कोशीमा सत्ता राजनीतिको बाघचालः मण्डल फड्केपछि ‘ज्येष्ठ सदस्य’ को लाइनमा को-को ?
१३ औं नम्बरका ज्येष्ठ सदस्य अमृत अर्यालमा आउन सक्छ सभा सञ्चालनको जिम्मेवारी
विराटनगर । कोशीमा प्रदेशसभाका सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर मन्त्री बनाएसँगै सुरू भएको सरकार गिराउने र टिकाउने खेल बाघचालजत्तिकै रोचक बनेको छ । भोलिसम्ममा कथाले कुन मोड लिने हो भन्न सकिने अवस्था छैन ।
सभामुखको हस्ताक्षरसहित बहुमत दाबी गरेर असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापा नेतृत्वको सरकार सर्वोच्च अदालतले बर्खास्त गरेपछि सभामुखलाई पदबाटै राजीनामा गराएर पुनः बहुमत पुर्याइएको थियो । सभामुख बाबुराम गौतमले साउन १६ गते राजीनामा दिएसँगै थापा सोही दिन पुन: मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । कोशी प्रदेशसभाबाट विश्वासको मत लिन थापालाई ४७ सांसदको समर्थन आवश्यक पर्दछ । राप्रपाले सत्ता गठबन्धनलाई विश्वासको मत दिने पक्षमा नदेखिँदा सत्ता गठबन्धनलाई ४७ सीट जोगाउन सकस परिरहेको छ ।
अहिलेको स्थितिमा सत्ता गठवन्धनसँग ट्वाक्क ४७ सांसदकै समर्थन छ । तर, सभामुखको कुर्सी खाली रहेको अवस्थामा उपसभामुख पनि अनुपस्थित हुन सक्ने सम्भावना बढेपछि स्थिति पेचिलो बनेको हो । उपसभामुख सिर्जना दनुवार प्रतिपक्षी एमालेबाट मनोनीत सांसद हुन् । सभाको अध्यक्षता गरिदिएर उनी सत्ता गठबन्धनलाई सजिलो पारिदिने पक्षमा छैनन् ।
सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्यले सभा चलाउनुपर्ने कानूनी व्यस्था छ । अहिले प्रदेशसभामा कांग्रेस सांसद गयानन्द मण्डल सबैभन्दा ज्येष्ठ हुन् । कांग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ५ (१) बाट निर्वाचित मण्डल कोशी प्रदेशसभाका ज्येष्ठ सदस्य हुन् । सभामुखमा गौतम निर्वाचित हुनु अगाडि उनैले कोशी प्रदेशसभा सञ्चालन गरेका थिए । प्रदेशसभा सदस्य हुँदा उनी ७९ वर्षका थिए । मण्डल विक्रम सम्वत् २००० साल असोज ६ गते जन्मिएका हुन् ।
नेपालको संविधान २०७२ को धारा १८२ को उपधारा ५ मा प्रदेश सभाका सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्था वा रिक्त भएको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछन् ।
यदि उनले सभा सञ्चालन गरेमा उद्धव थापाको सरकारलाई मत हाल्न पाउँदैन थिए र एक सीट नपुगेर सरकार ढल्ने थियो । संवैधानिक व्यवस्था अनुसार सभा सञ्चालन गर्नेले पनि बराबर मत नभएको अवस्था बाहेक पक्ष या विपक्षमा मत हाल्न पाउने छैनन् । त्यसलाई टार्न कांग्रेसले चलाखीपूर्वक मण्डललाई आजै राज्यमन्त्री नियुक्त गरिदिएको छ । मन्त्री भएपछि उनले सभा सञ्चालन गर्नुपर्दैन र भोट हाल्न पाउँछन् । मण्डलले सभा चलाउन नपाउने भएपछि अब यो जिम्मेवारी दोस्रो ज्येष्ठ सदस्यमा सर्छ ।
यी हुन् मण्डलपछिका ज्येष्ठ सदस्य
कोशी प्रदेशसभा सचिवालयले उपलब्ध गराएको विवरणअनुसार मण्डलपछि प्रदेश सभाका ज्येष्ठ सदस्य हुन् रोहितबहादुर कार्की । उनी सुनसरी ३ (१) मा एमालेबाट निर्वाचित हुन् । प्रदेशसभामा निर्वाचित भएका बेला उनी ७१ वर्षका थिए । कांग्रेस चाहन्छ, कार्कीले नै प्रदेशसभा सञ्चालन गरुन् र आफूहरूको भोट नघटोस् । तर, एमालेका पनि आफ्नै दाउपेच छन् । कार्की प्रदेशसभा बैठकमा उपस्थित नहुनसक्ने सम्भावना प्रबल छ ।
यदि उनी अनुपस्थित भए भने ज्येष्ठ सदस्य हुनेछन् राप्रपाका अम्बरबहादुर विष्ट । उनी ६९ वर्षका भए । राप्रपा अहिले एमालेको कित्तामा छ । उ पनि सरकार टिकाइराख्ने पक्षमा छैन । त्यसैले विष्ट पनि सभामा अनुपस्थित नहोलान् भन्न सकिन्न । उनी पछि फेरि एमालेकै मालती सुब्बा ज्येष्ठ सदस्य छिन् । उनी ६८ वर्षकी भइन् । सुब्बापछि पनि एमालेकै रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोर चन्द्रदुलाल प्रदेश सभामा ज्येष्ठ सदस्यको लाइनमा छन् ।
कोशी मा नवौँ ज्येष्ठ सदस्य भने राप्रपाका गोपालबहादुर विश्वकर्मा हुन् । उनी प्रदेशसभामा मनोनीत हुँदा ६५ वर्षका थिए । विश्वकर्मापछि मुख्यमन्त्री उद्धव थापा, एकीकृत समाजवादीका कमलप्रसाद जवेगु र एमालेका ज्ञानेन्द्र सुवेदी ज्येष्ठ सदस्यमा आउँछन् ।
थापा मुख्यमन्त्री र जवेगु मन्त्री भएकाले सभा सञ्चालन गर्नु पर्दैन । यदि कांग्रेस र राप्रपाका बुढाखाडाहरू अनुपस्थित भए सभा सञ्चालन गर्ने बाध्यात्मक जिम्मेवारी कांग्रेसका अमृत अर्यालको काँधमा आउने देखिन्छ । कोशी प्रदेशसभाले उपलब्ध गराएको सूची अनुसार उनी कोशी प्रदेशसभाका १३ औ ज्येष्ठ सदस्य हुन् । उनी प्रदेशसभामा निर्वाचित हुँदा ६३ वर्षका भएका थिए ।
के गर्ला एमाले ?
कोशी प्रदेश सभामा सबैभन्दा ठूलो दल एमाले हो । कोशी प्रदेशसभामा सबैभन्दा बढी ४० सदस्य एमालेसँग छन् । संविधानको धारा १६८ (२) अन्तर्गत दुई वा २ भन्दा बढी दलहरूबाट बनेको सरकारले विश्वासको मत पाउन नसके १६८ (३ ) अन्तर्गत सरकार बन्ने दाबी एमालेले गर्दैछ ।
असार १५ गते एमाले संसदीय दलका नेता हिक्मत कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि असार २२ गते १६८ (३) अन्तरगत सरकार बन्नु पर्ने माग दाबीसहित एमाले सर्वोच्च अदालत गएको थियो ।
तर, सर्वोच्चले पुन: धारा १६८ (२) अन्तरगत नै सरकार गठनका लागि आदेश दियो । सो आदेश अन्तर्गत २ वा २ भन्दा बढी दलहरूको बहुमतको आधारमा बनेको उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत पाउन नसके स्वतः ३ अन्तर्गत सरकार बन्ने एमाले संसदीय दलका सचेतक रेवतीरमण भण्डारीले बताए ।
संविधानको धारा १६८ (३) मा ठूलो दलको हैसियतले सरकार बनाउने व्यवस्था छ । उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत पाउन नसके पुन हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री हुने छन् ।
यस्तो अवस्थामा उपसभामुखलाई राजीनामा गराएर भए पनि थापा नेतृत्वको सरकारलाई विश्वासको मत पुग्न नदिने रणनीतिमा एमाले रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार उपसभामुखलाई राजीनामा गराउने कि अनुपस्थित गराउने भन्ने निर्णयमा एमाले पुगिसकेको छैन ।
ज्येष्ठ सदस्यलाई समेत थापाले राज्यमन्त्री नियुक्त गरेपछि एमाले अव के गर्ने भन्ने अवस्थामा रहेको एमाले प्रदेश सभा सदस्यहरू बताउँछन् ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता भण्डारी भने परिस्थितिअनुसार एमालेले उचित निर्णय गर्ने बताए । उनले भने, ‘एमालेले उचित निर्णय गर्छ, सबैको भलो हुने काम गर्छ ।’
‘निर्णायक’ राप्रपा मौन
कोशी प्रदेशसभामा राप्रपा निर्णायक बनेको छ । ६ सदस्य रहेको राप्रपाले अहिलेसम्म एमालेसँगको साथ छाडेको छैन । उद्धव थापा मुख्यमन्त्री बन्ने बेला सत्ता गठबन्धनको सरकारमा राप्रपालाई सहभागी गराउने प्रयास गरे पनि राप्रपा सहभागी भएन ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सातवटै प्रदेश र संघमा समेत प्याकेजमा सहमति भए मात्रै कोशी प्रदेश सरकारमा सहभागी हुने बताएका थिए । साउनको १६ गते विराटनगर विमानस्थलमा कुरा गर्दै लिङ्देनले अहिले नै सत्ता गठबन्धनसँग मिलेर विश्वासको मत दिने अवस्था नरहेको बताएका थिए ।
राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले राप्रपा छलफलमै रहेको बताए ।
कोशी प्रदेशसभाको बैठक भदौ १ गतेका लागि डाकिएको छ । १ गते बैठक तय भएपनि थापाले भदौ ५ गते विश्वासको मत लिने तयारी गरेका छन् ।