प्रदीप गिरीको अस्तु विसर्जनमाथि विवाद, रामपल्टन भन्छन्- भाउजूले खै किन कुरा फेर्नुभयो – Nepal Press

प्रदीप गिरीको अस्तु विसर्जनमाथि विवाद, रामपल्टन भन्छन्- भाउजूले खै किन कुरा फेर्नुभयो

काठमाडौं । कांग्रेसका दिवंगत नेता प्रदीप गिरीको अस्तु विसर्जनलाई लिएर विाद भएको छ । ‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ ले काठमाडौंदेखि काशीसम्म यात्रा गरी अस्तु विसर्जन गर्ने कार्यक्रम राखेकोमा परिवारका सदस्यले विरोध जनाएका छन् ।

स्वर्गीय गिरीकी पत्नी भारती सिलवाल र छोराबुहारीले विज्ञप्ति जारी गरी आफूहरूको स्वीकृतिबिना अस्तू विसर्जन गर्न लागिएको भन्दै आपत्ति जनाएका हुन् । अस्तु विसर्जनका नाममा चन्दा उठाइएको समेत उनीहरूको आरोप छ ।

‘अस्तु उनीहरूले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? जबकि उहाँको अस्तु हामीसँग सुरक्षित छ,’ विज्ञप्तिमा भनिएको छ ।

समितिले अस्तुयात्रा र विसर्जन गर्ने तालीकाबारे हिजो सार्वजनिक जानकारी दिएर मिडियाहरूलाई समेत सूचना पठाएको थियो । समितिका संयोजक रामपल्टन साहका अनुसार यो कार्यक्रमबारे धेरै दिन अगाडि नै परिवारसँग स्वीकृति लिइएको थियो ।

‘जसरी पनि दाइलाई मान्थ्यौं त्यस्तै उहाँ (भारती सिलवाल) लाई पनि भाउजुसरह नै मानिरहेका छौं । २० दिन अगाडि भाउजूसित विस्तृत कुरा भएको हो । उहाँले सहमति पनि दिनुभएको थियो । अहिले आएर किन कुरा फेर्नुभयो मैले बुझ्न सकेको छैन,’ उनले भने ।

सकेसम्म परिवारका सबै सदस्यहरूलाई समावेश गर्ने तयारी समितिले गरेको छ । सबैलाई खबर पनि भइसकेको छ । तर, गिरीका दाजुभाइहरू पनि जाने भएपछि भारती असन्तुष्ट बनेकी हुन् । देवर-जेठाजुहरूसँग उनको त्यति राम्रो सम्बन्ध छैन ।

प्रदीप गिरी जीवित हुँदासम्म भारती उनको गर्लफ्रेन्डका रूपमा मात्र चिनिएकी थिइन् । उनीहरू सँगै पनि बस्दैनथे । गिरीको निधनपछि मात्रै भारतीले आफूले उनकी पत्नीको रूपमा चिनाएकी हुन् । उनीहरूबीच परम्परागत विवाह नभए पनि कानूनी विवाह भएको बताइएको छ ।

साहले अझै पनि आफूहरू सबैलाई लिएर जाने पक्षमा रहेको बताए ।

‘मलाई जहाँसम्म आशा छ, सन्तोष गिरी (प्रदीप गिरीका धर्मपुत्र) हामीसँग जानुहुन्छ । उहाँलाई मनाउन सबैले कोशिष गरिरहनुभएको छ,’ उनले भने ।

रामपल्टन प्रदीप गिरीका लामो समयदेखिका निकट सहयोगी हुन् । गिरीको दाहसंस्कारपछि उनले नै पाँचवटा अस्तु निकालेका थिए । अर्का सहयोगी कञ्चन झाले अस्तु राख्ने भाँडो किनेर ल्याएका थिए । पाँचमध्ये एउटा अस्तु रामपल्टनले गिरीको निधन भएको आठौं दिनमा भारतको पटनास्थित सिमरिया घाटमा लगेर विसर्जन गरे ।

उनी भन्छन्, ‘अहिले उहाँहरू परिवारले मात्रै गर्न पाउँछन् भनिरहनुभएको छ, तर त्यसबेला मैले आफ्नै खर्चमा अस्तु विसर्जन गरेको हुँ ।’

साहका अनुसार पाँचमध्ये तीनवटा अस्तु भारतीको घरमै लगेर झुण्ड्याइदिएका थिए भने एउटा अस्तु उनीहरूले पशुपति क्षेत्रमा सुरक्षित राखेका छन् । अहिले बनारसमा त्यही अस्तु विसर्जन गर्न लागिएको हो ।

‘तीनवटा अस्तु बनारस, गंगा र गयामा बिसर्जन गर्ने सल्लाह भएको थियो । भाउजू पनि यसमा सहमत हुनुहुन्थ्यो,’ उनले भने, ‘तर, पछि त्यति चासो दिनुभएन । त्यसैले हामी आफैंले कार्यक्रम तय गरेर जानकारी गराएका हौं ।’

उनले अस्तु विसर्जनको चार दिने यात्राका लागि हुने खर्च अनुयायीहरूबाटै जुटेको पनि बताए ।

‘हामीले कसैसँग चन्दा मागेका छैनौं, तर विभिन्न पेशा व्यवसायमा रहेका प्रदीप दाइका अनुयायीहरुले स्वेच्छिकरूपमा सहयोग गर्नुभएको छ,’ साहले भने ।

प्रकाश गिरीका पाँच दाजुभाइ र तीन दिदीबहिनी छन् । प्रदीप गिरी माइला हुन् । दाजुभाइ र दिदीबहिनी सबैका परिवारलाई यात्रामा समावेश गर्ने तयारी छ । ३५ जनाको टीम काठमाडौंका पशुपतिनाथबाट भोलि बिहान १० बजे प्रस्थान गर्ने छ । अपरान्ह ४ बजे हेटौंडा पुग्ने छ र त्यहाँ सानो कार्यक्रम राखिएको छ । ६ बजे वीरगञ्ज प्रस्थान हुने छ ।

वीरगञ्जमा पर्सि बिहान विभिन्न कार्यक्रम राखिएको छ । १० बजे वीरगञ्जबाट काशीका लागि प्रस्थान गरिने छ । राति बनारसमा बास बस्ने कार्यक्रम छ । भदौ ४ गते बनारसमा धार्मिक विधिअनुसार गंगा नदीमा गिरीको अस्तु विसर्जन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *