कोशीमा ‘चलाखी’ : ज्येष्ठ सदस्य मण्डललाई मन्त्री बनाइँदै
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले बुधवार दोस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
मण्डललाई बुधवार पद तथा गोपनीयताको शपथग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ ।
कोशी प्रदेश सभामा अहिले सभामुख रिक्त रहेको छ । उपसभा मुखले सभा नचलाएको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा थापाले विश्वासको मत पाउने छैनन् ।
सभा चलाउनेले बराबर मत भएको अवस्थामा मात्रै मत हाल्ने संवैधानिक व्यवस्था रहेको छ ।
सर्वोच्च अदालतको आदेशले साउन १६ गते मुख्यमन्त्री नियुक्त भएपछि थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेर साउन १७ गते शपथग्रहण गरेका थिए ।
मुख्यमन्त्री थापाले त्यसपछि साउन २६ गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री थापाले अझै आन्तरिक मामिला तथा कानून, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैसँग राखेका छन् ।