अहिले समृद्ध नेपाल सुखी नेपाली होइन, समृद्ध बालुवाटार, दुःखी नेपाली बनेको छ : मोतीलाल दुगड
'अब त अति भयाे, क्षति भयाे सबै उद्योगी जागाैं'
काठमाडौं । नेकपा एमालेका नेता मोतीलाल दुगडले उद्योगी व्यवसायीहरुलाई टर्चर र उद्योग मास्ने काम भइरहेको बताएका छन् ।
बुधबार साँझ होटल रेडिसनमा नेकपा एमालेद्वारा आयोजित ‘वर्तमान आर्थिक अवस्था-समस्या र समाधान छलफल कार्यक्रम’मा बोल्दै दुगडले आफ्ना समस्याहरुको बारेमा कुरा राख्नै नसक्ने कस्तो प्रजातन्त्र ल्याउनु भएको भनी सरकारलाई प्रश्न गरे ।
‘अब त अति भो, क्षति भो अब जागौं आजबाट रणनीति बनाएर अघि बढाऔं, उद्योगी व्यवसायीलाई टर्चर, उद्योग मास्ने काम भइरहेको छ’, उनले भने, ‘हामीले बोल्न सक्दैनौ आफ्ना कुरा राख्न सक्दैनौ कस्तो प्रजातन्त्र ल्याउनुभएको ?’
निजी क्षेत्रलाई सिध्याउने, मनोबल गिराउने काममात्र भएको उनले आरोप लगाए ।
‘काण्डैकाण्ड ल्याएर तर्साउने काम भएको छ । अहिले समृद्ध नेपाल सुखी नेपाली होइन, समृद्ध बालुवाटार, दुःखी नेपाली छ’, उनले भने ।
त्यस्तै सरकारले ल्याएको बजेट अर्थतन्त्रको समस्या समाधान गर्नेगरी नआएको महंगी चर्काएको दुगडको टिप्पणी रहेको छ ।
उद्योगीलाई धम्क्याएर किडन्याप शैलीमा राजश्व उठाउने काम भएको छ र त्यो पनि बाटैमा हराएको उनले आरोप लगाए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्थिति बचाउन पनि आग्रह गरेका छन् । ‘ओलीजी तपाईंले कस्तालाई सुम्पिनुभो सत्ता आउनुहोस्, बचाउनुस्’, दुगडले आग्रह गरे ।
त्यस्तै, दुगडले पछिल्ला घटना क्रमलाई केलाउँदै आफूहरु सबै जेल जान तयार रहेको तर देशलाई बचाउने बताए । ‘हामी सबै जेल जान तयार छौं तर देशलाई बचाउँछौं’, उनले भने ।