कोशी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस चौतारीको माग – Nepal Press

कोशी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन गर्न प्रेस चौतारीको माग

विराटनगर । प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको प्रथम प्रदेश सभाले ९ बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । साधारणसभाले कोशी प्रदेशमा मिडियाहरूको व्यवस्थापनका लागि सञ्चार प्रतिष्ठान तत्काल गठन गर्न माग गरेको छ ।

साधारणसभापछि जारी घोषणा पत्रमा पत्रकार महासंघले चलाएको शुद्धीकरणको अभियान र शुद्धीकरणका मापदण्डहरू पूर्णरुपमा अक्षरशः लागु गर्न पर्ने उल्लेख छ ।

शुद्धीकरणको नाममा छानी छानी प्रेस चौतारी नेपालका सदस्यलाई हटाउने हर्कत अहिलेको महासंघका नेतृत्वले गरिरहेका भन्दै मापदण्ड बमोजिम निष्पक्ष रूपमा शुद्धीकरण अगाडी बढाउन घोषणा पत्र मार्फत माग गरेको छ ।

घोषण पत्रमा विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरूले नियमित न्यूनतम श्रमको मूल्य नपाएको पीडादायी अवस्थाप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

यस्तै महँगी र बजारको भाउको आवश्यकतालाई ध्यानमा राखेर श्रमजीवी पत्रकारहरूको तलबमान वैज्ञानिक ढंगले अद्यावधिक गरी लागु गर्न यो घोषणा पत्रमा माग गरिएको छ ।

साधारण सभापछि जारी घोषणा पत्रमा- पछिल्लो समयमा आमसञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई विभिन्न बहानामा निष्कासन गर्ने तथा न्यूनतम पारिश्रमिक दिन आनाकानी गर्ने, बेतलबी बस्न बाध्य पार्ने जस्ता कार्य भइरहेको प्रति ध्यानाकर्षण भएको उल्लेख छ । घोषणा पत्रमा भनिएको छ- रोजगारी तथा न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्न माग गर्दछ ।

श्रमजीवी पत्रकारहरुद्वारा सञ्चालित साना लगानीका स्वरोजगार मूलक सञ्चार माध्यमहरू धरासायी बन्दै गएको घोषणा पत्रमा उल्लेख छ । साधारण सभाले अनलाइन सञ्चार माध्यम समेतलाई लोक कल्याणकारी विज्ञापन प्रदान गर्न र समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न यो साधारण सभा माग गरेको छ ।

साधारण सभाले सञ्चारमाध्यम नवीकरण सहज र सरल बनाउनसमेत माग गरेको छ ।

घोषणा सभाले पत्रकारको निःशुल्क उपचार, दुर्घटना बिमा, स्वास्थ्य बिमा, ज्येष्ठ पत्रकार वृत्ति सम्बन्धमा विगतमा नेपाल सरकारले गरेका निर्णयहरूको तत्काल प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *