निर्माण व्यवसायीको आन्दोलनमा एमाले सम्बद्ध उद्योगी व्यवसायीको ऐक्यबद्धता
काठमाडौं । निर्माण व्यवसायी महासंघले गरिरहेको आन्दोलनमा नेकपा एमाले सम्बद्ध उद्योग व्यवसायीले ऐक्यबद्धता जनाएका छन् ।
एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले बिहीबार विज्ञप्ति निकालेर निर्माण व्यवसायीहरुको आन्दोलनमा आफ्नो ऐक्यबद्धता रहेको जनाएको हो ।
सरकारी योजनाहरुको काम सकिएको लामो समयसम्म पनि भुक्तानी नदिएकाे भन्दै देशभरका निर्माण व्यवसायीहरु आन्दोलनमा छन् । निर्माण व्यवसायीहरु १ महिनादेखि आफूले गरेको कामको भुक्तानीको मागसहित आन्दोलनमा उत्रिए पनि सरकारले सुनेको छैन ।
‘कर्जाको चर्को व्याज, देशमा आर्थिक मन्दीको वातावरण र ऋण लिएर सरकारी काममा लगानी गरेका निर्माण व्यवसायीहरुलाई आफूले पाउनुपर्ने भुक्तानी लिनसमेत आन्दोलन गर्नुपर्ने अवस्था आउनु विडम्बनाको कुरा हो । एकातर्क निर्माण व्यवसायीलाई भुक्तानी नदिने र अर्कोतर्फ तिनै व्यवसायीको चेक बाउन्स गराएर कालोसूचीमा राख्ने र थुन्ने जस्ता काम राज्य पक्षबाट भइरहेको छ । यसले हजारौं निर्माण व्यवसायीहरु पेशाबाटै पलायनमात्रै हैन, आत्महत्या गर्नुपर्ने अवस्थामा पुगिसकेका छन्’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘निर्माण व्यवसायीले राखेका विभिन्न ९बुँदे मागका सम्बन्धमा सरकारले लामो समयदेखि कुनै चासो नदेखाएपछि अहिले बाध्य भएर आन्दोलन गर्नुपरेको अवस्था छ । सरकारले अझै पनि व्यवसायीको जायज माग सुन्ने र सम्बोधन गर्ने तत्परता देखाएको छैन । यसबाट थप जटिल अवस्था सृजना भइरहेको यस नेपाल उद्योग तथा व्यवसायी महासंघको ठहर छ ।’
निर्माण व्यवसायीको भुक्तानी रोकिँदा त्यसको नकारात्मक प्रभाव धेरै क्षेत्रमा पर्न गएको छ । निर्माण व्यवसायसँग जोडिएका लाखौं मजदुर वित्तीय क्षेत्र उद्योग तथा अन्य व्यवसायिक क्षेत्र प्रत्यक्ष प्रभावित छ भने अप्रत्यक्ष रुपमा सिंगो अर्थतन्त्र नै अप्ठेरो अवस्थामा पुगिसकेको छ ।
सरकारले आफैंले गरेको सम्झौताविपरीत निर्माण व्यवसायीको करिब १ खर्ब रुपैयाँ भुक्तानी रोकेर कानूनको बर्खिलाप गर्दै आएको महासंघको भनाइ छ ।