विपक्षको होहल्ला र नाराबाजीबीच कोशीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा (भिडिओ)
संविधानको ठाडो उल्लंघन गर्दै प्रदेशसभाको अध्यक्षता गरेका मन्सुरीले बराबरी संख्या नभए पनि दिए निर्णायक मत
विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ । सभाको अध्यक्षता गरिरहेका सांसदले मतदान गरेपछि विपक्षीको नाराबाजी र होहल्लाबीच थापाले विश्वासको मत पाएको घोषणा गरिएको हो ।
कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा ७७ जनामात्र उपस्थित भएका थिए । उपस्थित सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत प्राप्त भएको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ ।
कोशी प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो ।
उपसभामुख सिर्जना दनुवारसहित केही ज्येष्ठ सदस्यहरू अनुपस्थित रहने भएपछि कांग्रेसका इस्राइल मन्सुरीले सभाको अध्यक्षता गरेका थिए । प्रदेशसभामा सत्तागठबन्धनको ४७ सीट छ । तर, अन्सारीले बैठकको अध्यक्षता गरेपछि ४६ मतमात्र थियो । विश्वासको मत पाउनका लागि ४७ मत आवश्यक पर्छ ।
संविधानको यति प्रष्ट व्यवस्था हुँदा हुँदै पनि मन्सुरीले विश्वासको मत दिएमा संविधानको उल्लंघनमात्र नभएर दण्डनीय अपराध हुने अधिवक्ता समेत रहेका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
सत्ता गठबन्धनले पहिलोपटक गरेको संविधान उल्लंघनलाई अदालतले सच्याएकोमा फेरि सोही बाटोमा गएको आरोप एमालेको छ ।
विश्वासको मत लिने प्रयोजनमा भने उपस्थित सदस्यको नभएर तत्काल कायम रहेको प्रदेश सभा सदस्यको संख्याको बहुमत आवश्यक पर्ने कुरा संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख छ । त्यसैले गठबन्धनले सभामा उपस्थितको बहुमत देखाएर विश्वासको मतको बहुमत जुटाउने भने पनि संविधानको धारा १८८ ले नदिने र तत्काल कायम रहेको संख्याकै बहुमत आवश्यक पर्ने भनेको छ ।