प्रधानमन्त्री र गृहमन्त्रीमाथि गठबन्धनबाटै प्रश्न उठेपछि माओवादीमा महराको सुन प्रकरणबारे छलफल – Nepal Press

प्रधानमन्त्री र गृहमन्त्रीमाथि गठबन्धनबाटै प्रश्न उठेपछि माओवादीमा महराको सुन प्रकरणबारे छलफल

गृहमन्त्रीले भने- छानबिनमा दोषी देखिए पार्टीभित्रकै जोसुकै भएपनि कारबाही हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरासँग सुन प्रकरणबारे कुरा उठेको छ । पार्टीबाट मन्त्री फिर्ता बोलाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पदाधिकारी बैठकमा महरासँग जोडिएको सुन प्रकरणबारे छलफल भएको हो ।

इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिएको छ । तर, प्रधानमन्त्री र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महरामाथि छानबिन नगरेको भन्दै चौतर्फी आलोचना भएपछि बालुवाटार बैठकमा कुरा उठेको हो ।

बैठकले उपाध्यक्ष महरालाई बाहिर उठेको प्रश्नबारे प्रष्ट पार्न भनेको एक पदाधिकारीले बताए । तर, महराले आफ्नो संलग्नता नरहेको भन्दै पटक पटक प्रष्टीकरण दिइसकेका छन् ।

त्यसो त बैठकमा गृहमन्त्री श्रेष्ठले पनि छानबिनको क्रममा पार्टीभित्रकै जोसुकै भएपनि दोषी देखिए कारबाहीबाट पछि नहट्ने बताएका छन् ।

सचिव दिनानाथ शर्माले भने, ‘गृहमन्त्रीले अहिले खोलिएका फाइलको निष्पक्ष छानबिन गर्नको लागि निर्देशन दिएको छु । त्यहीँ अनुसार दोषी देखिए कारबाही हुन्छ भनेर सार्वजनिक रूपमै राख्द‌ आउनुभएको छ । त्यहीअनुसार कुरा राख्नुभएको हो ।’

उनले सरकारले अघि सारेको भ्रष्टाचारका फाइल टुंगोमा पुर्याउने दाबी गरे । तर, प्रधानमन्त्री र गृहमन्त्रीले पार्टीको नेताहरूलाई जोगाएर अन्य पार्टीका नेताहरूमाथि टार्गेट बनाएको आरोप छ । शुक्रबारदेखि जारी कांग्रेसको बैठकमा पनि यसको नेताहरूले प्रश्न उठाइरहेका छन् ।

तर, हालै बसेको माओवादी केन्द्रीय समितिको बैठकमा पनि सरकारले अघि सारेको भ्रष्टाचारविरोधी अभियानले जनतामा आशा बढेको भन्दै सबैमाथि छानबिन गरेर निष्कर्षमा पुर्याउनुपर्ने नेतृत्वमाथि नेताहरूले दबाब बढाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर