‘गलबन्दी’बाट दुई पैसा नकमाएको भए म पलायन भइसकेको हुन्थें : प्रकाश सपूत
काठमाडौं । प्रकाश सपूत गायक हुन् । गायक सँगसँगै गीतकार, संगीतकार, वाद्यवादक, पटकथाकार र मोडलसमेत हुन् । तर, उनलाई भने यी सबै परिचय एक ठाउँमा ल्याएर ‘सर्जक’को सम्बोधन प्रिय लाग्छ । आफूलाई सर्जक वा स्रष्टा भन्दा आफूले गरेका तमाम सृजनात्मक कामहरु समेटिने सपूतको विश्वास छ ।
‘बोलमाया’ गीत ल्याएपछि खाडी जानेबारे सोचेका सपूतले खाडी जानु परेन । गरिबीको गहिरो खाडलबाट सतहमा उक्लिएका उनले पछाडि फर्केर हेर्नु परेन । मुटु तीतो बनाउने विभेदहरुलाई संगालेर राखेका थिए, त्यसैले गीतहरुको अन्तरा खोज्न उनलाई कतै जानु परेन । बाआमा, पुर्खा र आफैंले भोगेर आएको निस्सासिँदो कथा थियो । त्यसैले कथा खोज्न अन्त कतै जानु परेन ।
‘बोलमाया’, ‘गलबन्दी’, ‘पिर’, ‘सकमबरी’ हुँदै ‘दमाई महाराज’सम्म आइपुग्दा अधिकांश गीतहरुमा कतै आफ्नै कथा उनेका छन्, कतै आफ्ना नजिकका साथीभाइले भोगेका कथाहरुलाई बुनेका छन् । जसै कथाहरु टिपेर गीत लेख्छन्, सँगै सामाजिक मुद्दाहरु पनि जोडेर ल्याउँछन् ।
मनोरञ्जनको लागि मात्रै सस्ता गीतहरु बजारमा ल्याइरहनेहरुका भीडमा सपूत पृथक छन् । प्रशंसित छन्, आलोचित पनि । गम्भीर मुद्दालाई हल्का रुपमा उठाएको भनेर उनीमाथि प्रश्नसमेत गर्ने गरिन्छ । चाहे ‘सकमबरी’मा युवतीलाई प्रस्तुत गरिएको विषय होस् या पारिजातको बहुचर्चित उपन्यास ‘शिरीषको फूल’को पात्र सकमबरीलाई प्रस्तुत गरिएको तरिका होस् । या ‘पिर’ गीतमा माओवादी पूर्वलडाकुलाई यौनकर्मी बनाइएको विषय होस् । सपूतमाथि प्रश्नहरु पनि तेर्सिरहेकै हुन्छन् । यिनै समग्र विषयमाथि केन्द्रित रहेर स्रष्टा प्रकाश सपूतसँग नेपालप्रेसकर्मी नवीनकाजी राईले गरेको कुराकानीको सम्पादित अंश:
– तपाईं आफूले लेखेर, कम्पोज गरेर गाएको गीतमा मोडलिङ पनि आफैं गर्नुहुन्छ । मोडलिङ तपाईंको रहर हो कि अरुप्रति विश्वास नभएर हो ?
अरुलाई तिर्ने पैसा नभएर हो (लामो हाँसो) । खासमा मलाई सबै कुरामा रुचि छ । म करियरको सुरुदेखि धेरै कुरामा जोडिँदै आएँ । धेरै कुरा सिक्दै आउने मौका पाएँ । बाल्यकालमा गाउँमै भित्ते पत्रिकाहरु पढ्थें । गाउँमै गजल, मुक्तकहरु लेख्ने, सुन्ने गर्दा शब्द रचनामा रस पस्यो । गाउँमा संस्कृति नै संगीतमय थियो । गाउने, नाच्ने भनेपछि हाम्रो रगतै हुने भयो । पछि टीभी अयो । फिल्मका चक्काहरु आउन थाले । भिडियो आयो । फिल्म आयो । त्यसमा पनि कनेक्ट भइयो ।
म बाँचेको निकै छिटो परिवर्तनशील भइरहेको समय र समाजमा धेरै नयाँ कुराहरुको अनुभव लिएकाले मेरो चेतनाको प्रक्रिया विस्तार हुँदै गर्दा धेरै कुराहरुसँग जोडिएँ । त्यतिखेर कतै न कतै अवचेतनमा संगीत, शब्द, अभिनयका कुराहरु घुसे ।
अहिलेसम्मको यात्राको क्रममा ठ्याक्कै हिरो बन्न सकिएन । कोसिस त गरिएकै थियो । ठयाक्कै गायक हुनलाई स्वर भयंकर छ भनेर अन्य गायकहरुले जस्तो भटाभट गीत गाउन पनि सकिएन । शब्द लेखेर, बेचेर, ‘यसको शब्द खत्रै हुन्छन्, यसका शब्द किनौं’ भन्ने खालको पनि लेखिएन (फेरि हाँसो) । औसतमा कहिले गाएर, कहिले अरुका गीतमा नाचेर जीवन पालियो । बीचको आठ-दश वर्ष बाउआमाले छोरो बाँचेको छ भनेर देखाउन गाउने, नाच्ने, बाजा बजाउने, कार्यक्रममा पनि हिँड्ने गर्दा बाध्यताले सबै अलिअलि सिकियो । यी सबै कुरा यात्रा र अनुभवले सिकाएको जस्तो लाग्छ ।
– अभिनय चाहिँ रहर हो कि प्यासन ?
रहर वा प्यासनभन्दा पनि अभिनयबाट पनि अभिव्यक्त गर्न सकिन्छ है भन्ने लागेको हो ।
– भनिन्छ नि, सबैथोक जान्ने, तर कुनै एउटा कुरामा विशेषज्ञता हासिल नगर्ने । त्यस्तै त होइन नि ?
समग्रमा म थोरै थोरै अंक हो (हाँसो) । अभिनयमात्रै छुटाएर हेर्दा प्रकाशले खत्रै अभिनय गर्छ भन्ने होइन । तैपनि व्यवसायिक हिसाबबाट अभिनयको प्रस्ताव आइरहेकै छन् । तर, मेरो आत्मविश्वास चाहिँ सबैमा थोरै थोरै छ । त्यसैले मलाई थोरै थोरै अंक दिए हुन्छ । मलाई संगीतमा फुल मार्क, शब्दमा फुल मार्क चाहिएन ।
अहिलेसम्मको यात्राको क्रममा ठ्याक्कै हिरो बन्न सकिएन । कोसिस त गरिएकै थियो । ठयाक्कै गायक हुनलाई स्वर भयंकर छ भनेर अन्य गायकहरुले जस्तो भटाभट गीत गाउन पनि सकिएन । शब्द लेखेर, बेचेर, ‘यसको शब्द खत्रै हुन्छन्, यसका शब्द किनौं’ भन्ने खालको पनि लेखिएन ।
– कति दिए हुन्छ ? पास मार्क कि अलि बढी ?
अहिले त सय प्रतिशत नै आइरहेको छ नि, हैन र ? (लामो हाँसो) । सबै मिलाएर सय प्रतिशत हो । डिभाइड गर्दा चाहिँ कसैलाई अभिनय मन पर्नसक्छ । साहित्यिक या बौद्धिक दर्शकले ‘यसले विषय चाहिँ उठाउँछ है’ भनेर त्यतातिर अंक बढी दिनुहोला । कोही संगीत लयको पारखी हुनुहुन्छ भने ‘लय मीठो आउँछ है’ भन्नुहोला । अहिलेसम्म ओभरअलमा सय प्रतिशत नै आइरहेको छ ।
– तपाईं आफूलाई सर्जक भनेको रुचाउनुहुन्छ । तैपनि गायक, संगीतकार, गीतकार, पटकथाकार, मोडलको परिचय छ । यी विधाहरुमध्ये सबैभन्दा बेटर छु भन्ने लाग्ने कुन हो ?
मलाई म कथा भन्न सक्छु भन्ने लाग्छ । लेख्न सक्छु भन्ने लाग्छ । मैले कथा नलेखेको वा कथालाई नउनेको भए सायद मेरा यी पछाडिका सबै परिचय फिक्का हुन्थे । प्रकाश सपूत गायक हो भन्ने छ । तर, मेरो गायन त्यस्तो वाउ भन्ने छैन । अहिले मान्छेले मन पराइरहेको त मेरो सृजना हो नि ! त्यसो हुँदा लाग्छ कि मेरो लेखन चाहिँ अलि राम्रो रहेछ है ! मैले लेखेका शब्द, मैले उनेका कथाहरु मान्छेलाई बढीजसो मन परिरहेको छ । गायन, भिडिओ त कथामा थपिने फूलबुट्टा हो । मुख्य कुरा त कथा र कथा लेखन हो ।
– तपाईंलाई मान्छेहरुले किन रुचाए जस्तो लाग्छ ?
किन रुचाए भनेर भन्ने क्षमता त म राख्दिनँ । तर, मैले हाम्रै समाजको कथा भनिरहेको छु । मौलिक प्रयासहरु गरिरहेको छु । हामीले बाँचेको समयको कथा हाम्रै मौलिक शैलीमा हाम्रो रुचिअनुसार भनिरहेको छु जस्तो लाग्छ ।
– तपाईंको जति प्रशंसा हुन्छ, उत्ति नै आलोचना पनि भइरहेका हुन्छन् । आलोचनालाई व्यक्तिगत रुपमा कसरी लिनुहुन्छ ?
दुई प्रकारका आलोचना हुने रहेछन् । एउटा व्यक्तिगत र अर्को वैचारिक । व्यक्तिगत आलोचनाले मलाई अलिकति असर गर्छ । म जे होइन, मेरो नियत, स्वभाव र आचरण जे होइन, त्यसलाई लिएर मान्छेले जज गरिरहेका हुन्छन् । आलोचनाको नाममा व्यक्तिगत नियत राखेर सानो समूहमै पनि खराब चित्रण गरिदिँदा थोरै मासमा भए पनि गलत असर पर्छ नि ! त्यसैले व्यक्तिगत रुपमा गरिएका आलोचनाको डर पनि लाग्छ । किनभने मेरो परिवार छ, निजी र सार्वजनिक जीवन छ ।
तर, वैचारिक आलोचनाले चाहिँ मलाई असर गर्दैन । किनभने मेरो विचार नै सही हो, मैले भनेका कुरा नै सही हो भनेर लाग्दिनँ । ‘यी विषय विमर्श गरिनुपर्ने विषय हुन् है, तपाईंलाई लागेको के हो, तपाईं भन्नुस्, मलाई चाहिँ यस्तो लाग्यो’ भनेर काम गरिरहेको हो मैले । मलाई ‘पिर’, ‘सकमबरी’, ‘दमाई महाराज’मा लागेको कुरा भनें । तर, अरुलाई फरक लाग्नसक्छ ।
मलाई म कथा भन्न सक्छु भन्ने लाग्छ । लेख्न सक्छु भन्ने लाग्छ । मैले कथा नलेखेको वा कथालाई नउनेको भए सायद मेरा यी पछाडिका सबै परिचय फिक्का हुन्थे । प्रकाश सपूत गायक हो भन्ने छ । तर, मेरो गायन त्यस्तो वाउ भन्ने छैन । अहिले मान्छेले मन पराइरहेको त मेरो सृजना हो नि !
एउटा सुर मैले लिएर जाने हो । अर्को सुर अर्कोले लिएर आउने हो । र, हामीले समाजलाई लय दिने हो । देशलाई लय दिने हो । त्यसैले लय नपक्रिइसकेको समाजमा फरक फरक सुर ल्याइनु स्वाभाविक हो ।
– तपाईंको ‘पिर’माथि निकै बहस भयो । सार्वजनिक रुपमा माओवादी नेताहरुले समेत अभिव्यक्ति दिए । पछि भिडिओ नै सम्पादन गर्नुभयो । तपाईंले डराएर सम्पादन गर्नुभएको हो वा तपाईंको विचार धर्मराएको हो ? सृजनामार्फत् पस्कने तपाईंको विचारको धरातल कति बलियो हो ?
यस्तो छ, मलाई अलिकति निरुत्साहित गर्ने भाषामा भन्ने हो भने त्यो डराएर नै हो भनेर भन्न मिल्छ । सायद सबै मान्छेलाई जवाफ दिन सकिनँ होला । सबै मान्छेको आवेगलाई सन्तुलनमा राख्न सकिनँ होला । एउटा राजनीतिक दलले गरेको मुभमेन्टको भारीलाई थेग्न सकिनँ होला ।
तर, यसैलाई सकारात्मक ऊर्जासहित आलोचना गर्ने हो । म त्यस्तो दबाब थेग्न तयार नभइसकेको रहेछु । मेरो वैचारिक धरातल त थियो, विचार त हुन्छ नै मान्छेसँग । तर, विचारपछि पनि विमर्श हुन्छ । विचारले देखाउने क्रियाको स्वाभाविक प्रतिक्रिया हुन्छ । त्यसका लागि चाहिँ म तयार नभइसकेको रहेछु ।
‘पिर’मा म अलि भावनात्मक थिएँ, वैचारिकभन्दा पनि । मेरो हृदय सर्जकीय भावनात्मक हृदय हो । तर, ‘पिर’ले उठाएको विषय साझा विषय हो । मैले सृजनामा हटाउँदैमा हट्ने भन्ने पनि होइन ।
वैचारिक हिसाबले आफ्नो विचार व्यक्त गरिसकेपछि आउने विचारहरुको उचित सम्बोधन गर्न वा प्रतिकार गर्न तयार नभइसकेको रहेछु ‘पिर’सम्म आइपुग्दा । त्यहाँ अगाडिका सृजनाहरु अलि भावनात्मक थिए । समाजलाई चित्रितमात्रै गरिएका थिए । तर, ‘पिर’मा आइपुग्दा अलि बढी राजनीति र विचार हावी भयो । मान्छेले त्यसरी ग्रहण गरे । त्यसले मलाई खुशी पनि बनायो । हटाउने भनेको त के मुड चल्यो, एकछिनको निर्णय त हो । मलाई हटाउन मनलाग्यो, हटाइदिएँ ।
– अहिले तपाईंलाई लाग्छ, त्यो नहटाएको भए पनि हुन्थ्यो ?
लाग्छ, हरेकपटक लाग्छ । नहटाएको भए हुन्थ्यो भन्ने लाग्छ । तर, आफूले गरेको कुरामा पछुतो गर्ने होइन, सुधार्दै लैजाने भन्नेबारे मात्रै सोच्छु । मैले आफूलाई त्यसरी परिस्कृत गर्छु । प्रसंगवश कुरा गर्ने हो भने त्यो भिडिओ नहटाएको भए हुन्थ्यो भन्ने लाग्छ ।
– ‘पिर’मा तपाईं आत्तिएर भिडिओ हटाउनुभयो । तर, ‘सकमबरी’मा चाहिँ त्यति धेरै आलोचना हुँदा पनि हटाउनुभएन । तपाईं परिपक्व भएको हो र ?
अब चाहिँ म मान्छेहरुसँग प्रतिप्रश्न गर्न सक्छु, यदि यदि आवश्यक पर्यो भने । अहिले पो जवाफ दिएर हिँड्ने प्रकाश सपूत जीवित छ । बीपी कोइराला, शंकर लामिछाने, पारिजात या भूपिका सृजना पढ्दा फरक बुझ्नुभयो भने कसलाई जवाफ माग्ने ? कसलाई सोध्ने ? कतिपय सवालहरुको जवाफ दिनैपर्छ भन्ने आवश्यकता छैन भन्ने कुरामा अहिले स्पष्ट छु म ।
– ‘सकमबारी’ नाम राखिएकै भरमा पारिजात स्मृति प्रतिष्ठानले पनि तपाईंसँग स्पष्टीकरण मागेको थियो । तर, तपाईं टसमस नै हुनुभएन, के कारणले हो ?
मैले उहाँहरुलाई सम्बोधन चाहिँ गरें । उहाँहरुले संयोग नभएर नियत नै देखिन्छ भन्नुभएको थियो । मैले ‘सकमबरी’ नाम नियतवश नै राखेको हो । मेरा सृजनामा सहित्य, पुस्तकलाई विम्बात्मक रुपमा प्रस्तुत गर्दै आएको छु । किनभने मेरो सुरुवात पुस्तकहरुबाट भयो । अहिलेको मेरो चेतना बनाउन मलाई ती पुस्तक कामयावी बने । समाजलाई विभिन्न कोणबाट हेर्न सकिन्छ भन्ने चेतना पुस्तकहरुबाट पाएँ । जीवनमा पहिलोपटक पढेको पुस्तक नै ‘शिरीषको फूल’ थियो ।
व्यक्तिगत आलोचनाले मलाई अलिकति असर गर्छ । म जे होइन, मेरो नियत, स्वभाव र आचरण जे होइन, त्यसलाई लिएर मान्छेले जज गरिरहेका हुन्छन् । आलोचनाको नाममा व्यक्तिगत नियत राखेर सानो समूहमै पनि खराब चित्रण गरिदिँदा थोरै मासमा भए पनि गलत असर पर्छ नि !
‘शिरीषको फूल’की ‘सकमबरी यस्तो छोरी मान्छे थियो, जो मैले देखेका तमाम महिलाहरुभन्दा भिन्न थिई । मेरी आमा, बहिनी, छिमेकी, फुपू, काकी, हजुरआमाभन्दा विल्कुल फरक थिई । मुडुलो टाउको थियो । चुरोट खान्थिन् । भर्खरै जुँगाको रेखी बसेको वेला, फरक लिंगप्रति आकर्षण सुरु हुँदा मैले त्यस्तो छोरीमान्छे देखेकै थिएन ।
मैले मेरो आँखाअघि देखेको सजीव मान्छेभन्दा पुस्तकमा पढेको निर्जीव पात्रलाई पहिलो प्रेमिका बनाएँ । पुस्तकको त्यो पात्र र गीतको यो पात्रमा धेरै फरक छ । उस्तै होइन भनेर देखाउन पुस्तक नै पढेको दृश्य छ । अनि त्यो साहित्यिक चेत चाहिँ नबुझ्ने ? फूलमायाले ‘शिरीषको फूल’ पढिरहँदा कसैले आएर नाम सोध्छ । उसले भन्छे, ‘सकमबरी’ ।
जम्मा सकमबरीलाई त्यो दृश्यमा राखेको छु । तर, सकमबरीलाई पात्र बनाएर गीतमा प्रस्तुत गरिएको होइन । फूलमाया भिन्न हो । सकमबरी त उसले उपन्यास पढ्दा आउने पात्र हो । मैले त्यति दृश्य राखेपछि ‘शिरीषको फूल’ नपढेका कति पाठकहरुले पढ्नुभयो होला ।
मैले प्रतिष्ठानलाई यो कुरा बुझाएँ । मैले यो पनि भनें, ‘सायद पारिजात जिउँदो हुनुहुन्थ्यो भने तपाईंहरुलाई यो विज्ञप्ति निकाल्न दिनुहुन्नथ्यो होला, भिडियो हेर्नुहुन्थ्यो होला । सकमबरी र फूलमाया छुट्याउनुहुन्थ्यो होला । सकमबरी नाम किन राख्यो भनेर कारण खोज्नुहुन्थ्यो होला । पुस्तकको नामबाट प्रभावित भएर सकमबरी नाम राख्या रैछ भनेर तपाईंहरुलाई नै गाली गर्नुहुन्थ्यो होला ।’
अनि मैले उहाँहरुलाई भनेको थिएँ, पारिजातले नै बनाएको साहित्यको फाँटमा आएको म सानो किसानलाई तपाईंहरुले निरुत्साहित बनाउनुहुन्न भन्ने आशा लिएको छु ।’ अनि पत्र उहाँहरुको ठेगानामा पठाइदिएँ ।
‘सकमबरी’ मार्फत् मनोरञ्जन क्षेत्रलाई जसरी देखाउन खोज्नुभएको छ, यस क्षेत्रमा सपना देखेका नवप्रतिभाहरुको नियति त्यस्तै नै हो र ?
मैले गीतमा मनोरञ्जन क्षेत्रको कथा भन्छु भनेर भनेको छैन । मैले सामान्य फूलमायाको यात्रा देखाउन खोजेको छु । गाउँको परिवेशबाट आएकी उनको आमालाई छोरीमात्रै जन्मियो भनेर बाउले छाडेर गएको छ । त्यहाँ लैंगिक विभेद छ । छोराप्रतिको आशक्ति छ । पितृसत्तात्मक सोच छ । तर, मान्छेहरु मनोरञ्जन क्षेत्रमा मात्रै फोकस भए ।
१४ मिनेटको गीतमा ऊ फिल्म खेल्न थालेपछिको दुई तीन मिनेटमा हामी अल्झियौं । तर, कथा त गरिबीको कथा थियो । फूलमायाको काँधमा आइलागेको जिम्मेवारीको कथा थियो । पुरुषले गर्ने हिंसाको कथा थियो । त्यस्तो पृष्ठभूमिबाट आएर ऊ मनोरञ्जन क्षेत्रमा जोडिएकी थिई । फूलमायाको ठाउँमा हरिमाया भएकी भए कथा फरक हुन्थ्यो होला । उसले अडिसन दिन्थी होली ।
मेरो क्षेत्रलाई म मूल्यवान बनाउन चाहन्छु । भोलि बिरामी हुँदा विचरा भन्ने नहोस् । हिजो राजेश हमालदेखि आजको पुस्तासम्म पनि कलाकारितालाई सुरक्षित क्षेत्र मानिँदैन । म त्यसलाई चिरियोस् भन्ने चाहन्छु । म मानसिक रुपमा पनि पैसा कमाउनुपर्छ भन्ने कुरामा सचेत छु । कलाकारितालाई फैलाउनुपर्छ भन्ने कुरामा पनि सचेत छु ।
तर, फूलमायाको त हिरोइन बन्ने सपनै थिएन । कम्तीमा बाँच्नुपर्छ, परिवार बचाउनुपर्छ भन्नेमात्रै थियो । त्यसैले वेटरको काम गरेकी थिई । परिस्थितिले ऊ मनोरञ्जन क्षेत्रमा जोडिएकी थिई । उसलाई त आफू बाँच्नु र आमाबहिनीलाई बचाउनु थियो । कम्तीमा यति त बुझिदिनुप¥यो नि !
– तपाईंले महिलालाई कमजोर देखाउनुभयो, महिलाहरु सवल छन् । ‘कल्ले किन्दियो’ भनेर भनिरहन पर्दैन भनेर पनि प्रश्नहरु उठेका थिए नि ?
यो प्रश्न गर्नु अगाडि सोचौं, त्यस्ता महिलाहरु छन् कि छैनन् ? कोही एकजना पात्रको मात्रै कथा पनि कथा हुन सक्दैन र कला क्षेत्रमा ? सबै सुयोगवीरहरु लाहुरे हुन्छन् र ? एकजनामात्रै फूलमाया रहिछिन् भने पनि त्यसको कथा नभन्ने ? त्यो कलात्मक छैन ? विम्बात्मक छैन ?
आत्मविश्वासी, शिक्षित महिलाहरु पनि छन् । अरुप्रति भर पर्नेहरु पनि छन् । यौनलाई छोटो बाटो अपनाउने पनि छन् । जजसले प्रकाशले यस्तो देखायो भन्छन्, उनीहरुलाई पनि थाहा छ कि उनीहरु पनि कुनै न कुनै महिलाको कुरा काटेर बसेका छन् ।
– २०८० साललाई ‘विभेदविरुद्धको वर्ष’को रुपमा मनाउने घोषणा गर्नुभएको छ । त्यही पेरिफेरिमा ‘दमाई महाराज’ ल्याउनुभयो । तर, दलितलाई महाराज बनाएर महायज्ञ, अनुष्ठान गराउँदामात्रै दलित मुक्ति सम्भव हुँदैन भनेर पनि आलोचना भए । यसलाई कसरी लिनुहुन्छ ?
पहिलो कुरा त नेपाल, भारतको हिन्दू समाजमा विभेदको पृष्ठभूमि धर्म हो । अहिले पनि कुनै वृद्ध आमैबाबैलाई ‘दलितले छोएको तपाईं किन खानुहुन्न’ भनेर सोध्दा ‘पाप लाग्छ, अनिष्ट हुन्छ, बिटुलो हुन्छ’ भन्नुहुन्छ । त्यस्तो हुने कुनै वैज्ञानिक कारण त छैन ! हाम्रो शरीरमा कुनै रेडियसन हुने पनि होइन । एउटै कुरा हो अन्धविश्वास । डर हो । हाम्रा हजुरबाले पनि ‘फलानोलाई छोएँ भने, मन्दिरभित्र छिरें भने पाप लाग्छ’ भनेर सोच्नुभयो । एउटा पुस्ता त त्यसरी बाँचेको छ नि !
जजसले त्यसरी प्रश्न गरे, उनीहरुको पृष्ठभूमि खोतलौं । मेरो पृष्ठभूमि चाहिँ हिन्दू धर्मको सहधर्मी हो । मेरो थर विश्वकर्मा हो । मेरो धर्म, पहिचान मलाई थाहा छैन । म जन्मिएको समाजमा त्यो पनि थिएन । धर्म नै संस्कृति जस्तो थियो । सबै पर्व मान्थ्यौं । सहधर्मी थियौं । तर, त्यो हुँदाहुँदै त्यहाँ एकैथोक फरक थियो । त्यो हो विभेद ।
यो विभेदबाट भाग्न कि त धर्म परिवर्तनको कुरालाई पनि हेर्नुपर्यो । कि यो धर्म मान्दैनौं भनेर हिँड्नुपर्यो । तर, पर्वहरु मनाउने, संस्कृति र संस्कार त्यही मनाउने हो भने र त्यही विभेद छ भने त्यहीबाट आवाज उठाउनुपर्यो नि ! ‘ए बजै धर्ममा यस्तो छैन है, नडराऊ’ भनेर सामान्य भाषामा भनिएको गीत हो त्यो । दमाई महाराजले आमैहरुलाई फकाइफकाइ बुझाउने कोसिस गरेको थियो ।
– पछिल्लो समय तपाईंका गीतहरु कन्ट्रोभर्सीमा परिरहन्छन् । कन्ट्रोभर्सी इन्जोय गर्न थाल्नुभएको हो ?
कसैले मलाई नराम्रो भन्नुभयो, अनि मैले फेरि नराम्रो भनें भने नराम्रो ऊर्जा पैदा हुन्छ । कलालाई मैले पेशा बनाएको छु । मान्छेलाई लाग्छ, छुट्टै तरिकाले गीत बनाउनुपर्छ । स्वार्थ नराखिकन बनाउनुपर्छ । तर, बाँच्नु पनि पर्छ नि ! ‘बोलमाया’बाट दुई पैसा नकमाएको भए ‘गलबन्दी’ गर्दिनँ थिएँ । ‘गलबन्दी’बाट दुई पैसा नकमाएको भए म पलायन भइसकेको हुन्थें ।
समाजका कुरा अभिव्यक्तिमार्फत् भनिरहेको हो मैले । त्यस्तो कन्ट्रोभर्सीमात्रै भएको भए त मेरो के हालत हुन्थ्यो होला ? मैले शोहरु गरिरहेकै छु । दर्शकको प्रेम पाएकै छु । नत्र मेरो घरको झ्यालमा ढुंगा हानिन्थ्यो होला । मलाई जहाँ उभियो, त्यही आक्रमण गरिन्थ्यो नि !
नेपाल, भारतको हिन्दू समाजमा विभेदको पृष्ठभूमि धर्म हो । अहिले पनि कुनै वृद्ध आमैबाबैलाई ‘दलितले छोएको तपाईं किन खानुहुन्न’ भनेर सोध्दा ‘पाप लाग्छ, अनिष्ट हुन्छ, बिटुलो हुन्छ’ भन्नुहुन्छ । त्यस्तो हुने कुनै वैज्ञानिक कारण त छैन ! हाम्रो शरीरमा कुनै रेडियसन हुने पनि होइन । एउटै कुरा हो अन्धविश्वास । डर हो ।
मसँग व्यवसायिक आइडिया छ । व्यवसायिक हिसाबले पनि सोच्छु । म एकदमै कमजोर पृष्ठभूमिबाट आएको मान्छे हो । पैसा नहुँदाको वेला ग्यास्ट्रिक पालेर आएको छु । त्यसैले कन्ट्रोभर्सी केलाई भन्ने त ? म सामाजिक मुद्दाहरुलाई पनि कलाको माध्यमबाट छोएर सृजना गर्छु । त्यसमाथि बहस, विमर्श त भइहाल्छ नि !
– तपाईंका गीतहरुमाथि विवाद, विमर्श हुनुको पछाडि तपाईंको भित्री चाहना हो कि त्यस्ता मुद्दाहरु ल्याउँदै गर्दा स्वाभाविक रुपमा विवाद, विमर्श हुने कुरा हुन् ?
मैले भनिरहेको एंगललाई मान्छेले अर्कै एंगलबाट पनि हेर्नसक्छ । मैले एक साइडबाट हेरेको हुन्छु र अर्को साइडबाट पनि देखिन्छ भनेर ख्याल गरिएको हुँदैन । किनभने मेरो क्षमता, कल्पनाशीलता र ज्ञान एउटा साइडमा मात्रै छ । मैले ‘दमाई महाराज’ मार्फत् भगवान बिटुलो हुँदैन भनेर भन्दा ठीकै होला भनेर भनें । अर्कोले अर्को पाटोबाट हेरिदियो । दुईवटा साइड मिसमास भएर कन्ट्रोभर्सी हुने भयो । तर, मैले भनिरहेको कुरा पूर्ण गलत होइन नि ! धेरैथोरै आफ्नो ठाउँमा होला ।
पहिलो कुरा त कलाकार भएकाले मेरो सृजना धेरै जनामा पुगोस् भन्ने हो । धेरै जनामा पुगिरहँदा एउटा यो विषयमा पनि हालिदिउँ न ! कस्तो मीठो भजन रहेछ भनेर हेर्दै जाँदा मान्छेले मुद्दा पनि महसुस गरुन् भने हो । यथार्थमा मुद्दामात्रै उठाएर कला बेच्न गाह्रो छ । कलामात्रै बेचेर मुद्दा उठाउन गाह्रो छ । मैले कला र मुद्दालाई सँगै लैजान कोसिस गरिरहेको छु ।
मेरो सृजनामाथि बौद्धिक लेभलबाट पनि प्रतिक्रियाहरु आउँछन् । किनभने मैले कलामार्फत् ती कुरा भनिरहेको छु । सामान्य टिकटक बनाउनेसम्म पनि मेरो विचार पुगिरहेको हुन्छ । तर, मैले ती कुराहरुलाई मज्जाले इन्जोय गरेको छैन । किनभने हाम्रो समाज इन्जोय गर्ने तहमा पुगिसकेको छैन ।
– तपाईं आफ्ना गीतहरुमा चाहिँ गम्भीर भएर काम गर्नुहुन्छ । तर, मोडलिङ चाहिँ जस्तो गीतमा पनि गर्नुहुन्छ । पैसाकै कारणले हो त ?
म एउटा लामो यात्रा गरेर आएँ । सानो ठाउँबाट धेरै मान्छेसँग जोडिँदै आएँ । म ड्याङ माथिबाट आएको भए धेरैलाई चिन्दिनँ थिएँ । यो यात्रामा धेरै मान्छेसँग चिनजान छ । धेरैको अपेक्षा छ मसित । हिजो यात्रामा कुनै न कुनै रुपमा सहयोग गरेका मान्छे छन् । सहयात्री र सहकर्मी छन् । ठीकै छ, म खेलिदिएर, नाचिदिएर हौसला हुन्छ भने किन नगर्ने भन्ने हो । ग्राउण्ड लेभलका धेरै साथीहरुलाई चिन्छु । ती साथीहरुको आग्रहलाई नकार्न नसकिएर गर्न सकिन्छ ।
अर्को त पैसा पनि हो । मेरो क्षेत्रलाई म मूल्यवान बनाउन चाहन्छु । भोलि बिरामी हुँदा विचरा भन्ने नहोस् । हिजो राजेश हमालदेखि आजको पुस्तासम्म पनि कलाकारितालाई सुरक्षित क्षेत्र मानिँदैन । म त्यसलाई चिरियोस् भन्ने चाहन्छु । म मानसिक रुपमा पनि पैसा कमाउनुपर्छ भन्ने कुरामा सचेत छु । कलाकारितालाई फैलाउनुपर्छ भन्ने कुरामा पनि सचेत छु ।
– तपाईंका सृजनाहरुमा बढी नै विज्ञापन देखिन्छ । कहिलेकाहीं विज्ञापन बढी भयो भन्ने लाग्दैन ?
अहिले अलिकति बढी भयो भन्ने चाहिँ लाग्छ । तर, त्यो आइडिया हो । म पहिला कन्टेन्ट बनाउँछु । कथा बनाउँछु । अनि व्यवसायिक आइडिया लगाउन खोज्छु । एउटा रेस्टुरेन्टमा दुई पात्रले कफी खाँदैछन् भन्ने कथा भएपछि कसैले कफीको स्पोन्सर गर्ला कि भनेर सोच्छु । पहिला नै विज्ञापन उठाएर यहाँ यहाँ देखाउँछु भन्दिनँ । पहिला कन्टेन्ट बनाउँछु, अनि त्यहाँ विज्ञापन खोज्छु ।