खाँदबारीका २ कैदी हत्या प्रकरण : असई हिरासतमा, जेलरविरूद्ध पक्राउ पूर्जी
विराटनगर । जिल्ला कारागार सङखुवासभाको सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले नियन्त्रणमा लिएको हो । साउन २४ गते कारगारमा कैद भुक्तान गरिरहेका २ जनाको मृत्यु भएको थियो ।
कैद सजाय भुक्तान गरिरहेका मादी नगरपालिका वडा नं. ५ का विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका वडा नं. ७ घर भएका आकाश बलामीको मृत्यु भएपछि उनका परिवारले चौधरीविरुद्व हिजो किटानी जाहेरी दिएका थिए ।
उनीहरुले जेलर राजेन्द्र घिमेरेविरुद्ध समेत किटानी जाहेरी दिएपनि उनी भने पक्राउ परेका छैनन् । संखुवासभा जिल्ला अदालतबाट पक्राउ अनुमति जारी गर्दै अनुसन्धानका लागि ५ दिनका लागि म्याद थप गरेको छ ।
कारगारमा २ जनाको मृत्यु भएपछि घटनामा संलग्न रहेको भन्दै १० प्रहरीका बारेमा अनुसन्धान भइरहेको छ । सीसीटीभी फुटेजमा मृतकलाई कुटपिट गरिएको देखिएको छ । घटनाका विषयमा अनुसन्धान गर्ने र दोषीलाई कारबाही गर्ने सहमतिपछि पोष्टमार्टम भएपनि अन्त्येष्टी भने हुन सकेको छैन । पीडित परिवारले घटनामा संलग्नको नाम सार्वजनिक गर्न माग राख्दै शव बुझ्न नमानेको जिल्ला प्रहरी कार्यालय सङखुवासभाले बताएको छ ।