आफ्नो पालामा भएका नियुक्ति खारेज गरेको भन्दै गण्डकीका पूर्वमुख्यमन्त्रीको आपत्ति – Nepal Press

आफ्नो पालामा भएका नियुक्ति खारेज गरेको भन्दै गण्डकीका पूर्वमुख्यमन्त्रीको आपत्ति

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले आफ्ना पालामा भएको नियुक्ति नयाँ सरकारले खारेज गरेको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा विशेष सम्बोधन गर्दै एमाले गण्डकी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री अधिकारीले आफ्नो पालामा भएका नियुक्तिहरु अहिलेको सरकारले खारेज गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘हामी प्रतिशोधका लागि उभिएका हौं र ?’, उनले प्रश्न गरे ।

अधिकारी नेतृत्वको सरकारले गरेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव नियुक्ति गर्ने निर्णय सुरेन्द्र पाण्डे नेतृत्वको सरकारले खारेज गरेको थियो । वीरेन्द्र खड्कालाई सदस्य सचिव नियुक्त गरेको निर्णय उल्टाउदै नयाँ सरकारले श्रीधर शर्मालाई नियुक्त गरेको थियो ।

उनले प्रदेशसभा सदस्यका क्षेत्रमा भएका कामबारे सम्बन्धित सदस्यलाई नै जानकारी नभएको भन्दै जिकीर गरे । एमालेलाई लेखा समितिको मात्र नेतृत्व दिइएकोमा उनले असन्तुष्टि व्यक्त गरे । एमालेले दुई समिति सभापतिमा दाबी गर्दै आएको थियो ।

प्रदेशका भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योग सञ्चालन हुने वातावरण बनाउन सरकारसँग पूर्वमुख्यमन्त्री अधिकारीले माग गरे ।

‘ती उद्योगले हामीलाई गिज्याइरहेका छन् । शीघ्र सञ्चालनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउँछु’, उनले भने । लम्पी स्किनले किसान आहात भएको भन्दै उनले संकट घोषणा गरी तत्काल विशेष राहत दिन सरकारसँग माग गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर