प्रधानमन्त्री प्रचण्डको प्रष्टीकरण- कुनै प्रकरणमा मेरो नाम आए हत्कडी लगाए हुन्छ
‘महरामाथि छानबिन नगर्न दबाब दिएको छैन’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छानबिनको क्रममा दोषी देखिए सबैलाई कारबाही गर्ने बताएका छन् । बत्तिसपुतलीमा जारी जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुरु गर्दै प्रधानमन्त्री प्रचण्डले छानबिनको लागि आफूहरुले सबैलाई दबाब नदिएको बताए ।
प्रधानमन्त्रीको भनाईलाई उदृत गर्दै बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईंले नेपाल प्रेससँग भने, ‘अनुसन्धानको क्रममा जुनसुुकै व्यक्तिको नाम आएपनि कारवाही हुन्छ। पार्टीको व्यक्ति भनेर हुँदैन । महराजीको बारेमा अहिले कुरा आइरहेको छ । अनुसन्धान अगाडि बढाउँन सीआइवीलाई भनिसकेका छौं । तर, प्रक्रिया अघि बढाएको छैन । कुुनै विषयमा अनुसन्धानको क्रममा मेरो नाम भएपनि हत्कडी लगाएर मलाई लगे हुन्छ भनेको छु ।’
इलेक्ट्रिक सिगरेट (भेप) भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र उनका छोरा राहुलको नाम जोडिएको छ । प्रधानमन्त्री र गृहमन्त्रीको दबाबको कारणले महरामाथि छानविन अघि नबढाइएको आरोप लाग्दै आइरहेको बेलामा उनले त्यसको खण्डन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरोधी सरकारले अगाडि बढाएको अभियानले जनतामा उत्साह बढेको बताए। सरकारको कामलाई प्रभावकारी बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि प्रकरणको छानविनमा आफूले दबाब नदिएको बताए ।
कार्यक्रममा उपाध्यक्ष पम्फा भुषालसहित, उपमहासचिव जनार्दन शर्मा प्रभाकर, सचिव दीनानाथ शर्मा, वागमती प्रदेशका मुख्य मन्त्री शालिकराम जम्कट्टेललगायत नेताहरुको उपस्थिति छन् ।