एमालेको लुम्बिनी प्रदेश अधिवेशन तयारी तीव्र, यस्तो छ प्रतिनिधि छान्ने विधि – Nepal Press

एमालेको लुम्बिनी प्रदेश अधिवेशन तयारी तीव्र, यस्तो छ प्रतिनिधि छान्ने विधि

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनको तयारी तीव्र पारिएको छ । लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन यही भदौ १६ र १७ गते बुटवल- १० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सभाहलमा हुँदैछ ।

अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरु आउने निश्चित भइसकेको छ । नियमितजसो बसिरहने विभिन्न समितिहरुका बैठकले अधिवेशनको तयारीका कामहरु गरिरहेको प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।

सोही क्रममा बुधबार प्रचार समितिको बैठक बसेको छ । प्रदेश अध्यक्ष कँडेलको उपस्थितिमा बसेको बैठकमा अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बिषयमा छलफल गरिएको प्रदेश प्रचार विभाग प्रमुख डीआर घिमिरेले जानकारी दिए ।

कुल ८२ हजार ३०३ पार्टी सदस्य रहेको एमाले लुम्बिनीमा अधिवेशनका लागि १ हजारभन्दा बढी प्रतिनिधि छनोट हुनेछन् । प्रदेशका १०९ वटै पालिकाबाट भदौ ९ गते एकैपटक प्रतिनिधि छनोट गरिने प्रदेश अध्यक्ष कँडेलले जानकारी दिए ।

रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रेस चौतारीका केन्द्रीय सदस्यहरु, जिल्लाका पदाधिकारीहरु, जिल्ला प्रचार विभागका प्रमुख, उपप्रमुख र सचिवहरुसहितको बैठक बसेर कार्ययोजना बनाइएको घिमिरेले जानकारी दिए ।

प्रदेश कमिटी सदस्य तथा प्रेस चौतारी इन्चार्ज मोहन चापागाईंले प्रादेशिक संरचनामा हुन लागेको पहिलो अधिवेशन भएकाले पनि नमुना ढंगले अधिवेशन पूरा गर्नुपर्ने बताए । उनले अधिवेशन प्रतिनिधिलाई खानाको व्यवस्था गरिए पनि बस्ने व्यवस्था आफैंले गर्नुपर्ने नियम भएको बताए ।

अधिवेशनको प्रचार गर्न विभागले सम्पादकहरुसँग अन्तरक्रिया गर्ने, १४ गते पत्रकार सम्मेलन गरेर तयारीका बारेमा जानकारी दिने, उद्घाटनको दिन पार्टीको वेभसाइटसहित न्युज पोर्टल लुम्बिनी सन्देश डटकम सार्वजनिक गर्ने, वेभसाइटका लागि तयारी गर्ने प्रचार विभाग प्रमुख घिमिरेले जानकारी दिए ।

अधिवेशनमा सहभागी प्रतिनिधि छानिन पार्टी केन्द्रबाट २०८० सालको नवीकरण भई प्रमाणित भएको सदस्यता विवरणका आधारमा छनोट गर्ने, प्रतिनिधि छनोटको आवश्यक योजनासहितको व्यवस्थापन जिल्ला कमिटीले गर्ने, प्रतिनिधि छनोटको इकाई (क्षेत्र) गाउँपालिका/नगरपालिका र उपमहानगरपालिकालाई बनाउने, १०० जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि छनोट गर्ने, १५० भन्दा बढी सदस्य भएको खण्डमा २, २५० सदस्य भएमा ३ जना प्रतिनिधि चयन गर्ने र यसरी ५० भन्दा माथि शेष भएमा १ जना थप गर्दै जाने विधि बनाइएको छ ।

त्यसैगरी दलित समुदायको हकमा ७५ जना पार्टी सदस्य संख्या बराबर १ जना प्रतिनिधि हुने, शेष संख्या ५० प्रतिशतभन्दा धेरै भएमा थप १ जना प्रनितिधि हुने, हरेक ३ मा १ जना महिला अनिवार्य हुनुपर्ने, २ मात्र प्रतिनिधि भएमा महिला एक जना अनिवार्य, ५ प्रतिनिधि भएमा २ महिला, ८ भएमा ३ जना महिला अनिवार्य हुनुपर्नेछ । यसरी जम्मा हुने प्रतिनिधि संख्यामा ३३ प्रतिशत महिला प्रतिनिधि अनिवार्य हुनुपर्ने विधि बनाइएको छ ।

प्रतिनिधि छनोट गर्दा दलित समुदायको संख्या घटाएरमात्र अन्यको गणना हुनेछ । दलित सदस्यले अन्य तथा खुलामा जान चाहेमा प्रतिनिधि छनोटको दिनभन्दा ३ दिनअगावै जिल्ला कार्यालयमा निवेदन दिनुपर्नेछ ।

जनसंगठनको हकमा महासंघ भएकोबाट ५ जना र अन्य जनसंगठनहरुको हकमा ३ जना प्रदेश कमिटीबाट छनोट गर्नुपर्ने, प्रतिनिधि छनोट गर्दा समावेशीलाई ध्यान दिने, अनेमसंघबाहेक अन्य जनसंगठनहरुमा ५ प्रतिनिधि हुनेबाट २ महिला र ३ बाट १ महिला अनिवार्य हुनुपर्ने, जनसंगठनको प्रतिनिधित्व गर्न पार्टी सदस्य भएको र २०८० सालको नवीकरण भई प्रमाणित गरेको सूचीमा नाम भएको हुनुपर्ने नियम बनाइएको छ ।

प्रतिनिधि छनोट गर्दा समग्र समावेशीलाई विशेष ध्यान दिनुपर्ने प्रदेश अध्यक्ष कँडेलले बताए । प्रतिनिधि छनोट भदौ ९ गते सबै पालिका र जनसंगठनहरुको एकै दिन गरिने उनले बताए ।

अधिवेशनका लागि लुम्बिनी प्रदेशको समृद्धि र विकासको अवधारणापत्र तयारीका लागि पार्टी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लीला गिरी संयोजक तथा पार्टी केन्द्रीय सदस्य चेतनारायण आचार्य सदस्य रहेको कमिटी गठन गरिएको छ ।

अधिवेशन सम्पन्न गर्न पार्टीका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल संयोजक तथा प्रदेश कमिटीका पदाधिकारी उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, सचिव लक्ष्मण आचार्य, उपसचिवद्वय लीला राना र दुर्गाप्रसाद थारु एवं जिल्ला कमिटीका अध्यक्षहरु सदस्य रहने गरी १७ सदस्यीय मूल ब्यवस्थापन कमिटी, राजनैतिक, सांगठिनक तथा आर्थिक प्रतिवेदन तयारीका लागि संयोजक राधाकृष्ण कँडेल, सदस्य भोजप्रसाद श्रेष्ठ, लक्ष्मण आचार्य, लीला राना र दुर्गाप्रसाद थारुलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी अतिथि सत्कार संयोजक भोजप्रसाद श्रेष्ठ, स्वास्थ्य समिति संयोजक बाबुराम भट्टराई, सांस्कृतिक उपसमिति संयोजक सिन्धु जलेशा, कार्यालय तथा प्रतिनिधि व्यवस्थापन समिति संयोजक लक्ष्मण आचार्य र सदस्यहरुमा बालकृष्ण पाण्डे, प्रचारप्रसार समिति संयोजक डीआर घिमिरे, सदस्य मोहन चापागाईं, शेरबहादुर केसी, भरत केसी, दिनेश पाण्डे, प्रदीप आचार्य, शोभाखर पन्थी, निरु गौतम, रामप्रसाद आचार्य रहेका छन् ।

मञ्च व्यवस्थापन र स्वंयसेवक परिचालन संयोजकमा पुरन गुरुङ, सहसंयोजक तुलबहादुर अधिकारी, आवास तथा खाद्य व्यवस्थापन समितिको संयोजकमा तेजेन्द्र केसीलाई जिम्मेवारी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर