त्यसपछि ब्राह्मणलाई मदिरा निषेध भो – Nepal Press

त्यसपछि ब्राह्मणलाई मदिरा निषेध भो

नशा एक यस्तो चीज हो, जसले मानव मनलाई आनन्दित तुल्याउने गर्छ । नशा सबैमा हुन्छ । कसैमा धनको नशा, कसैमा ज्ञानको नशा, कसैमा प्रेमको नशा, कसैमा कमाउनुको नशा, कसैमा जमाउनुको नशा । परन्तु, नशाबाट भिन्न कोही छैन । हो, नशाका प्रकार र त्यसको उपयोगको तौरतरिका भने व्यक्तिअनुसार फरक फरक हुनसक्छ ।

मानव मस्तिष्कको अवचेतन भागसम्म मान्छे सजिलै पुग्न सक्ने एक माध्यम हो, नशा । नशाकै माध्यमले गर्दा मान्छेको अवचेतन मस्तिष्कको द्वार खुल्न जान्छ र मान्छे आनन्दको अनुभूतिमा रहन्छ । हरबखत आनन्दमा रहन खोज्नु मानव स्वभाव नै हो । यही स्वभावले नै आजसम्मको यावत उपलब्धि मान्छेले पाउन सकेको हो । र, मान्छेले आफ्नो बुद्धिले भ्याएसम्म नशाको मात्रा र त्यसको उपयोगको तौरतरिकालाई मिलाएर लैजाने कोसिस सदैव गरिरहेकै छ । तर पनि केही यस्ता नशाहरू हुन्छन्, जो मान्छेको वशमा सहजै रहन सक्तैनन् र तिनको सीधा सम्बन्ध अवचेतन मन वा मस्तिष्कसँग हुने गर्छ । त्यसैले नशा लिनेहरू अक्सर आफू चाहिँ आनन्दमा रहने गर्छन्, अन्यको बिल्कुल पर्वाह नै नगरी ।

अवचेतन मनको द्वार खोल्ने यस्तै नशालु चिजहरूमध्येको यौटा हो- मदिरा ।

पौराणिक कालखण्डदेखि नै मदिरापान निकै पुरानो परम्परा रहेको बुझ्न सकिन्छ । देवताहरूले मदिरापान गर्नेदेखि लिएर धर्तीमा राजा-महाराजाहरूले समेत मदिरापान गर्ने गरेको इतिहास पाइन्छ । अवचेतन मनको द्वार सहजै खोलिदिने यस्तो मदिरा बनावटका भेदले, प्रक्रियाका भेदले तथा कच्चापदार्थका भेदले धेरै प्रकारहरू पाइन्छ । सामान्यतया भने अन्नद्वारा बन्ने मदिरा र फलफूलद्वारा बन्ने मदिरा गरेर दुई प्रकारका मदिरा विशेष रूपले प्रचलनमा रहेको पाइन्छ ।

जातैले पाएको र हातैले खाएको भन्ने उखान हाल्दै मदिरापान गर्नेहरू त समाजमा प्रशस्तै देखिएकै हुन् र यो स्वाभाविकै पनि देखिन्छ । मदिरापानका लागि उनीहरूमा निश्चित नियम र प्रक्रिया पनि रहेको बुझ्न सकिन्छ । विविधताले युक्त हाम्रो समाजमा कतिपय समुदायमा मदिरापान सामाजिक-सांस्कृतिक क्षेत्रको एक अनिवार्य अङ्ग नै बनेको र रहेको छ भने कतै निषेध गरिएका समुदायमा पनि मदिरापानको संस्कृति विशेष रूपले हुर्कंदो नै छ । जात वा वर्णमै शास्त्रोक्त तथा सामाजिक रूपले निषेध रहँदारहँदै पनि मदिरापान गर्नेहरू तथा मदिरा संस्कृतिलाई जीवनको अभिन्न अङ्गका रूपमा स्वीकार गर्नेहरूको संख्या दिनानुदिन बढ्दो छ ।

पौराणिक कालखण्डदेखि नै मदिरापान निकै पुरानो परम्परा रहेको बुझ्न सकिन्छ । देवताहरूले मदिरापान गर्नेदेखि लिएर धर्तीमा राजा–महाराजाहरूले समेत मदिरापान गर्ने गरेको इतिहास पाइन्छ । अवचेतन मनको द्वार सहजै खोलिदिने यस्तो मदिरा बनावटका भेदले, प्रक्रियाका भेदले तथा कच्चापदार्थका भेदले धेरै प्रकारहरू पाइन्छ ।

मदिरापान गर्नेहरूको संख्या बढेसँगै आजभोलि जन्मोत्सव, विवाह आदि कार्यहरूमा समेत मदिरा अनिवार्य जस्तै बनिसकेको अवस्था छ । विविध जनजातिको संस्कारसँग मदिराको अभिन्न र अविच्छिन्न सम्बन्ध चलिआएको भए पनि विशेष गरेर ब्राह्मण समुदायमा भने शास्त्रोक्त हिसाबले मदिरालाई निषेध नै गरिएको छ भने सामाजिक मान्यता पनि ब्राह्मणले मदिरापान गर्नुहुँदैन भन्ने नै छ । परम्परागत रूपमा समाज र शास्त्रले पनि निषेध गरेको मदिरालाई पर्व तथा उत्सव आदिको नाममा सहज रूपले नै पेययोग्य बनाउन थालिएको छ । भेटिँदा र छुट्दा, जय र पराजय, पर्व, उत्सव, थकान, खुशी हरेक समयमा मदिरालाई पिउने नेपाली स्वभाव नै बनिसकेको छ भन्दा फरक नपर्ला ।

यस्तो लाग्छ- मदिराबेगर अब कुनै उत्सवहरू नै हुने छैनन, मदिराबेगर कुनै पर्व मानिने छैन । ‘मदिराविनाको जिन्दगी के जिन्दगी’ भन्ने जस्तो व्यवहार देखिन अब धेरै पर्खनु नपर्ला ।

वर्षेनी थपिँदो करको भार, मद्यपानका बारेमा जनचेतनायुक्त सामग्रीहरूको उपलब्धता, मदिराका हानिकारक पक्षहरूका बारेमा जानकारी जस्ता यथेष्ट कुराहरू हुँदाहुँदै पनि नेपालमा मदिरा आयातको तथ्यांक डरलाग्दो नै छ । स्वदेशी तथा विदेशी अनि हल्कादेखि कडा खालका पेयपदार्थका रूपमा मदिराको व्यापार निकै फस्टाउँदो नै देख्न सकिन्छ ।

सुख र दुःख दुवैमा समान हिसाबले उपभोग गरिने मदिरा पाउन हामीले धेरै दुःख गर्नु नपर्ने भैसकेको छ । किराना पसल बरु नजिकमै पाउन गाह्रो पर्ला । तर, मदिरा पसल सहजै पाउन सकिन्छ । खाद्यान्नभन्दा मदिरा सहज रूपले उपलब्ध हुन थालेको हालको समाजमा मदिरा निषेधको पौराणिक कथा पनि बुझाउन आवश्यक छ । महाभारतको आदि पर्वअन्तर्गतको सम्भव पर्वमा मदिरा निषेधको उपाख्यान आउँछ ।

उपाख्यान यस्तो छ –

परापूर्वकालमा चराचर प्राणीहरूसहित त्रिलोककै ऐश्वर्य प्राप्तिका लागि देवता तथा असुरहरूका बीचमा ठूलो युद्ध भयो । विजयको अपेक्षाले देवताहरूले बृहस्पतिलाई र असुरहरूले शुक्राचार्यलाई आआफ्ना पुरोहित नियुक्त गरे । बृहस्पति र शुक्राचार्य दुवै आपसमा द्वेष राख्ने खालका ब्राह्मण थिए । युद्धभूमिमा मारिएका असुरहरूलाई शुक्राचार्यले आफ्नो मृतसञ्जीवनी मन्त्रले पुनः जीवित गरिदिन्थे र असुरहरूको संख्या यथावत कायम रहन्थ्यो । तर, देवताका गुरु बृहस्पतिसँग त्यस्तो कुनै मन्त्र थिएन, जसले युद्धभूमिमा मारिएका देवताहरूलाई जीवित गराउन सकोस् ।

यसरी आफ्ना योद्धाहरू युद्धभूमिमा मारिएको देखेर दुःखित देवताहरूले आफ्ना गुरु बृहस्पतिका ज्येष्ठ पुत्र कचसमक्ष गएर भने- हे ब्राह्मण ! हामीलाई रक्षा गर्नुहोस् । दैत्य गुरु शुक्राचार्यका समीपमा गएर उनीसँग मृतसञ्जीवनी मन्त्र सिकेर आउनुहोस् । गुरु शुक्राचार्य आफ्ना दानव शिष्यहरूको मात्रै रक्षा गर्दछन् । तर, हाम्रो रक्षा गर्ने कोही छैनन् । तपाईं युवा हुनुहुन्छ र युवकको अनुनयपूर्ण स्तुतिले गुरु शुक्राचार्य अवश्यै प्रशन्न हुनेछन् भने देवयानी नाम गरेकी शुक्राचार्यकी एक नवयौवना पुत्री पनि छिन्, उसलाई पनि आफ्ना व्यवहार तथा सेवाद्वारा प्रशन्न गराएर मृतसञ्जीवनी विद्या प्राप्त गरेर आउनुहोस् र हाम्रो रक्षा गर्नुहोस् ।

बृहस्पतिका पुत्र कचले देवताहरूलाई कार्य सम्पन्न गर्ने आश्वासन दिएर दैत्य गुरु शुक्राचार्यका समीपमा गएर भने- म अंगिराको नाति तथा बृहस्पतिको जेठो छोरो कच हुँ । मलाई आफ्नो शिष्यका रूपमा स्वीकार गर्नुहोस् । तपाईं मेरो गुरु हुनुहुन्छ र तपाईंकै समीपमा रहेर म दीर्घकालसम्म ब्रह्मचर्यको पालन गर्नेछु ।

शुक्राचार्यले भने- हे कच ! तिमीलाई मेरो आश्रममा हार्दिक स्वागत छ । मेरा लागि तिमी आदरका पात्र हौ र तिम्रो आदर सत्कार गर्नाले मबाट बृहस्पतिको पनि आदर सत्कार हुनेछ ।

जात वा वर्णमै शास्त्रोक्त तथा सामाजिक रूपले निषेध रहँदारहँदै पनि मदिरापान गर्नेहरू तथा मदिरा संस्कृतिलाई जीवनको अभिन्न अङ्गका रूपमा स्वीकार गर्नेहरूको संख्या दिनानुदिन बढ्दो छ ।

यसरी कच आफ्ना गुरु शुक्राचार्य तथा गुरुपुत्री देवयानीका साथमा रहेर उनीहरूको सेवा गर्दै आफ्नो अध्ययनमा अघि बढ्दै गए । कच नवयुवक भएकाले युवावस्थामा प्रिय लाग्ने कार्यहरू गायन, नृत्य तथा सङ्गीतका माध्यमले देवयानीलाई पनि अधिक रूपले सन्तुष्ट बनाउने गर्दथे ।

देवयानी र कच दुवै युवावस्थामा रहेकाले एकले अर्कोलाई सहयोग गर्ने क्रम पनि चल्न थाल्यो । दुवैजना कठोर ब्रह्मचर्यको पालन गर्दै दीर्घकालसम्म आश्रममै रहन थाले । तर, मृतसञ्जीवनी विद्याको रक्षा तथा देवगुरु बृहस्पतिसँगको द्वेषका कारणले गर्दा एक दिन दानवहरूले वनमा गाई चराइरहेका कचलाई एकान्तमा पारेर हत्या गरिदिए । हत्या गरेपछि दानवहरूले कचको शवलाई काटेर स्याललाई खान दिए ।

साँझमा कचबेगर नै गाईहरू आश्रममा फर्किएपछि देवयानी चिन्तित भएर आफ्ना पिता शुक्राचार्यलाई भनिन्- हे पिता ! गाई फर्किए । तर, कच फर्किएनन् । सूर्यास्त पनि भइसक्यो । कि त कच मारिए वा मरे ? तर, म कचविना बाँच्न सक्दिनँ ।

आफ्नी पुत्रीले यस्तो भनेको सुनेर शुक्राचार्यले भने- हे पुत्री ! कचलाई जे भएको भए पनि आफ्नो साधनाको बल र मन्त्रको प्रभावले म तुरुन्तै उसलाई जीवित बनाउनेछु भनेर कचलाई बोलाए । कचलाई बोलाउनासाथ ती स्यालहरूका पेटलाई चिर्दै आफ्नो पूर्ववत स्वरूप धारण गर्दै शुक्राचार्यका सामुन्ने उपस्थित भए ।

कचलाई देख्नासाथ देवयानीले भनिन्- आज आश्रम आउनमा किन विलम्ब भयो ?

तब कचले भने- म समिधा, कुश तथा केही काठ बोकेर वनबाट फर्कंदै थिएँ । बाटोमा थाकेर एक स्थानमा बसिरहेका बेलामा असुरहरू आएर सोधे- को हौ तिमी ? मैले भनें- म बृहस्पतिको पुत्र कच हुँ र यहाँ गुरु शुक्राचार्यको शिष्य भएर रहेको छु । यति भन्नासाथ ती असुरहरूले मलाई मारेर मेरो शरीर काटेर स्यालहरूलाई खान दिए । गुरु शुक्राचार्यको मन्त्रको प्रभावले गर्दा म अहिले जीवित भएर आउन सकेको हुँ ।

यस्तैमा फेरि कुनै दिन देवयानीले पूजाका लागि भनेर फूल ल्याउन कचलाई वनमा जान भनिन् । वनमा जाँदै गर्दा कचलाई असुरहरूले देखे र फेरि उनको हत्या गरिदिए । कचको हत्या गरेर उनको शरीरलाई पिसेर समुद्रको पानीमा घोलिदिए । यता कच आउनमा विलम्ब भएकाले देवयानीले चिन्ता गर्दै आफ्ना पितासँग भनिन्- हे पिता ! कच फेरि पनि आएनन् । पक्कै केही अप्रिय घटना घटेको हुनुपर्छ । पुत्रीको कुरा सुनेर गुरु शुक्राचार्यले मृतसञ्जीवनी विद्याको आवाहन गरेर कचलाई जीवित पारिदिए । देवयानीले पूर्ववत विलम्ब हुनुको कारण सोधिन् र कचले पनि आफ्नो सबै हालत बताइदिए ।

यस्तैमा फेरि एक दिन असुरहरूले कचलाई एकान्त अवस्थामा रहेका बेलामा हत्या गरिदिए । हत्या गरेपछि कचको शवलाई जलाइदिए । यति गर्दा पनि गुरुको मृतसञ्जीवनी मन्त्रको प्रभावले कच फेरि पनि बच्न सक्ने भयले असुरहरूले कचको शवदाह गरेर बाँकी रहेको खरानीलाई मदिरामा घोलेर आफ्ना गुरु शुक्राचार्यलाई पिउन दिए ।

यता कच निकै बेर भइसक्दा पनि नआएको देखेर चिन्तित हुँदै देवयानीले आफ्ना पितासँग भनिन्- हे पिता ! मैले भनेका हरेक कार्य कचले सहजै गरिदिन्थे । तर, आज उनी यतिबेलासम्म पनि आइपुगेनन् । कच कि मरे, कि त मारिए । म कचविना बाँच्न सक्दिनँ ।

दैत्य गुरु शुक्राचार्यले भने- हे पुत्री ! बृहस्पतिका पुत्र कच बारम्बार मारिए । तर पनि मैले उनलाई तिम्रो आग्रहमा बारम्बार जीवित गराएँ । तर फेरि पनि उनी मारिए । अब म के गरौं ? हे पुत्री ! तिमी यस प्रकारले शोक नगर । तिमी जस्ती शक्तिशाली स्त्रीलाई एक मृतकका लागि शोक गरेको शोभा दिँदैन । अब पनि कचलाई जीवत गराएर के काम ? उनलाई फेरि पनि असुरहरूले अवश्यै वध गर्नेछन् । त्यसैले हे पुत्री ! जिद्दी नगर र शोक पनि नगर ।

परम्परागत रूपमा समाज र शास्त्रले पनि निषेध गरेको मदिरालाई पर्व तथा उत्सव आदिको नाममा सहज रूपले नै पेययोग्य बनाउन थालिएको छ । भेटिँदा र छुट्दा, जय र पराजय, पर्व, उत्सव, थकान, खुशी हरेक समयमा मदिरालाई पिउने नेपाली स्वभाव नै बनिसकेको छ भन्दा फरक नपर्ला ।

देवयानी भन्छिन्- हे पिता ! अत्यन्त वृद्ध महर्षि अंगिरा, जसका पितामह छन् र तपस्याका भण्डार बृहस्पति जसका पिता छन् । जो ऋषिकै नाति र ऋषिकै पुत्र हुन्, त्यस्ता ऋषितुल्य ब्रह्मचारी कचका लागि म किन शोक नगरूँ ? म किन नरोऊँ ?

हे पिता ! ब्रह्मचर्यमा सदैव तत्पर रहेका, तपस्या नै जसको सर्वस्व रहेको तथा सदा सजग रहने र कार्यमा कुशल रहेका कच मेरा लागि अत्यन्त प्रिय थिए । उनी सदैव मेरो मनको अनुकूल चल्थे । त्यसैले कचको शोकमा म अब भोजनको त्याग गर्नेछु र कचकै मार्गमा चल्नेछु ।

तब दैत्य गुरु शुक्राचार्य भन्छन्- यदि मैले कचलाई फेरि पनि जीवित तुल्याएँ भने असुरहरू मसँग द्वेष गर्नेछन् । त्यसैले गर्दा नै मेरा आश्रममा आएका शिष्यको हत्या गरिदिएका हुन् । यी दानवहरू मलाई ब्राह्मणत्वबाट खसाल्न चाहन्छन् । यसैले गर्दा उनीहरू प्रतिदिन मेरो प्रतिकूल हुने गरेर आचरण गर्ने गर्छन् । उनीहरूले जो पाप गरेका छन्, त्यो अवश्यै प्रकट हुनेछ । ब्रह्महत्याले कसैलाई पनि छाड्दैन, चाहे इन्द्र नै किन नहून् ।

देवयानीलाई खुशी पार्न भनेर दैत्य गुरु शुक्राचार्यले आफ्नो मृतसञ्जीवनी विद्याको प्रयोगले कचलाई बोलाए । शुक्राचार्यको पेटमा रहेका कचले अत्यन्त भयभीत हुँदै विनम्र भएर भने- हे भगवन ! ममाथि प्रशन्न हुनुहोस् । म कच हुँ र तपाईंका चरणमा प्रणाम गर्दछु । जस्तो पुत्रमाथि पिताको स्नेह हुन्छ, त्यस्तै प्रकारले मलाई पनि प्रेम गर्नुहोस् ।

आफ्नो पेटबाट कचको आवाज सुनेर शुक्राचार्य भन्छन्- हे ब्राह्मण ! कुन मार्गबाट तिमी मेरो पेटसम्म पुगेर स्थित हुन सक्यौ ? सबै कुरा मलाई ठीक ठीक बताऊ ।

कच भन्छन्- गुरुदेव ! तपाईका कृपाले मेरो स्मरणशक्ति अझसम्म बलियै रहेछ । तपाईं ब्राह्मी, आसुरी तथा दैवी जस्ता तीनै प्रकारका मायाका बारेमा जानकार हुनुहुन्छ । असुरहरूले मलाई मारेर मेरो शवलाई जलाएर शवको खरानीलाई मदिरामा घोलेर तपाईंलाई पिलाइदिए । यसरी म तपाईंको पेटसम्म आइपुग्न सकें । तर, पेट फोरेर निस्कँदा मेरा सबै तपस्याको नाश हुने र गुरु हत्याको पाप पनि मलाई लाग्ने भएकाले म बाहिर नआएर यहीं नै अधिक भए पनि क्लेश सहेर बसेको छु ।

तब शुक्राचार्यले आफ्नी पुत्री देवयानीसँग भने- हे पुत्री ! भन अब के गरौं ? मेरो वधपश्चात मात्रै कचको जीवित हुन सम्भव छ । मेरो पेट चिरेरमात्रै कच बाहिर आउन सक्नेछन् । तब देवयानी भन्छिन्- हे पिताजी ! म कच र तपाईं दुवैको वियोग सहन सक्दिनँ । कचको मृत्युले मेरो जीवनमा शान्ति हुनेछैन भने तपाईंको मृत्युको पीडाले म बाँच्न सक्दिनँ ।

शुक्राचार्यको श्राप तथा निषेधको वाक्यले सारा जगत व्याप्त हुन थाल्यो र त्यसपछि ब्राह्मणलाई मदिरापानमा सदैव निषेधको अवस्था रहन गएको देखिन्छ । यसरी मदिरापान गर्नाले शुक्राचार्यको होश हराएको तथा आफ्ना प्रिय शिष्यका बारेमा बेखबर रहेको अवस्थालाई मध्यनजर गर्दै उनले बनाइदिएको नियमले नै ब्राह्मणलाई मदिरा निषेध गरिएको बुझ्न सकिन्छ ।

यस्तैमा शुक्राचार्यले भने- हे कच ! तिमी अब सिद्ध भैसकेका छौ । देवयानी तिमीलाई चाहन्छिन् र तिमी देवयानीको भक्त भएका छौं । केवल ब्राह्मणलाई छाडेर अन्य कोही पनि मेरो पेटबाट जीवित निस्कन सक्दैनन् । त्यसैले तिमी इन्द्र होइनौ भने मेरो मृतसञ्जीवनी विद्या ग्रहण गर र बाहिर आऊ । मेरो शरीरबाट निस्केर मेरो पुत्र समान नै हुनेछौ र मलाई पनि पुनः त्यही मन्त्रले जीवित गराइदिनू ।

तत्पश्चात् बृहस्पति पुत्र कच शुक्राचार्यको पेटलाई विदीर्ण गर्दै बाहिर निस्किए । त्यसपछि आफूले प्राप्त गरेको मृतसञ्जीवनी मन्त्रले आफ्ना गुरुलाई पुनः जीवित तुल्याइदिए ।

वास्तवमा शुक्राचार्य मदिरापानको माध्यमद्वारा बेहोशीको अवस्थामा पुगेका थिए । अत्यन्त भयानक परिस्थितिमा पुग्दासमेत ज्ञानी शुक्राचार्यमा कुनै पनि होश नरहेको र मदिराको कारणले मोहित भएकाले गर्दा नै आफ्नो मनको अनुकूल चल्ने प्रिय शिष्य तथा ब्राह्मणकुमार कचलाई पनि पिइदिए । यो सबै कुराको ज्ञात भएपछि शुक्राचार्य मदिरापानप्रतिको घृणा भाव तथा मनमा अत्यन्त क्रोधको भावना उजागर हुँदा अत्यन्त कुपित भएर ब्राह्मणको हितका लागि भनेर क्रोधपूर्ण आवेगमा यस्तो घोषणा गरे- साधु पुरुष, ब्राह्मण, गुरुका समीपमा रहेर अध्ययन गर्ने शिष्यहरू तथा देवता अनि समस्त जगतका मनुष्यहरूले ध्यानपूर्वक सुनून् । आजदेखि यस जगतका जो कोही पनि मन्दबुद्धि भएका ब्राह्मणहरू, जसले अज्ञानले भए पनि मदिरापान गर्नेछन्, ऊ धर्मले भ्रष्ट हुनेछ र ब्रह्म हत्याको पापको भागी पनि हुनेछ र यस लोक र परलोक दुवैमा निन्दितसमेत रहनेछ । धर्मशास्त्रहरूमा ब्राह्मण धर्मका जुन सीमा बताइएका छन्, त्यसमा मद्वारा बताइएका यी मान्यताहरू पनि स्थापित हुनेछन् र सम्पूर्ण लोकमा मान्य हुनेछन् ।

शुक्राचार्यको श्राप तथा निषेधको वाक्यले सारा जगत व्याप्त हुन थाल्यो र त्यसपछि ब्राह्मणलाई मदिरापानमा सदैव निषेधको अवस्था रहन गएको देखिन्छ । यसरी मदिरापान गर्नाले शुक्राचार्यको होश हराएको तथा आफ्ना प्रिय शिष्यका बारेमा बेखबर रहेको अवस्थालाई मध्यनजर गर्दै उनले बनाइदिएको नियमले नै ब्राह्मणलाई मदिरा निषेध गरिएको बुझ्न सकिन्छ ।

मनुस्मृति आदिमा मदिरापानलाई महापातक कर्म मानिएको छ । अन्यत्र पनि ब्राह्मणले मदिरा खान, छुन र सुँघ्नसमेत नहुने उल्लेख पाइन्छ । क्षत्रीय/वैश्य आदिलाई फलफूलले बनेको मदिरापान गर्ने छुट भए पनि ब्राह्मणका हकमा सबै किसिमका मदिरापान निषेध गरिएको पाइन्छ । अचेल त विज्ञानले पनि प्रमाणित गरेकै कुरा हो, मदिरापान स्वास्थ्यका लागि हानिकारक छ ।


प्रतिक्रिया

One thought on “त्यसपछि ब्राह्मणलाई मदिरा निषेध भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *