काठमाडौंमा चटपटे, पानीपुरी, खुला दूध र बाटामा तरकारी तथा फलफूल बिक्रीमा रोक लगाउने तयारी – Nepal Press

काठमाडौंमा चटपटे, पानीपुरी, खुला दूध र बाटामा तरकारी तथा फलफूल बिक्रीमा रोक लगाउने तयारी

काठमाडौं । काठमाडौं महानगनरपालिकाले चाँडो संक्रमणको फैलिन सक्ने वस्तु बिक्रीमा रोक लगाउने तयारी गरेको छ । खुल्लारूपमा बेचिने चटपटे, पानीपुरी, खुला दूध र बाटोको तरकारी तथा फलफूल पसललाई बिक्री प्रतिबन्धको तयारी गरिएको हो ।

खुल्लारूपमा बेचिने खानेकुरा, पेय पदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउनु पर्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताइन् । बर्खायाममा पानीसँगै फैलिने संक्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल परिचालित हुने योजना बनाउनसमेत उनले निर्देशन दिएकी छन् । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा उनले सो कुरा बताएकी हुन् ।

‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो संक्रमण फैलिन्छ । यसको स्रोतहरु मासु पसल, दूध डेरी, तरकारी तथा फलफुल पसल हुन्,’ उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानुनी र प्रशासनिक कारवाहीको दायरामा ल्याउनु पर्छ ।’

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकोले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउनुपर्ने बताए ।

तरकारी बजारमा ल्याइने धेरै तरकारीमध्ये केही भाग बिग्रिएको हुने भन्दै यस्तो तरकारी र फलफूल सस्तोमा किनेर ल्याएर सडक किनारामा भाग लगाएर बेच्ने काम जनस्वास्थ्यका दृष्टिले पनि जोखिमपूर्ण हुने बैठकमा कुरा उठेको छ ।

कृषि तथा पशुपंक्षी विभागका प्रमुख डा. अवधेश झाले भने कुच्चिएका, लेउ लागेका, टुटेफुटेका जारमा पानी बेच्न नपाइने भएकाले मापदण्डविपरीतका जार जफत र नष्ट गरिएको प्रष्ट्याए ।


प्रतिक्रिया

One thought on “काठमाडौंमा चटपटे, पानीपुरी, खुला दूध र बाटामा तरकारी तथा फलफूल बिक्रीमा रोक लगाउने तयारी

  1. ठीक छ, यसलाई तु. अगाडी बढाउन अनुराेध गर्दछाै‌ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर