सुनचाँदीको व्यवसाय छाडेर साढे दुई दशकदेखि संगीतगुरु सुरेशको अभियान
४ हजारभन्दा बढीलाई सिकाए, मोफसलमा गीतसंगीतको जग बसाले
रुपन्देही । साढे दुई दशकदेखि संगीत यात्रामा लागेका रुपन्देहीको तिलोत्तमा ३ का सुरेश सेन्चुरीले ४ हजारभन्दा कलाकारलाई प्रत्यक्ष रुपमै प्रशिक्षण गरे । मनग्यै आम्दानी हुने सुनचाँदीको पेशा छाडेर गीतसंगीतको उन्नयमा लागेका उनी यसमै रमाएका छन् ।
२५ वर्षअघि बुटवलको मिलनचोकस्थित बागेश्वरी सङ्गीतालयमार्फत उनले विभिन्न गायकहरुलाई अभ्यास गराइरहेका छन् सङ्गीतकारहरुलाई पोख्त पारिरहेका छन् । त्यतिबेला बुटवलको मुख्यबजार अमरपथमा रहेको सुनचाँदी पसल छाडेर उनी यता लाग्दा धेरैले आश्चर्य मानेका थिए ।
उनकै नेतृत्वमा स्थापना भएकोे बागेश्वरी सङ्गीतालयमा गायन, वाद्यवादनदेखि नृत्य विषयमा प्रशिक्षण चलाए । पछिल्लो समय नाट्यशालासमेत थपेर सेवा बिस्तार गरे । बागेश्वरी समूहमा रहेकाले यो वर्षदेखि उनले आफ्नै संगीतालय सुरु गरेका छन् रागश्री नाम राखेर । बुटवलको सुख्खानगरमा रहेको यो संगीतालयमा संगीतका सबै विधामा सिकाई हुने गरेको छ ।
सुरेशको नेतृत्वमा यहाँबाट उत्पादन भएकी कलाकार तेरिया फौजा मगर भारतीय टेलिभिजन जी टिभीबाट प्रसारण भएको चर्चित नृत्य प्रतियोगिता ‘डान्स इन्डिया डान्स’मा प्रथम हुन सफल भएपछि सेन्चुरीसँग भारतीयहरु संगीतप्रेमीहरु प्रशिक्षण आउन थालेका छन् । यो सङ्गीतालयबाट अहिलेसम्म ४ हजारभन्दा बढी प्रशिक्षित भैसकेका छन् । अर्थात ४ हजार जनाभन्दा धेरैलाई प्रत्यक्षरुपमा सेन्चुरीले गीतसंगीतको ऊर्जा भराएका छन् ।
चर्चित कलाकारहरुसँगको सहकार्य अनुभव
२६ वर्षदेखि निरन्तर रुपमा गीतसङ्गीतका क्षेत्रमा रहेका सेन्चुरी सङ्गीतकारका रुपमा परिचित भए पनि उनले स्वर दिएका गीत पनि चर्चित छन् । उनले चर्चित गायक रामकृष्ण ढकाल, आनन्द कार्की, यम बरालदेखि अन्जु पन्तसँग काम गरेका छन् । त्यस्तै, लोकगायक राजु परियार, विष्णु माझीदेखि रामजी खाँणसम्मले उनका गीत गाएका छन् ।
यति मात्र होइन भारतीय गायक कुमार सानु, कुमार कान्छा, साधना सरगमसम्म काम गरेको उनको अनुभव छ । धेरैजनाले काडमाण्डौबाट बस्न र काम गर्न बोलाइएको थियो तर मोफसलमा काम गर्दा सन्तुष्ट छु । ‘केही फिलिममा काम गरेँ । कैदीको पत्र नामको फिलिममा काम गरेँ । ढाक्रे दाई भन्ने नयाँ फिलिममा संगीतको पक्षमा काम गरेको छु । एल्बममा धेरै काम गरियो । तिलोत्तमाको नगर गान, विभिन्न क्षेत्र स्वास्थ्य गान, जनचेतनामूलक गीत धेरै आएका छन् । यसमा खुसी छु ।’ उनले भने ।
कसरी आए यो क्षेत्रमा
पर्वतमा पुख्र्यौली घर रहेको सुरेश परिवारका काइँलो छोरा हुन् । उनीहरुको मुख्य पेशा सुनचाँदी नै थियो । सुरेशका बुवाले भारतको गोरखपुरमा सुन पसल गर्दथे । २०२४ सालमा गोरखपुरमा जन्मेका सेन्चुरीको बाल्यकाल भने रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जानकीनगरमा बित्यो । अहिले पनि त्यही बसाई छ ।
उनका ७ दाजुभाइमध्ये उनीबाहेक सबै पुख्र्यौली पेशा सुनकै व्यापारमै जमेका छन् । त्यसो त उनले पनि झन्डै १२ वर्ष सुन पसल चलाए । तर सानैदेखि गायन र वाद्यवादनतिर रुची भएका सेन्चुरी बुटवलको अपरपथमा रहेको पर्वत सुनचाँदी पसल छाडेर गीत सङ्गीततिर लागेका हुन् । दाइले चलाएका छन् ।
कसरी फड्को मार्यो बागेश्वरीले ?
सुनचाँदीको पसल छाडेर २०५५ सालमा दुई कोठा भाडामा लिएर स्थापित उनको बागेश्वरी सङ्गीतालय अहिले निकै भव्य हलमा सञ्चालन भएको छ । तीन ठूला हलमध्ये एउटामा स्टेजसहितको नाट्यशाला पनि छ । सेन्चुरीको नाट्यशाला बुटवलको पहिलो नाट्यशाला हो ।
‘मैले पैसा मात्रै ठूलो विषय जीवनमा कहिल्यै ठानिनँ र काम गर्दा आत्मसन्तुष्टि रोजेँ, सुन पसल आफैमा राम्रो आम्दानी हुने व्यापार मानिन्छ । त्यसलाई निरन्तर दिँदा मनग्गे आम्दानी हुन्थ्यो । तर मलाई सङ्गीतालयमा लगानी र मेहनत गर्दा छुट्टै आनन्द लाग्यो र यतै लागेँ यसमै सन्तुष्ट छु’ सेन्चुरीले भने ।
सङ्गीतमा ‘सङ्गीत प्रभाकर’ अर्थात् मास्टर्ससम्म अध्ययन गरेका उनी सङ्गीतबाट समाजले खोजेजस्तो पैसा कमाउन नसके पनि आफूलाई पुग्ने कमाएका छन् र रोजेको पेशाबाट सन्तुष्ट छन् धेरैजनाको संगीत गुरु बनेका छन् ।
मोफसलमा बस्दा ओझेलमा
सेन्चुरीको बागेश्वरी सङ्गीतालयबाट वर्षमा एक सयभन्दा धेरै प्रशिक्षार्थीहरु प्रशिक्षित हुन्छन् । स्थापनाको २५ वर्षको हिसाबले आफूले सिकाएका ४ हजार भन्दा बढी प्रशिक्षार्थी भएको उनको अनुमान छ ।
सङ्गीतगुरु भएकोमा उनलाई गर्व लाग्छ । रोटरी क्लब, लायन्स क्लब, नगरपालिकालगायत निकायबाट उनी सम्मानित भएका छन् । तर राष्ट्रिय स्तरको सम्मान उनले पाउन सकेका छैनन् । कलाकार सबै दलका साझा बन्नुपर्छ भन्ने मान्यताले पनि आफूलाई पछाडि पारेको उनी लख काट्छन् ।
उनी भन्छन्, ‘एमालेले कुनै कालखण्डमा मलाई स्टेज दिएपनि पछि राप्रपा, नेपाली काँग्रेस, माओवादी सबै दलको महाधिवेशनमा पुगेर गीत गाएको छु । स्टेज कार्यक्रम पनि गरेको छु । म स्वतन्त्र कलाकार हुँ । सबै कलाकार स्वतन्त्र हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।’ आफू मोफसलमा बस्नाले ओझेलमा परेको, राज्यबाट सम्मान पाउन नसकेको उनको अनुभव छ ।
राजनीतिक प्रभावले कलाकारिताको लत
प्रजातन्त्रका लागि भएको ०४६ सालको आन्दोलनपछि राजनीतिक दलहरुले विभिन्न कार्यक्रममा कलाकारहरुलाई खोज्न थालेका थिए । उनीपनि त्यो समयमा आन्दोलनको पक्षमा लागेका थिए । त्यस क्रममा एमालेको नजरमा परे सेन्चुरी । २०४८ सालमा उनी सङ्गीतमा व्याचलरको परीक्षा दिएर बसेका थिए । एमालेका विभिन्न गीत गाउने क्रममा उनले स्टेज तताए । उनको प्रतिभाले अझै निखारता पायो ।
यस क्रममा २०५२ सालमा सेन्चुरीसहित बुटवलका भक्त थापा, भीम विसी, शमशेरलगायत समूहले ‘प्रकट ब्यान्ड’ खोलेर लोक पप एल्बम निकालेका थिए । त्यसबेला ‘तिनाउ खोला बटौलीको छेउ, आउन नजिक माया गरिदेऊ’ भन्ने गीत निकै हिट भएको थियो ।
त्यसले व्यान्डलाई अझै हौस्याएर अर्को ‘प्रकट भाग २’ पनि निकाले । पछि त्यस समूहका साथीहरु लाखपाखा लागेपछि ब्यान्ड नै सेलायो । तर सेन्चुरीको सङ्गीत तिर्सना भने निरन्तर जारी रह्यो । लकडाउनमा समेत उनी खाली बसेनन्, त्यसबेला करिब दुई दर्जन गीत एरेन्ज गरे र अहिले पनि निरन्तरता दिइरहेका छन् ।
प्रशिक्षार्थीको प्रगति र उस्तै माया
उनले सिकाएका मन्जु पौडेल, पुस्कल शर्मा, तेरिया फौजामगर,चिरन्जिवी भण्डारी, एन्जिला रेग्मी, अर्जुन कौशल, विनोद पछाई लगायत निकै धेरै कलाकार चर्चित छन् । म्युजिक क्षेत्रलाई व्यवसाय बनाएका धेरै छन् । चर्चा कमाउने र व्यवसायिक क्षेत्रमा लागेका, आफ्नै कला केन्द्र खोलेका धेरै भएकाले पनि सुरेश आफ्नो लगानीप्रति खुसी छन् ।
पछिल्लो समय महिला समूहहरुमै गएर वाद्यवाधन सिकाएर, टोल समूहमा सिकाएर विभिन्न तालिमबाट धेरै प्रतिभा उत्पादन भएको, टोलटोलमा महिलाहरु नै वाद्यबाधनका लागि तयार जनशक्तिले राम्रो गरेको उनको भनाइ छ ।
२०७१ सालमा भारतीय टेलिभिजन जी टिभीबाट प्रसारण भएको चर्चित नृत्य प्रतियोगिता ‘डान्स इन्डिया डान्स’ मा प्रथम हुन सफल तेरिया फौजा मगरलाई त्यो स्थानमा पुर्याउन पनि सेन्चुरीको ठूलो योगदान छ ।
रुपन्देहीकी तेरियाले भारतीय टिभीको चर्चित कार्यक्रममा प्रथम भएर सबै नेपालीको शिर माथि उठाएकी थिइन् । सङ्गीत गुरु सेन्चुरी भन्छन्, ‘चेलाहरु माथि माथि जाँदा आनन्द लाग्दो रहेछ ।’
२०७१ सालमा भारतीय टिभीमा चलेको डान्स इन्डिया डान्स (डिआइडि) पुर्याउनको लागि तेरियाको क्षमता देखेर सेन्चुरीले एउटा भिडियो पठाएका थिए । त्यही भिडियोबाट उनी छनौट भएकी थिइन् । ‘आफैमा पनि बेजोड प्रतिभा रहेकी तेरियालाई हामीले सिक्न र भारतमा लैजान सहयोग गर्यौँ र सफल पनि भयो’, उनले भने, ‘अहिले तेरिया मुम्बई बस्छिन् । सम्पर्क राम्रै छ । मलाई अहिले उनको सफलतामा गर्व लाग्छ ।’
सुरु सुरुमा बुटवलमा डान्स सिक्न आउनेहरु निकै कम थिए । ती पनि लुकीलुकी आउने गरेको उनी स्मरण गर्दछन् । त्योबेला अभिभावकलाई ढाँटेर आउनेहरु धेरै हुन्थे । जब तेरियाको चर्चा आयो, अनि अविभावकहरुलाई पनि डान्स पनि राम्रै रहेछ, प्रतिष्ठा र रकम दुवै हुनेरहेछ भन्ने लाग्यो । अहिले तेरियाले सिकेको ठाउँ भन्दै भारतबाट समेत सिक्न आउनेहरु धेरै छन् ।
अहिले छोराछोरीलाई डान्स सिकाउन अभिभावकहरु गाडीमा राखेर आफै आउँछन् । यो चाहिँ परिवर्तन भएको छ । अझै पनि घरमा मोबाइल हेरेर बस्ने समयमा विद्यार्थीलाई गीतसंगीत सिकाउने वाद्यवाधन सिकाउने, प्रविधिमा पोख्त बनाउन सके नयाँ पिँढी थप रचनात्मक बन्ने उनको सुझाव छ ।
यो क्षेत्रमा लागेर आर्थिक समस्या त भयो तर समाजले दिएको हौसला र प्रतिष्ठाले सधै खुसी छु’ सुरेश भन्छन्– समाजलाई केही दिन सकिएको छ, सृजनामा साथ दिन पाउनु मेरो लागि निकै खुसी हो ।’
श्रीमती र एक छोरा एक छोरी रहेका सुरेशकी छोरी सशस्त्र प्रहरीको प्राविधिक क्षेत्रमा सबइन्पेक्टर छन् भने छोराले व्यवस्थापनमा ब्याचलर अध्ययनरत छन् । तिलोत्तमा ३ मा स्थायी बसोबास रहेका उनी यहीँ क्षेत्रमा आफ्नो अनुभव दिइरहने बताउँछन् ।
सुरेशले नयाँ व्यवस्थापनमा सुरु गरेको रागश्री संगीतालयमा सबै क्षेत्रमा गीतसंगीका पारखीलाई ध्यान दिइएको उनको भनाइ छ । ‘संगीतको भविश्य छ, मोबाइलले केही बिग्रेको छ । अभिभावकले ध्यान दिनुपर्दछ, यसमै सबैजनाको भविश्य नभएपनि नयाँ पिँढीलाई लयमा हिंडाउन, अनुशासनमा राख्न मद्दत पुग्ने भएकाले ध्यान दिन उनको सुझाव छ ।