‘म’को खोज – Nepal Press

‘म’को खोज

हामीलाई कसैले तिमी को हौ ? भनी परिचय माग्यो भने आफ्नो नाम, पारिवारिक पृष्ठभूमि, बस्ने ठाउँ, पेशा आदिले आफूलाई चिनाउन खोज्छौं । तर, यी कुराहरुविना आफू को हो भनी कहिल्यै आफैंलाई प्रश्न गर्ने फुर्सद वा हिम्मत मिलेको छ ? छैन । किनकि हामीलाई त्यो खालीपन, त्यो शून्यतादेखि डर लाग्छ र म केही हुँ भन्ने कुरा देखाउने अहंकार छ । त्यही डरको नाम यो संसार हो । यस संसारको भागदौडमा आफैंलाई भुलाएर कहिले रमाउन त कहिले कमाउन व्यस्त राख्छौं । कोही भने यो शून्यता वा खालीपनको यथार्थ बुझ्न नसकेर डिप्रेसन एन्जाइटीमा आफूलाई डुबाउँछन् । जब यी सांसारिक कुराको व्यर्थता बुझ्छौं अनि अध्यात्मको बाटो लाग्छौं ।

तर, अध्यात्म यी संसारिक कुराबाट भाग्ने नभइ त्यो व्यर्थताभित्र पनि अर्थ खोज्ने बाटो हो । म छ र त यो मेरो संसार छ, अनि मेरा सुखदुःख छन् । म छैन त केही पनि छैन । दुःख र समस्यारहित संसारको त यहाँ कल्पना पनि हुँदैन । किनकि यी सबै कुरा ‘म’ले सृजना गरेका हुन् । अध्यात्मको उद्देश्य नै यही ‘म’को खोज हो, जसमा सबै कुरा अडेको छ । हामीले आफ्नो जीवनमा खोजेको सुख होस् वा सफलता, यी दुवै कुरा हाम्रो ‘म को खोज’मै निहित छ । म जे होइन, त्यसलाई छोड्नु वा हटाउनु नै ‘म’ को खोज हो । एउटा मूर्तिकारले ढुङ्गामा मूर्ति कुँदे जसरी जे मूर्ति होइन, त्यसलाई हटाउँदै मूर्तिलाई भेटाउने कला जस्तै हो ‘म’ को खोज पनि । तर, ‘म’ जे होइन त्यसलाई नै ‘म’ भन्ने भ्रममा पर्नु चाहिँ अहंकार (इगो) हो ।

हामी जसलाई ‘म’ भनिरहेका छौं, त्यो म (आई) भनेको हाम्रो आफ्नै समाज वा परिवेशसित अन्तरघुलन हुँदाका सफलता असफलता अनि राम्रा नराम्रा अनुभवहरु (विशेष गरी बाल्यकालका अनुभवहरु)ले बनाएका विश्वासहरु मात्र हुन् । जसमा टेकेर हामीले आफू र यो जगतप्रति एउटा धारणा निर्माण गरेका हुन्छौं । यसरी ‘म’ को निर्माण भइसकेपछि त्यसको वैधतामाथि थप प्रश्न नगरी सोहीअनुसार आफ्नो अस्तित्वलाई पुष्टि गर्न आआफ्नो कर्म गर्छौं । त्यसैले हामी आफूलाई जे हौं भनिरहेका छौं, त्यो हाम्रा आफ्नै विगतका अनुभवहरुले रोपिएका विचारमात्र हुन्, जसले पुराना कुराहरुकै पुनरावृत्ति गराउँछ । मनोविज्ञान यही म (आई) को खोज हो भने अध्यात्म म (आई) हटिसकेपछि त्यसभित्रको स्व (सेल्फ)को खोज हो । आफ्नो सजिलोको लागि त्यसलाई आत्म, भगवान, चेतना वा ऊर्जा जे भनी बुझ्दा पनि भयो । अहिलेसम्मको स्नायु विज्ञानका खोजहरुका निष्कर्ष मस्तिष्कको स्नायुहरुको संगठनले चेतनाको निर्माण हुन्छ । जसको कार्य स्नायुहरुबीच हुने ऊर्जाको आदानप्रदानमा निर्भर हुने हुन्छ भन्नेमा पुगेको छ । चेतनाको प्रथम भाव नै ‘म हुँ’ भन्ने भाव हो ।

हामीले आफ्नो जीवनमा खोजेको सुख होस् वा सफलता, यी दुवै कुरा हाम्रो ‘म को खोज’मै निहित छ । म जे होइन, त्यसलाई छोड्नु वा हटाउनु नै ‘म’ को खोज हो । एउटा मूर्तिकारले ढुङ्गामा मूर्ति कुँदे जसरी जे मूर्ति होइन, त्यसलाई हटाउँदै मूर्तिलाई भेटाउने कला जस्तै हो ‘म’ को खोज पनि । तर, ‘म’ जे होइन त्यसलाई नै ‘म’ भन्ने भ्रममा पर्नु चाहिँ अहंकार (इगो) हो ।

भगवान/प्रकृतिले हामीलाई बनाउँदा नै हाम्रो मस्तिष्कमा ‘म र मेरो’सँग मात्र सरोकार राख्ने एउटा पूर्व निर्धारित स्वचालित सुरक्षा संयन्त्र (default defensive mechanism) राखिदिएको छ । जसको उद्देश्य बाँच्नुसँग हुन्छ । यसलाई बुझ्न हामीले भोगेको ७२ सालको भूकम्प सम्झे पुग्छ । जुनबेला हामीमध्ये धेरैले सायद आफ्नो ज्यान जोगाउन पहिला एक्लै भाग्यौं । त्यसपछि मात्रै हामीले आफ्नालाई सम्झियौं होला । बाँच्न आफू सबैभन्दा माथि बस्नुपर्छ भन्ने अहंकार आफूलाई विशेष मान्छ र आफूलाई जहिल्यै सही र राम्रो प्रमाणित गर्न उद्यत रहन्छ । त्यसैले त हाम्रो अहंकार अरुको नकारात्मक कुरा औंल्याएर, अरुलाई सानो बनाएर, अरुलाई गलत ठहराएर आत्मरतिमा रमाउन रुचाउँछ । अहंकार पुरानै परिचित र अनुमानयोग्य शैलीको अनुशरण गरी त्यसैमा जीवन्तता खोज्ने स्वभावका कारण अनिश्चयलाई रुचाउँदैन र जहिल्यै पुराना अनुभवहरुका आधारमा कथाहरु बुनेर त्यसैमा रमाउन रुचाउने हुन्छ । आफूलाई प्राथमिकतामा राख्न रुचाउने अहंकारको काम नै आफूलाई सुरक्षित महसुस गराउने हो । जसका कारण नयाँ र आफूभन्दा फरक कुरालाई खतराको सङ्केतको रुपमा बुझ्ने हुन्छ र स्वचालित सुरक्षा संयन्त्रद्वारा तात्कालिक दुःखबाट राहत महसुस गर्न कुनै उपाय निकाल्ने गर्दछ ।

विशेषगरी विगतमा भोगेका भावनात्मक चोटहरू र दुःखदायी कुराहरुबाट आफूलाई सुरक्षित राख्न आफ्नै खाले सुरक्षा कवचको निर्माण गर्ने क्रममा ‘असली म’ त्यस आवरणभित्र ढाकिन पुग्छ । हामी सबैको ‘असली म’ यसरी नै पत्रैपत्रहरुले छोपिन पुग्छ र बाहिरी पत्रलाई नै ‘म’ भन्न भ्रममा फस्छौं । दुःखी र घाइते अहंकार यथार्थमा भन्दा पनि काल्पनिक अनि कथानकमा हराउनमा खुशी खोज्छ । अहंकार आफैमा नराम्रो होइन । तर, आफ्नो दुःखी र घाइते अहंकारप्रति हामी सचेत हुन नसक्दा हाम्रा व्यवहारहरु हाम्रो अहंकारले चलाउन थाल्छ । जसका कारण ‘म र मेरो’को दायरा सानो भएर आफ्नो संसार नै सानो भइदिन पुग्छ । त्यस्तो संसारमा अरु नअट्नेमात्र होइन, आफैंलाई पनि उकुसमुकुस हुन थाल्छ । मनोपरामर्शका लागि आउनेहरुको समस्या संख्यामा अनेक भए पनि सारमा सबैको समस्या एउटै पाउँछु । त्यही आफ्नै अहंकारप्रति सचेत रहन नसक्नु । आजको दिनसम्म हेर्ने हो भने जति पनि मानिस पतन भएका छन्, उनीहरूमा अहंकार हावी भएर भएका छन् ।

मनोविज्ञानमा स्नातकोत्तर अध्ययनका बेला कक्षामा प्रोफेसर डाक्टर शिशिर सुब्बाले आफ्नो स्नातकोत्तरको अध्ययन सकिनेबित्तिकै उत्कृष्ट विद्यार्थीको रुपमा स्नातकोत्तरमै अध्यापन गर्ने अवसर पाउँदा आफूमा पलाएको अहंकारबारे बताउनु भएको कुरा म अहिले पनि सम्झन्छु । सुरुका दिनमा उहाँलाई आफूभन्दा जान्ने सुन्ने कोही छैन र हुन पनि हुँदैन भन्ने हुन्थ्यो रे ! अनि विद्यार्थीहरुले जति नै राम्रो उत्तर दिए पनि आफूले पहिला पाएका प्राप्तांकभन्दा बढी अंक दिनमा कञ्जुस्याइँ गर्नु हुन्थ्यो रे उहाँ ! पछि समयसँगै विद्यावारिधिले दीक्षित भइसक्दासम्ममा ती सबै भ्रम विस्तारै हट्दै गयो भन्नुहुन्थ्यो । मैले यहाँ जोड्न चाहेको कुरा चाहिँ आफ्नो ज्ञानले आफूलाई अहंकारी बनाइरहेको छ कि मुक्तिको अनुभूति दिलाइरहेको छ भन्ने कुरामा सचेत हुन सकेन भने त्यो ज्ञान आफैंमा दुःखको बोझ बन्न पुग्छ भन्ने हो । ‘म’ को खोज कुनै सिद्धान्त वा ज्ञानको ठेली बटुल्ने नभएर आफ्नै दैनिक व्यवहारहरुलाई हेर्ने आत्म अवलोकनको प्रक्रिया हो । जसले आफ्नै मनका मूल्य मान्यता, विश्वास अनि विचारहरुका सीमिततालाई बुझ्ने अवसर मिल्छ ।

विशेषगरी विगतमा भोगेका भावनात्मक चोटहरू र दुःखदायी कुराहरुबाट आफूलाई सुरक्षित राख्न आफ्नै खाले सुरक्षा कवचको निर्माण गर्ने क्रममा ‘असली म’ त्यस आवरणभित्र ढाकिन पुग्छ । हामी सबैको ‘असली म’ यसरी नै पत्रैपत्रहरुले छोपिन पुग्छ र बाहिरी पत्रलाई नै ‘म’ भन्न भ्रममा फस्छौं ।

हाम्रो अहंकारले सुरक्षित हुन बनाएको त्यो आवरणलाई मेटाउन सकेपछि हामी सबै एउटै ऊर्जाले सञ्चालित छौं वा भनौं जीवित छौं । तर, चेतनाको स्तर चाहिँ हाम्रा परिवेश र संस्कारजन्य उपज हो भन्ने कुराको बोध गराउँछ । उदाहरणका रुपमा घरका बत्तीहरु जस्तै, ऊर्जा त सबैले एउटै पाउने हो । तर, उज्यालो त्यसको क्षमतामा भर पर्ने हुन्छ । ५ वाटले छर्ने उज्यालो र ५०० वाटले छर्ने उज्यालोमा फरक पक्कै हुन्छ । त्यसैले आफू ५ वाटको हुनु वा ५०० वाटको हुनु भनेको वा भनौं आफ्नो चेतनाको स्तर भनेको हाम्रो संस्कार र हुर्काइको परिवेशले निर्धारण गरेको हुन्छ । तर, यो यथार्थलाई पनि भुल्नुहुँदैन कि चेतनाको स्तरलाई बढाउन सम्भव छ । यसको लागि हामी हाम्रो अहंकारप्रति सजग रहुन जरुरी हुन्छ । जसले हामीलाई हाम्रो अहंकारदेखि अलग राखेर त्यसभन्दा माथि उठेर कर्म गर्न सघाउँछ र चेतनाको स्तरलाई वृद्धि गराउन मद्दत मिल्छ ।

अहंकारमाथि काम गर्न सजिलो होस् भन्ने उद्देश्यले व्याख्यात्मकभन्दा पनि बुँदागत रुपमा प्रस्तुत गरेको छु ।

अहंकार हाबी हुँदा देखिने व्यवहारहरु

  • आफ्नो मूल्य मान्यता र विश्वासप्रति आँच आउँदा खतरा सम्झेर रक्षात्मक र प्रतिक्रियात्मक हुने (रिस, डर, ईर्ष्या, शंका आदि) ।
  • आफ्नो मूल्य, मान्यता, विश्वास अनि विचारसँग मेल नखाने अरुको यथार्थ र विचारलाई स्वीकार नगर्ने ।
  • जिद्दी र ठीक वा बेठीक विचारमा रहने ।
  • आफ्नो अहंकारको बढावा दिन पाँच सीएस (5 Cs) मा रमाउन खोज्नेः
    – Compare (तुलना गर्ने)
    – Compete (प्रतिस्पर्धा गर्ने)
    – Complain (गुनासो गर्ने)
    – Contend (झगडा गर्ने)
    – Criticise (आलोचना गर्ने)
  • अरुलाई मूल्यांकन गर्ने (अरुलाई हाँसोमा उडाउने/ खिसी गर्ने/अपमान गर्ने/डर धम्की दिने/घुर्की लाउने) ।
  • तथ्यहरुलाई बढाइचढाइ गर्ने वा आफू अनुकूल प्रस्तुत गरी आफ्नो अभिमानलाई उँचो देखाउने ।
  • आफ्ना कमजोरीलाई ढाकछोप गरी भ्रमपूर्ण आत्मबल वा आत्मविश्वास देखाउने ।
  • मर्ने, मार्ने वा भाग्ने (survival mode) भाव क्रियाशील हुने । जहाँ विश्लेषणात्मक अनि सृजनात्मक विचार शून्य हुन्छ ।

अहंकारलाई शान्त पार्न किन जरुरी छ ?

  • आफ्नो असली स्वरुपको साक्षात्कार गर्न ।
  • स्वास्थ्य, शान्ति र सुख प्राप्त गर्न ।
  • अर्थपूर्ण जीवन र सुमधुर एवं स्वस्थ सम्बन्ध स्थापित गर्न ।
  • हाम्रा विचार हामी होइन र सबै विचारहरु सत्य हुँदैनन् भन्ने जान्न र बुझ्न ।
  • Survival mode छोड्न ।
  • अरुप्रति र आफैंप्रति करुणा भाव राख्न ।
  • अरु र आफैंलाई पनि माफी दिन सक्न ।
  • आलोचना र प्रशंसा दुवैलाई स्वीकार गर्न सक्न ।

‘म’ को खोज कुनै सिद्धान्त वा ज्ञानको ठेली बटुल्ने नभएर आफ्नै दैनिक व्यवहारहरुलाई हेर्ने आत्म अवलोकनको प्रक्रिया हो । जसले आफ्नै मनका मूल्य मान्यता, विश्वास अनि विचारहरुका सीमिततालाई बुझ्ने अवसर मिल्छ ।

अहंकारलाई शान्त कसरी पार्ने ?

  • सत्य बहुमुखी हुन्छ र सबैले आफ्नै मनोढाँचाअनुसार सत्य निर्माण गरिरहेका हुन्छन् भन्ने कुरालाई बुझ्ने ।
  • निरन्तर रुपमा आफूलाई नयाँ तथा विपरीत द्वन्द्वात्मक विचारहरुमा खुला राख्ने ।
  • विपरीत र विरोधी विचारहरुको सामना गर्दा आफूमा उब्जिएका भावनाहरुलाई नियमन गर्न सिक्ने ।
  • आफू आफ्नो विचार/रायमा अडिग भइरहेको, आफ्नो जिद्दीपनप्रति सचेत हुने ।
  • आफ्ना विचार भाव र शारीरिक संवेदनाप्रति विनामूल्यांकन खुला अनुमति दिने ।
  • आफ्नो अहंकारलाई साक्षी भइ हेर्न सिक्ने जसको लागि नियमित योगध्यानको विधि अभ्यास गर्ने ।

अहंकार शान्त भएको कसरी थाहा पाउने ?

  • जब आफूलाई रक्षात्मक अनुभूति हुन्छ, आफैंलाई ‘किन’ भनी सोध्न सुरु गरेको हुन्छ ।
  • आफैंलाई महसुुस हुन्छ कि आफ्नो मनमा लगातार धाराप्रवाह गलत तथा भ्रमपूर्ण कथाहरु चलिरहेका हुन्छन् ।
  • बुझ्न थाल्छौं कि मानिसका व्यवहारहरु उसले आफैंलाई कस्तो र कुन स्तरमा बुझेको छ भन्नेमा निर्भर हुन्छन् (हाम्रा व्यवहार हाम्रा आफ्नै ऐना हुन्) ।
  • आफ्नो संवेगात्मक स्थिति (डर, रिस, राग, द्वेष आदि) स्पष्ट देख्न थाल्छौं र त्यसको पूर्ण रुपमा जिम्मेवारी लिन थाल्छौं । जसले अरुका नराम्रा वचन अनि दुर्व्यवहार पनि त्यस्तै डर, रिस, राग, द्वेषद्वारा सृजित हुन् भनी बुझ्न थाल्छौं ।
  • देख्न थाल्छौं कि आफ्ना अनुभवहरु आफैंले निर्माण गर्छ ।
  • आफ्नो अनि अरुको अहंकारलाई देख्न बुझ्न थाल्छौं ।
  • आफू र अरुप्रति करुणा राख्न थाल्छौं ।
  • सबै कुरालाई खुला रुपमा स्वीकार्न सिकेका हुन्छौं ।

यो भौतिक जगतका लागि अहंकार भएन भने आफ्नो अस्तित्व नै संकटमा पर्छ, देखायो भने आफ्नो चरित्रमा नै प्रश्न उठ्छ । त्यसैले अहंकार भनेको लुकाउनुपर्ने आफ्नो गोप्य अंग जस्तै हो । तर, यथार्थमा हामी शरीरको लाजलाई लुगाले ढाक्छौं अनि म र मेरोको नाममा आफ्नो अहंकार देखाएर गर्व महसुस गर्छौं ।

अन्त्यमा, आजको यस व्यापारिक युगमा अध्यात्मलाई अलौकिक, चमत्कारिक र रहस्यमयी रुपमा व्याख्या गरी थरिथरिका ब्राण्ड खडा गरी आफ्नो व्यापार बढाउनेहरुका कारण धेरै मानिसहरु रनभुल्लमा पनि फसिरहेका छन् । अध्यात्म कुनै वाद वा विचार नभएर विचारमा रमाउन खोज्ने अहंकारलाई बुझ्ने मार्ग हो न कि अहंकारलाई पाल्ने ! यो भौतिक जगतका लागि अहंकार भएन भने आफ्नो अस्तित्व नै संकटमा पर्छ, देखायो भने आफ्नो चरित्रमा नै प्रश्न उठ्छ ।

त्यसैले अहंकार भनेको लुकाउनुपर्ने आफ्नो गोप्य अंग जस्तै हो । तर, यथार्थमा हामी शरीरको लाजलाई लुगाले ढाक्छौं । अनि म र मेरोको नाममा आफ्नो अहंकार देखाएर गर्व महसुस गर्छौं । माथि नै भनिसकेको छु कि अहंकार हाम्रो मस्तिष्कमा जडित स्वचालित पूर्वनिर्धारित सुरक्षा संयन्त्र हो भनेर । त्यसैले त्यसलाई प्रतिस्थापन गरेर नयाँ संयन्त्रमा जान ठूलै मेहनत अनि परिश्रमको जरुरी पर्छ । किनकि हाम्रो अहंकार परिवर्तनलाई रुचाउँदैन र सबै कुरामा सजिलो मात्र खोज्छ । वैज्ञानिक अनुसन्धानहरुले पनि पुष्टि गरेका छन् कि नियमित अभ्यास र सिकाइले मस्तिष्कका स्नायुहरुलाई पुनर्सङ्गठित गरेर नयाँ संयन्त्र निर्माण गर्न सम्भव छ ।

उदाहरणका रुपमा बच्चा बेला गराउने toilet training, अनि हामीले गाडी/साइकल चलाउन सिके जस्तै । ‘म’ को खोजको नियमित अभ्यासले ‘म यो अहंकार होइन’ भन्न सिक्छौं अनि बुझ्छौं पनि । जसले हामीलाई अहंकारले बनाएका पत्रहरुलाई प्याजका पत्र छोडाए जसरी छोडाउने हिम्मत मिल्छ पीडा सहेर भए पनि । ‘म’ को खोज गरेर भगवान बुद्ध बन्नलाई सल्लाह दिएको त होइन । तर, आफ्नो ‘स्व’मा स्थित भएर शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक रुपले स्वस्थ रहेर सफल र सुखी जीवन सम्भव छ भन्ने आग्रहमात्र गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *