गण्डकीका अधैर्य सांसद : हम्मेसि सदन आउँदैनन्, आएका बस्दैनन् – Nepal Press

गण्डकीका अधैर्य सांसद : हम्मेसि सदन आउँदैनन्, आएका बस्दैनन्

पोखरा । गण्डकी प्रदेश सभाको बिहीबारको बैठकमा उपस्थित थिए, एमाले सांसद भीमबहादुर कार्की । बैठकमा बाढी, पहिरोले पुर्‍याएको क्षतिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल र मुख्यमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय थियो ।

मुख्यमन्त्री पाण्डेले जवाफ दिने समयसम्म सांसद कार्की प्रदेश सभाबाट निस्किइसकेका थिए । मुख्यमन्त्रीले सम्बोधन गर्ने बेलासम्म प्रदेश सभामा आधाभन्दा धेरै सांसद उपस्थित थिएनन् । सांसद कार्कीले केही दिनअघि पत्रकार सम्मेलन गरी आफूले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । त्यस बेला उनले संसद्का हरेक भूमिकामा आफू सहभागी भएको र कुनै दिन पनि अनुपस्थित नभएको दाबी गरेका थिए ।

बिहीबारको बैठक चलिरहेका बेला अति नै जरुरी काम परेर आफू प्रदेश सभाबाट निस्किएको उनले सुनाए । ‘म अहिलेसम्म कुनै पनि बैठकमा अनुपस्थित भएको छैन । जहाँसम्म बिहीबारको बैठकको कुरा छ । त्यसमा जानै पर्ने पूर्वनिर्धारित कार्यक्रम परेकाले बैठक सकिनुभन्दा केही समयअघि मात्रै निस्किएको हुँ,’ उनले नेपाल प्रेससँग भने ।

मुख्यमन्त्रीले सम्बोधनको सुरुआतमै सांसदहरूले प्रदेश सभामा बस्ने धैर्य नराखेको गुनासो गरेका थिए । ‘हिजै जवाफ दिएका कारण, यो बारेमा मैले जवाफ दिइसकेकाले हो कि अरू नै कारणले हो, धेरैले सुन्ने धैर्य पनि नराखेको देखेँ । प्रतिपक्षमा पनि कम देख्छु, सत्ता पक्षमा पनि कम देख्छु । साथीहरू, माननीयज्यूहरू,’ मुख्यमन्त्री पाण्डेले सम्बोधनको सुरुआतमै भनेका थिए ।

प्रदेशसभा सचिवालयका अनुसार बिहीबारको बैठकमा १४ जना अनुपस्थित थिए । यीमध्ये १ जना मात्रै जानकारी दिएर अनुपस्थित भएका थिए । बाँकी १३ जना विना जानकारी नै अनुपस्थित भएका हुन् । बैठकमा सहभागी भएकामध्ये पनि धेरै जना बैठकको पूरा अवधिसम्म बसेनन् । ४६ जना सहभागी भएको बैठकमा मुख्यमन्त्रीले सम्बोधन गर्ने क्रममा २६ जना मात्रै प्रदेशसभा हलमा थिए ।

प्रतिपक्ष दलहरू नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट ९ जना र सत्तापक्षबाट १३ सांसद मात्र प्रदेश सभा हलमा थिए । प्रदेश सभा बैठक बीचमै छोडेर जाने सांसदलाई दलको हिसाबले सचेत गराइएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले बताए । ‘कहिलेकाहीँ लामो बैठक हुँदा बाहिर जानुपर्ने पनि हुन्छ । आलोपालो गर्ने गरेका छौँ । तर, प्रदेश सभा ब्रेक हुँदैन । बीचमा बैठक छाडेर जाने माननीयहरूलाई सचेत बनाइएको हुन्छ,’ उनले भने, ‘विषय हेरेर बैठकमा अनुपस्थित हुने र छोडेर जाने छुट सांसदलाई हुँदैन । बिरामी भएको परिस्थितिबाहेक माननीयहरू बस्नुपर्छ ।’

एक त प्रदेशसभा बैठक नै कम बस्ने गरेको छ । बसेको बैठकमा पनि धेरै सांसद सहभागी हुँदैनन् र भएका सांसद पनि प्रदेश सभाको पूरा बैठकसम्म बस्ने धैर्य राख्दैनन् । असार २२ गतेको प्रदेश सभा बैठकबाट बजेट पास भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो । त्यसपछि साउन ३० गते बैठक बस्यो । सो बैठकमा ९ सांसद अनुपस्थित थिए । साउन ३१ गतेको बैठकमा ८ सांसद बैठकमा आएनन् ।

सांसद आफैँ जिम्मेवारीमा सचेत हुनुपर्ने सांसद फणीन्द्र देवकोटा बताउँछन् । ‘सदन त एक चौथाइ सदस्य भए पनि चल्छ । तर, त्यो भन्दैमा सांसदले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन, जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘संसद् अवधिभर यहीँ रहेर विषयवस्तु बुझ्नुपर्छ । अरू कार्यक्रम भए पनि संसद्लाई बढी महत्त्व दिएर बस्नुपर्छ ।’

प्रदेश सभाको गरिमा बढाउन सबै उपस्थित हुन जरुरी गरेको कांग्रेस गण्डकी संसदीय दलका उपनेता विन्दुकुमार थापाले सुनाए । ‘जनताका प्रतिनिधि भएर प्रदेश सभामा उपस्थित भएका छौँ । आँखा पाकेकाले र बाढी पहिरोले केही सांसद उपस्थित हुन गाह्रो भएको छ । कम सहभागी हुँदा खल्लो बनाएको छ,’ उनले भने, ‘संसद्को गरिमा बढाउन सबै उपस्थित हुनु जरुरी हुन्छ । कांग्रेसबाट सबै सांसदलाई समयमै उपस्थित हुन ह्विप जारी गरेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *