बन्द कार्यशालामार्फत रणनीति बनाउँदै जिफन्ट
भक्तपुर । ट्रेड युनियन आन्दोलन प्रतिकूल समयमा रहेको निष्कर्ष निकाल्दै जिफन्टले कार्यमूलक कार्यशाला गरेको छ । ट्रेड युनियन आन्दोलनमा सधैं अब्बल दरिएको जिफन्टले वर्तमान श्रम बजारको विश्लेषण गर्दै भावी रणनीति तय गर्न दुई दिनदेखि भक्तपुरमा बन्द कार्यशाला गरिरहेको छ ।
कार्यशालाको पहिलो दिन श्रम बजारको वर्तमान प्रतिकूलताहरुको पहिचान गर्दै श्रम आन्दोलनलाई कायाकल्प गर्ने उपायहरुको खोजीमा र दोस्रो दिन रणनीति बनाउन केन्द्रित हुने जिफन्टले जनाएको छ । जिफन्टको आठौं राष्ट्रिय महाधिवेशनले पास गरेको ११बुँदे चार वर्षे कार्यक्रममा छलफल गर्दै शुक्रबार ६ वटा प्रश्नहरुको समाधानमा केन्द्रित छ ।
न्यूनतम ज्याला निर्धारणका समस्या र संकटका क्षेत्रहरु, विभिन्न प्रतिष्ठानहरुमा विनातलबी काम गराइएका इन्टर्नहरुलाई तलब अर्थात तालिमेलाई तलब, अनौपचारिक क्षेत्रका श्रमिकहरुको पञ्जीकरणमा पालिका तहमा रहेका संकट र रणनीतिहरु, स्वरोजगार प्रवर्द्धन र आत्मनिर्भरता तथा स्वरोजगारका सम्भावित क्षेत्रहरुका विषयहरुमा समूह छलफल भइरहेको छ ।
त्यस्तै सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा उत्पन्न समस्याहरु र समेटिन बाँकी क्षेत्रहरुको पहिचान र आगामी ३ वर्षमा २० लाख श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउनेबारे छलफल र जेटीयुसीसी र आईटीयूसी न्याक र अन्य संयन्त्रहरु ग्लोबल युनियन फेडेरेशनमा आवद्ध रहेका सदस्य युनियनहरुको कामलाई प्रभावकारी बनाउने विषयमा कार्यशाला केन्द्रित रहेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
जिफन्टका संरक्षक तथा पूर्वअध्यक्ष विष्णु रिमाल, जिफन्टका पूर्वमहासचिव उमेश उपाध्यायसहित जिफन्ट राष्ट्रिय कमिटीका सबै नेताहरुलाई डा. तत्व तिमल्सिना र रामशरण प्याकुरेलले सहजीकरण गरिरहेका छन् ।
कार्यमूलक कार्यशालापछि प्राप्त दस्तावेजका आधारमा शुक्रबार नै जिफन्टको राष्ट्रिय कमिटीको बैठकमार्फत वार्षिक कार्ययोजना निर्माण गरी जिफन्टका सम्पूर्ण नेतृत्व देशव्यापी अभियानमा परिचालन हुने अध्यक्ष श्रेष्ठले बताए ।