पहिलोपटक स्क्रिन सेयर गरेका केकी र सलोन, फिल्म रिलिजअघि के सोच्दैछन् ? (भिडिओ)
काठमाडौं । अभिनेता सलोन बस्नेत र केकी अधिकारी अहिले आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘जय हो’को प्रचारमा व्यस्त छन् । टेक पौरखी राईको निर्देशनमा बनेको यस फिल्मको निर्माता सोभित बस्नेत हुन् । दुई दर्जन बढी फिल्महरुको निर्देशन गरिसकेका सोभित यसपटक भने निर्माताको हैसियतमा मात्रै फिल्ममा जोडिएका छन् ।
फिल्मको प्रचारमा व्यस्त केकी अहिले एकखाले दबाब महसुस पनि गरिरहेको बताउँछिन् । ३३औं फिल्ममा काम गरिरहेकी केकीलाई फिल्म प्रदर्शन हुनु अघिसम्मको समय जति दबाबमा बसे पनि प्रदर्शन भएपछि भने केही गर्न नसकिने लाग्छ ।
केकी भन्छिन्, ‘फिल्ममा धेरै मान्छेको सपनाको लगानी भएको हुन्छ । मैले काम गरेको हरेक फिल्ममा मैले मेरो गोल्डेन समय दिएकी हुन्छु । कहिलेकाहीं सोच्छु, यदि यो नै मेरो अन्तिम फिल्म भयो भने ? यदि मैले योबाहेक अरु फिल्ममा काम गर्नै नसक्ने अवस्था बन्यो भने ? फिल्म रिलिजको अन्तिम समयसम्म यस्ता पलहरुबाट गुज्रिएकी हुन्छु ।’
दुईतीन दिनसम्म यस्तो तनाव र दबाब महसुस भए पनि त्यसपछि मुभअन हुन सकिएन भने अर्को फिल्ममा मानसिक र शारीरिक रुपमा सय प्रतिशत मेहनत गर्न नसकिने केकीको अनुभूति छ । तर, एकदमै धेरै मेहनत गर्दा पनि दर्शकले फिल्म बुझेनन् भने त्यसलाई आफूहरुको असफलता हुने बताउँछिन् केकी ।
फिल्मको प्रमोसनमा डेढ महिनादेखि व्यस्त सलोनलाई लाग्छ, फिल्मको प्रमोसनभन्दा ठूलो कुरा चाहिँ फिल्म बलियो छ कि छैन भन्ने नै हो । सलोन भन्छन्, ‘तर कति फिल्महरु प्रचारप्रसारकै कमीले गर्दा दर्शकहरुले थाहा पाउनु भएको हुँदैन । प्रचारप्रसारले उहाँहरुसम्म जानकारी पुर्याउन चाहिँ सहयोग गर्छ । अन्तिममा भने फिल्म नै बलियो हुनुपर्यो ।’
कुनै पनि फिल्म गर्दैगर्दा निर्माताको लगानी डुब्ला कि भन्ने भयले पनि सताउने गरेको बताउँछन् सलोन । आफ्नै घरमा लगानी डुब्दा र उक्सिँदाको अवस्था देखेको बताउँदै उनी भन्छन्, ‘फिल्म असफल हुँदा निर्मातामा निराशा देखिन्छ । त्यो एकदमै नराम्रो लाग्छ ।’
केकीलाई लाग्छ, कुनै कुनै फिल्म निकै पछि फिल्मका विद्यार्थीहरुका लागि काम लाग्नसक्छ । कुनै कुनै फिल्म समयभन्दा अगाडि बढेर पनि बनाइएका हुन्छन् । समय बित्दै जाँदा त्यसलाई सफल फिल्म मानिन्छ । केकी भन्छिन्, ‘तर, तत्कालको समयमा हलहरुमा दर्शकलाई फिल्म बुझाउन नसक्नु या दर्शकहरुले मन नपराउनु पनि असफल हुनु नै हो आखिरमा ।’
तर, दर्शकले कस्तो फिल्म रुचाउने भन्ने कुरा चाहिँ मानवीय स्वभावसँग जोडिने केकीको निर्क्योल छ । भन्छिन्, ‘फिल्म मेकिङको मजा नै यो हो कि दर्शकले जस्तो कथा पनि मन पराइदिन सक्नुहुन्छ । कहिलेकाहीं एकदमै अपेक्षा गरेको चिजमा विपरीत नतिजा आउन सक्छ । कहिलकाहीं नसोचेको नतिजाले उत्साह थपिदिन्छ । मुख्य कुरा त दर्शकको मनमा छुनुपर्यो । यही खालको कन्टेन्ट चल्छ भन्ने हुँदैन । फिल्म मेकिङको सौन्दर्य नै यही हो ।’
तर, फिल्म टीमवर्क भएकाले सबैको उत्तिकै लगानी र योगदान चाहिने केकीको तर्क छ । यसो हुँदाहुँदै पनि आफूलाई पात्र वा चरित्र निर्वाह गर्दैगर्दा प्रस्तुतिमार्फत् दर्शकलाई कहाँ झूट बोलें भनेर ठ्याक्कै थाहा हुने बताउँछिन् ।
उनी भन्छिन्, ‘कहाँ दर्शकलाई झूट बोलें, कहाँ दर्शकलाई फिल हुने गरी काम गरें भनेर ठ्याक्कै थाहा हुन्छ । जहाँ राम्रो गरेको छु, त्यसले फेरि अर्कै मजा दिन्छ । एउटा कलाकारले दुई घण्टाको चलचित्रमा उस्तै मोमेन्ट फिल हुने गरी सायदै काम गर्न सक्ला ! त्यसैले कलाकारलाई सोचे जस्तो बेस्ट दिन सकिनँ, सोचे जस्तो उतार्न सकिनँ भनेर जहिल्यै लाग्छ । व्यवहारिक जीवनमा पनि हामी यस्तै खाले अनुभूति लिएर बाँचिरहेका हुन्छौं नि !’
सलोनलाई लाग्छ, राम्रो फिल्म बनाउने कुनै सूत्र हुँदैन । कसैले सोचेको कुनै संसारलाई फिल्म देखाउन कोसिस गर्ने हो । त्यो संसार सबैलाई मनपर्छ भन्ने पनि हुँदैन । सबै फिल्म सफल हुन्छन् भन्ने पनि हुँदैन । तर, लगानी नडुबाउन निर्माता स्वयं पनि स्मार्ट हुनुपर्ने सलोनको बुझाइ छ ।
उनी भन्छन्, ‘कति निर्माताहरु होमवर्क नगरी आउनुभएको मैले देखेको छु । कति सिनेमा त लगानी नै धेरै पनि डुबेको देखेको छु । मुख्य कुरा त होमवर्कको कमी हो । निर्माताहरुले अलिकति स्मार्टली काम गर्न आवश्यक देख्छु ।’
०००
केकी र सलोन दुवैले केही समयअघि विवाह गरे । केकीले सलोनले भन्दा अलि अगाडि गरिन् । रोहित तिवारीसँग विवाह गरेपछि केकीका दुई फिल्म प्रदर्शन भइसके, ‘झिंगे दाउ’ र ‘प्रसाद-२’ । झिंगे दाउ त बक्स अफिसमा सफल पनि भयो । केकीको वैवाहिक जीवनपछि तेस्रो फिल्म हो, ‘जय हो’ ।
हामीले केकीलाई सोध्यौं, विवाह गरिसकेपछि पेशागत जीवनमा आइपर्ने सहजता र असहजतालाई कसरी महसुस गर्नुहुन्छ ? वैवाहिक जीवनले पेशागत जीवनमा त्यस्तो असहजता नल्याएको केकीको अनुभव छ ।
उनी भन्छिन्, ‘विवाह गर्नुअघि पनि मेरो परिवार थियो । विवाहपछि नयाँ परिवारमात्र बनेको हो । यस क्षेत्रमा छिर्दै गर्दा बुवालाई कन्भिन्स गर्न अलि एफोर्ट लागेको थियो । तर, यो क्षेत्र मेरा लागि हबी नभएर करियर हो भन्ने उहाँले बुझ्नुभएपछि सपोर्ट गर्नुभयो । अहिलेको नयाँ परिवारलाई यस क्षेत्रबारे त्यति ज्ञान छैन । तर, मेरो सपनालाई सम्मान गर्ने खालको परिवार पाएकी छु । साथै बुहारी र श्रीमती भएका कारण भूमिका थपिएको छ । जिम्मेवारी पनि छन् । तर, जन्मघरमा छोरी, दिदी हुँदा पनि जिम्मेवारी थियो । अहिले भूमिकाको प्रकृतिमात्रै फेरिएको हो । त्यस्तो असहज महसुस भएको छैन ।’
विवाहपछि आफू धेरै कुरामा बदलिएको र जिम्मेवारी पनि थपिएको सलोनको बुझाइ छ । उनी भन्छन्, ‘विवाहअघि कति चिजहरुमा म इन्भल्भ नै हुँदिन थिएँ । कति धेरै कुराहरु थाहै थिएन । विवाहपछि चाहिँ परिवारमा अलि बढी एफोर्ट होस् । घर चल्ने चिजहरुमा ज्ञान लिउँ भन्ने हुँदोरहेछ । यी सबै कुरा कसैले गर भनेर भन्दा पनि आफैं स्वाभाविक रुपमा हुने रहेछ ।’
विवाहले आफूलाई धेरै बदलेको सलोन स्वीकार गर्छन् । विवाहपछि आफू धेरै परिवर्तन हुँदै गएको र त्यो परिवर्तन औधी मन परिरहेको बताउँछन् । उनी भन्छन्, ‘विवाहको अघिल्लो दिनसम्म पनि मलाई चामल कति रुपैयाँ किलो पर्छ भनेर थाहा थिएन । अहिले त घरमा चाहिने अति आवश्यक धेरै कुराहरु थाहा भइसक्यो । विवाह हुनेबित्तिकै म्याच्युर्ड भएर गइने रहेछ । अहिले त्यो परिवर्तन मलाई मन पनि परिरहेको छ । त्यसले छुट्टै खुशी दिँदो रहेछ ।’
०००
‘जय हो’मा केकी र सलोनले एक अर्कासँग काम गर्दा एकदमै इन्जोय गरेको बताउन कतै छुटाएनन् । एकअर्काले पहिलोपटक सँगै स्क्रिन शेयर गरेकाले पनि एकअर्काको अभिनयलाई नजिकबाट चिन्न सकेको उनीहरुको मत छ ।
तर, भनिन्छ, फिल्म सुरुमा कथा सुन्दा जस्तो हुन्छ, फ्लोरमा गएपछि, फाइनल एडिट भएपछि अर्कै हुन्छ । ५० प्रतिशतमात्रै कथाअनुसार काम गर्न सके फिल्म राम्रो बन्छ भनेर पनि भनिन्छ । सलोन भने आफूले खेलेका फिल्महरु हेर्न नसक्ने बताउँछन् ।
उनी भन्छन्, ‘के गर्या यार भन्ने हुन्छ । व्यक्तिगत रुपमा मैले मेरो कुनै पनि सिनेमा पूरा हेरेको छैन । कतै न कतै छाडिदिएको छु । ‘जय हो’मा चाहिँ स्क्रिप्टमा केही चिजहरु थिए, फ्लोरमा जाँदा केही चिज फरक भइदिएको छ । तर, अझै बेटर भएको छ ।’