कांग्रेस संसदीय दल बैठक- सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको पक्षमा उभिएला ?
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरू भएको छ । शुक्रबरदेखि जारी बैठक आज टुंग्याउने तयारी छ ।
समसामयिक राजनीतिक विषय, सांसद सुनिल शर्मा पक्राउ प्रकरणदेखि एक क्विन्टल सुन तस्करीको छानबिनसम्मका कुरा बैठकमा छलफल भइरहेको छ । आइतबारसम्म संसदीय दलको बैठकमा ५४ सांसदले आ-आफ्नो धारणा राखिसकेका छन्, आज बाँकी सांसदले बोलेपछि नेतृत्वले जवाफ दिने तय छ ।
बैठकमा सांसदहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गठनको पक्षमा पार्टी उभिनुपर्ने भन्दै दबाब बढाइरहेका छन् । प्रमुख प्रतिपक्ष एमालेले उच्चस्तरीय समितिमार्फत् छानबिन हुनुपर्ने अडान राखेर सदन अवरोध गरिरहेका बेला कांग्रेसभित्र पनि उच्चस्तरीय समितिको पक्षमा बलियो मत देखिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीका नेताहरूलाई जोगाएर अन्य पार्टीका नेताहरूमाथि छानीछानी धरपकड गरेको भन्दै कांग्रेस नेतृत्व शशंकित छ ।
आजको बैठकले छलफलमा उठेको विषयलाई समेटेर ठोस धारणा बनाउँदैछ ।