पोखराको फिर्केखोलामाथि १४७ संरचना, भत्काउला त महानगरले ?
पोखरा । पोखरा महानगरपालिका ८, सिमलचौरमा लिटिल स्टेप माध्यमिक विद्यालयको ५ तले भवन बनेको छ । जुन भवन अँधेरीकुनादेखि सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिने फिर्के खोलाको क्षेत्रभित्रै पर्छ ।
पोखराकै बगालेटोलमा रहेको बगालेटोल सामुदायिक भवन पनि खोलाकै क्षेत्रमा पर्छ । यी मात्रै होइनन्, अँधेरीकुनादेखि पोखरा सहरका विभिन्न क्षेत्र हुँदै फेवातालमा पुगेर मिसिने फिर्केखोलाको क्षेत्रमा थुप्रै भौतिक संरचना भेटिएका छन् । फिर्केखोला अतिक्रमण गरेर खोलाको क्षेत्रभित्र १ सय ४७ वटा संरचना निर्माण भएका छन् । खोला अतिक्रमण गर्नेमा व्यक्तिगत भवनदेखि सामुदायिक भवन, विद्यालयका भवनसमेत छन् ।
महानगरले गठन गरेको सर्वेक्षक वासुदेव पौडेल नेतृत्व टोलीले गरेको फिर्के सीमांकनबाट १ सय ४७ वटा संरचना खोला मिचेर निर्माण भएको भेटिएको हो । पौडेल नेतृत्वको टोलीले १ महिना लगाएर फिर्के खोलाको सीमांकन गरेको थियो ।
सीमांकनका क्रममा फिर्केखोला अतिक्रमण गरेर व्यक्तिगतदेखि सामाजिक भवन, विद्यालयका भवन समेत बनाइएको भेटिएको सीमांकन टोलीका संयोजक पौडेलले जानकारी दिए । २५ वटा सामाजिक भवन र ३५ वटा पक्की घर व्यक्तिगत भवनले फिर्केखोला मिचेको उनले सुनाए । ८७ वटा कच्ची घर पनि फिर्केखोला मिचेरै निर्माण भएको उनले जानकारी दिए ।
‘करिब १ महिना लगाएर फिर्केखोलाको सीमांकन सक्यौँ । सीमांकनका क्रममा १ सय ४७ वटा संरचना खोला मिचेर निर्माण गरेको भेटियो । १ हप्ताभित्र महानगरलाई प्रतिवेदन बुझाउँछौँ,’ उनले भने ।
सीमांकन गर्न ५ सय ८४ पक्की पिलर गाडिएको छ । खोलाको दायाँबायाँ २ सय ४० जति चिह्न लगाइएको छ । सर्वेक्षक पौडेल नेतृत्वको सर्वेक्षण टोलीले साउन ३ गतेबाट खोलाको सीमांकन सुरु गरेको थियो ।
मापदण्ड छुटाउँदा अझ धेरै संरचना मापदण्ड बाहिर हुने सर्वेक्षक पौडेलले दाबी गरे । उनले भने, ‘केही संरचना पूरै खोलाको बहाव क्षेत्रमै भेटिए, केही भने आंशिक रूपले खोला क्षेत्रमा परेका छन् । बहाव क्षेत्रपछि मापदण्ड छुटाउँदा अझ धेरै संरचना हटाउनुपर्ने देखिन्छ ।’
महानगरको वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर १७ र ६ को संगम गौरीघाटमा पुगेर फिर्केखोला फेवातालमा मिसिन्छ । ८ किलोमिटर लम्बाइ रहेको फिर्केको बढीमा १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । मानवीय अतिक्रमणबाट खुम्चिएर फिर्केखोला साँघुरो बनेको छ । चर्पीदेखि ढलसम्म मिसिएर डम्पिङ साइट बनेको छ ।
सीमांकनका क्रममा पोखराका मेयर धनराज आचार्य अनुगमनका लागि पुगेका थिए । उनीले अनुगमनका क्रममा सीमांकनका क्रममा खोलाको क्षेत्रभित्र पर्ने संरचना हटाउने दाबी गरेका थिए । ‘फिर्केखोला माथि निर्माण गरिएका अतिक्रमित संरचनाहरू हटाउनका लागि दोस्रो चरणमा ३५ दिने सूचना जारी गरिन्छ । खोलाको क्षेत्रभित्र बनेका जुनसुकै संरचना पनि हटाइन्छ,’ मेयर आचार्यले भनेका थिए ।
त्यसअघि पनि खोलाको पटक पटक सीमांकन र नक्सांकन भएका छन् । प्रतिवेदन पनि बनेका छन् । तर, ती प्रतिवेदन कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ ।
२०६९ मा गुरुदत्त बरालको संयोजकत्वमा फिर्केखोलाको सीमांकन गरिएको थियो । बराल तत्कालीन समयमा क्षेत्रीय प्रसारणमा कार्यरत हुँदा सीमांकन समितिको संयोजक भएर सीमांकन गरेका थिए । बराल हाल जिल्ला प्रशासक कार्यालय कास्की सहायक प्रमुख जिल्ला अधिकारी छन् । बराल नेतृत्वको समितिले २०३२ सालको नापी नक्साका आधारमा खोलाको सीमांकन प्रतिवेदन तयार पारेको थियो ।
पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीको पालामा पनि महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा फिर्के खोलाको सीमांकन गरिएको थियो । सो टोलीले खोलाको रेखांकन तथा सीमांकन प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनले फिर्केखोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । व्यवसायीदेखि सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचना मापदण्डविपरीत बनेको प्रतिवेदनले उल्लेख थियो ।