने संकल्प गरेको थियो । माओवादीको ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गर्ने भनिएको छ ।

तर, लामालाई नियुक्त गरेपछि केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले लुम्बिनीबाट रूपान्तरण अभियानको उद्घाटन सुरु भएको भन्दै कटाक्ष गरे ।

उनले फेसबुकमा लेखेका छन्, ‘रूपान्तरण अभियानको उद्घाटन भदौ १६ मा गर्ने निर्णय थियो । तर, बैठक सकिएकै दिन लुम्बिनीबाट सुरु भइसकेछ ।’

तर, माओवादी केन्द्रका अर्का नेता युवराज चौलागाईं राजनीतिक नियुक्तिमा योग्यता पुगेका व्यक्तिहरु जाने कुरालाई अस्वाभाविक रुपमा लिन नहुने बताउँछन् ।

उनले भने, ‘कुनै योग्यता र कानूनसँग जोडिएको प्रश्न होइन । राजनीतिक प्रश्नका रुपमा अहिले आएको छ । उहाँ नै योग्य भएको हुनाले यो पद प्राप्त गर्नुभएको होला भन्ने लाग्छ । तर, यसको प्रभाव के हुन्छ भन्ने कुरा नेतृत्वले ख्याल गरेको भए हुन्थ्यो ।’

पार्टीको जिम्मेवार सदस्य भएकाले नियुक्तिको विषयमा लामा आफैंले सोच्नुपर्ने उनको भनाइ छ ।

पार्टीभित्रकै नेताहरुले पनि प्रश्न उठाएका छन् नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘पार्टीभित्रबाटै पनि आलोचना गर्नुपर्छ जस्तो लाग्दैन । उहाँ पार्टीमै आएर काम गर्न थालेको पनि लामो समय भइसक्यो । पार्टीकै तर्फबाट एकपटक मन्त्री पनि भइसक्नुभयो । आवश्यक परे पार्टीभित्र छलफल गर्न सकिन्छ । तर, पार्टीभित्रकै नेताहरुले बाहिर बोल्नु राम्रो होइन ।’

चौलागाईंको भनाइमा माओवादीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल पनि सहमत छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘व्यक्ति ल्हारक्याल लामाको बारेमा छानबिन गर्ने, अनुसन्धान गर्ने र दोषी भए कारबाही गर्ने राज्यका निकाय ज्युँदै छ । उनीमाथि यसअघि पनि छानबिन एवं कारबाही नभएको होइन । आगामी दिनमा पनि दोषी ठहरिँदा कारबाहीको भागीदार हुनैपर्छ । यद्यपि सुशासनप्रति आमजनताको खबरदारी र चिन्ता चैं स्वाभाविक हो ।’

उनले पार्टीका नेताहरूलाई एउटै केन्द्रीय समितिको बैठकमा बस्ने तर, सरकारी नियुक्ति लिएपछि चैँ खराब छविको भन्नेहरूलाई स्वविचार गर्न आग्रह गरे ।

ल्हारक्याल कांग्रेसमा हुँदा गुम्बा विकास समितिको अध्यक्ष र एमाले हुँदै माओवादीमा आइपुगेका हुन् । एमालेमा हुँदा राज्यमन्त्री र माओवादीमा आइसकेपछि समानुपातिक सांसद हुँदै अहिले कोषको उपाध्यक्ष नियुक्त हुन सफल भए । तर, उनले आफू योग्य व्यक्ति भएकाले नै सबै दलले आफूलाई जिम्मेवारी दिएको दाबी गरेका छन् ।

रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथिका अभियोगमा अदालतले सफाइ दिएको अवस्थामा मिडियाले चरित्र हत्या र निम्नस्तरीय तहमा उत्रिएर टिप्पणी गरेको गुनासो गरे ।

उनले गुनासो थियो, ‘अदालतले सफाइ दिइसकेपछि त सफाइ पाउनुप¥यो नि ! जहिले पनि विवादास्पद व्यक्ति, आपराधिक व्यक्ति भन्ने अनि अदालतको के काम भयो ? अदालतले सफाइ दिएपछि पनि सफाइ नहुने ? कुनै व्यक्तिले पूर्वाग्राही रुपमा आरोप त लगाउँछन् नि ! अनि हामी सधैं अपराधी हुने ?’

उनले दूधले धोएको व्यक्ति कोही पनि नभएको जिकिर गर्दै सबैतिरबाट ‘क्लिन चिट’ पाइसकेको दाबी गरे ।

उनीमाथि दोहोरो नागरिकता, भारतीय रासनकार्ड र पासपोर्ट, बैंकको लकरमा बन्दुक राखेकोलगायतको आरोप लागेका थियो । त्यसो त लामाको नियुक्तिको विषयलाई लिएर माओवादीभित्र मात्रै नभएर सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका नेताहरुले पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले सरकारको नियुक्ति अनुचित भएकाले तत्काल खारेज गर्न माग गरेका छन् ।

उनले भने, ‘शान्तिका अग्रदूत गौतम बुद्धको पावन जन्मथलो लुम्बिनीको चौतर्फी विकासका लागि गठित निकायमा बैंकको लकरमा गोली राख्नेलगायत अनेक अपराधिक कृत्यमा मुछिएका व्यक्तिको नियुक्ति हुनुहुँदैन । यस्ता अनुचित निर्णय तत्काल खारेज गरी संस्थाको मर्यादामुताविक कार्य सञ्चालन गर्नसक्ने सत्पात्रको नियुक्ति गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर