प्रदीप गिरीको स्मृति सभालगत्तै धनराजले किन कोट्याए ४९ वर्षअघिको हत्याकाण्ड र सुराकी प्रसंग ?
काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले स्वर्गीय प्रदीप गिरीलाई बीपी कोइरालापछिको चिन्तकको मान्यता दिए लगत्तै उपसभापति तथा कानून मन्त्री धनराज गुरुङको व्यंग्यात्मक ट्विट आएपछि कांग्रेस पङ्क्तिमा खैलाबैला मच्चिएको छ ।
सोमवार केन्द्रीय कार्यालय सानेपामा गिरीको स्मृतिसभालगत्तै गुरुङले गरेको ट्विटमा भनिएको छ ‘सशस्त्र क्रान्तिका लागि खगेन्द्र दाहाल र गोकर्ण कार्की बनारसबाट आउँदा सिरानी भित्र लुकाएर ल्याएको ग्रिनेट सहित सुराकीका कारण थानकोटमा पक्राउ परेपछि २०३१ साल असोज १३ गते खगेन्द्र र गोकर्णलाई जेल चलानको नाममा मध्यरातमा नख्खु ओरालोमा लगेर गोली हानेर मारियो। सुराकी को ?’
प्रदीप गिरीको स्मृति कार्यक्रममा समेत नदेखिएका गुरुङले उक्त हत्याकाण्डका सुराकी को हुन् ? भनेर प्रश्न उठाए लगत्तै कांग्रेस पङ्क्तिमा ४९ वर्षअघिको इतिहास खोतल्न थालिएको छ ।
गुरुङले उक्त काण्डको सुराकी भनेर स्वर्गीय प्रदीप गिरीलाई इंगित गरेको कांग्रेस नेताहरूले बताएका छन् । कांग्रेस वृत्तमा गिरी र नरबहादुर कार्कीलाई उक्त घटनाका सुराकी मान्ने कतिपय जमात छन्,त्यसमा उपसभापति तथा मन्त्री गुरुङ समेत मिसिएका हुन् ।
गुरुङले गरेको दाबीमा दुई वटा तथ्य गलत रहेको ओखलढुंगा सशस्त्र विद्रोहमा संलग्न एक नेताले बताए । उनका अनुसार बनारसबाट हतियार बोकेर आएका खगेन्द्र दाहाल होइन ठगी दाहाल, लीला दाहाल र गोकर्ण कार्की थिए ।
यो पनि पढ्नुहाेस्- प्रदीप गिरी बीपीपछिकै ठूलो समाजवादी चिन्तकः सभापति देउवा (भिडिओ)
दोस्रो चाहिँ उनीहरू थानकोटबाट होइन मकवानपुरको भैँसेबाट समातिएका थिए । उनीहरू निर्वासनबाट पार्टीको सम्पर्कमा उता कोइराला परिवारले पठाएको सामग्री बोकेर आएका थिए ।
उक्त हत्याकाण्डबारे छापिएका कतिपय लेख रचना र किताबमा उल्लेख भए अनुसार ठगी र गोकर्णलाई झोलाभित्र के सामान छ भन्ने थाहा थिएन । उनीहरू पार्टी सम्पर्कमा जाने र सामान बुझाउने मात्र योजनामा थिए ।
उनीहरू आउनुअघि शैलजा आचार्यको भारतस्थित कोठामा तकियाभित्र सिलाएर सामान राखिएको थियो । सामान राख्दाका साक्षी नोना कोइराला, शैलजा आचार्य र प्रदीप गिरी मात्र थिए भन्ने कुरा कतिपय लेखहरूमा भेटिएको छ ।
भैँसेमा उनीहरू समातिएपछि २०३१ साल असोज १३ गते ठगी, लीला, खगेन्द्र र गोकर्णलाई नख्खुमा जेल सार्ने बहानामा हत्या गरिएको थियो । उक्त स्थानमा अहिले पनि उनीहरूको शालिक छ । खगेन्द्रलाई लीला र ठगी पक्राउपछि काठमाडौंमा समातिएको थियो ।
लीलाका छोरा बालकृष्ण दाहाल गिरिजाप्रसाद कोइराला बाँचुन्जेल उनको स्वकीय सचिव थिए । दाहाल हाल कांग्रेसको ओखलढुंगाको राजनीतिमा सक्रिय छन् ।
सो घटनापछि गिरी कोइराला परिवारबाट टाढिएको बताइन्छ भने शैलजासँगको सम्बन्ध पनि सोही घटनापछि टुटेको कतिपयको दाबी छ । सो घटनापछि गिरी वैरागिएर दक्षिण भारततिर गएको रेवती रमण सुवेदीले एक पटक लेखेका थिए ।
मन्त्री गुरुङले भनेको खगेन्द्र दाहाल भने अन्यत्रै मारिएका थिए भने पेशल दाहाल ओखलढुंगामा मारिएका थिए । कांग्रेसले ओखलढुंगा विद्रोह भनेर गरेको सशस्त्र क्रान्तिमा ठूलो क्षति भएको थियो ।
स्वर्गीय गिरीको स्मृति दिवसकै दिन पारेर उपसभापति तथा कानूनमन्त्री गुरुङले अप्रमाणित कुरालाई किन उठाए ? कांग्रेस वृत्तमा यो प्रश्न पनि उठेको छ ।
धनराजको ट्विटमा पसेर कांग्रेस नेता तथा विश्लेषक लोकेश ढकालले लेखेका छन्- पार्टी पङ्क्तिमा त त्यसवेला बनारसतिरै वस्ने, यो योजना बनाउँदा बैठक मै भएका कांग्रेसीले सुराकी गऱ्या भन्ने सुन्दै आएको हो । यहाँ भन्न भएन । यो कुरा त धनराजजीलाई पनि पक्कै थाह होला नै ।
प्रदिप गिरीलाई खुमबहादुरको थप्पड
कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिव रहेका बालकृष्ण दाहालद्वारा सम्पादित तथा लिखित पुस्तक ‘ओखलढुंगाका पाँच अमर शहिद र तिनका श्रृजना’ मा समेत गिरीलाई चार कांग्रेसका कार्यकर्ता बमसहित गिरफ्तार भएपछि सुराकीको आशंकामा पार्टीबाट निकालिएको कुरा उल्लेख छ । २०३१ साल असोज १३ गते नख्खु कारागारबाट निकालेर मारिएका चारसहित लिलानाथ, ठगी, गोकर्ण र खगेन्द्र थिए । बालकृष्ण दाहाल लीलानाथका पुत्र हुन् ।
गिरीले सुराकी दिएको आरोपमा त्यसबेला बीपीसँगै बनारसमा बसेका युवा खुमबहादुर खड्काले गिरीलाई ‘थप्पड’ लगाएका थिए । आफूलाई सुराकीको आरोप लगाएको र कुटपिट समेत भएको भन्दै नेता गिरी बनारसबाट नयाँ दिल्ली गएका थिए । प्रदीप गिरी बनारसबाट नयाँ दिल्ली सरेको र चारजना कांग्रेस बमसहित गिरफ्तारमा परेपछि तुलसी गिरी नेपालको प्रधानमन्त्री बनेका थिए ।
‘ धेरै घटनाक्रम र परिवेशले सो घटना सुराकीकै आधारमा भएको भनेर मेरो पुस्तकमा उल्लेख छ’, पुस्तकका लेखक बालकृष्ण दाहालले बताएका छन् ।
प्राय मान्छे जीवनभर आलिचित हुन्छ, मरे पछी प्रसम्सित हुन्छ तर गिरी जीवन भर प्रसम्सित भए तर मृत्यु पछी आलोचित !! मान्छे आफ्नु कुनै एउटा गम्भिर गल्ती या कम्जोरी लाई छिपाउन, ओझेलमा पार्न अत्ती राम्रो देखिने प्रयास गर्छ !! सत्य सत्य नै हुन्छ, संसार छलिएको त्यो सत्य (ऊ स्वयम्लाई त थाहा हुन्छ), एकदिन बहिरिन्छ ;; बुझ्नेले बुझ्छन, नबुझने लाई केई न केइ !!