नेतृत्व बहस पार्टी बाहिर नगर्न इतर समूहलाई कांग्रेस नेतृ पुष्पा भुसालको आग्रह
रूपन्देही । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्धक बनाउन खोजेको आरोप लगाएकी छन् ।
अपराध प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने औचित्यहीन माग राख्दै केही समययता संसद अवरुद्ध हुँदै आएको प्रसंगलाई उठाउँदै उनले यस्तो बताएकी हुन् ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेतृ भुसालले नेतृ भुसालले अहिले बर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोको प्रभाव, चरम महङ्गी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएकाबेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद अवरुद्धतिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होईन भन्ने आशंकाका प्रश्नहरु उठिरहेको बताइन् ।
उनले भनिन् “यस अर्थमा प्रतिपक्ष दलले आफ्नै समय बर्बाद गर्दै गएको छ । सदन प्रतिपक्षीको भएपनि दलहरुले सदुपयोग गर्न सकिरहेका छैनन् ।”
भ्रष्टाचार र अख्तियार निवारण निर्णय काँग्रेसले गरेको भन्दै नेपाली कांग्रेस सधै सुशासनको पक्षमा रहेको उनको भनाई थियो । भूसालले बिगतमा ललिता निवास प्रकरण मात्रै होइन, ओम्नी, सेक्युरिटी प्रिटिंङ प्रेस मेसिन खरिद प्रक्रियाको ७० करोड बारेमा कांग्रेसले संसदमा आवाज उठाएको तर संसद अबरोध नगरेको स्मरण गराइन् ।
प्रदेश संरचना सञ्चालन लगायत विषयले केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको बताउँदै उनले जनताको प्रिय पार्टी बनाउनका लागि अहिले काँग्रेसले आफ्ना संगठनहरुलाई मजबुत बनाउन देशभर अभियान चलाएको दावी गरिन् ।
सुशासन कायम राख्न समावेशी, समृद्धि आवश्यक रहेको भन्दै काँग्रेस विचारको रुपमा बलियो पार्टी भएको दाबी गर्दै पार्टीको नेतृत्व परिवर्तनकोे बिषयमा बाहिर अनावश्यक टिका–टिप्पणी गर्नुभन्दा आवश्यक समय र ठाउँमा रहेर अगाडि बढ्दा पार्टीको हित हुने जनाएकी छन् ।
पूर्वउपसभामुख भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गरिन् । उनले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको भन्दै यो ५ बर्षसम्म नै गठबन्धन सरकार टिक्ने जिकिर गरिन् ।