वाम नेताहरू हो- कहिलेसम्म छुट्टै नाङ्ले पसल थाप्ने ?
सन् १८४८ मा कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले अन्तर्राष्ट्रिय कम्युनिष्ट घोषणापत्र लेखेपछि विश्वव्यापी चर्चा र बहस हुँदै कम्युनिष्ट आन्दोलन अगाडि बढ्यो । उन्नाइसौं शताब्दीको पेरिस कम्युन हुँदै बीसौं शताब्दीको पहिलो दशकको वरिपरिसम्म आउँदा कम्युनिष्ट आन्दोलन समाजवादी सत्ता सञ्चालन गर्ने अवस्थामा आइपुग्यो । दोस्रो विश्वयुद्धको अन्त्यसँगै धेरै नवस्वाधीन राज्यहरु समाजवादी सत्तासँग आकर्षित भए । विश्वमा समाजवादी आन्दोलनको लहरै चल्यो । ती कति सफल भए, कति असफल । त्यसको आआफ्नै इतिहास र महत्व छ । सोभियत संघको विघटन पूर्वसम्म पनि विश्वको एक तिहाइ भूभागमा समाजवादी सत्ता सञ्चालनमा थियो । आजको समयसम्म पनि संयुक्त राष्ट्रसंघमा भिटो पावर भएको चीनसहितका देशहरुले आफ्नो विशेषताको लोकतन्त्रसहितको समाजवादी सत्ताको अभ्यास गरिराखेका छन् । जसले विश्वकै ध्यान केन्द्रित गरिरहेको छ ।
सन् १९६० को दशकपछि नयाँ समाजवादी राज्यहरुको स्थापना हुन नसकेको कुरा साँचो हो । तर, समाजवादी सत्ताको स्थापनाको प्रयत्न विभिन्न तवरबाट विश्वका कम्युष्टिहरुले गरिरहेकै छन् । पूर्वी युरोपमा स्थापना भएको समाजवाद र विश्व कम्युनिष्ट आन्दोलनमा मा सोभियत संघको विघटनले ठूलो धक्का लाग्यो । त्यसपछि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा नै चलिराखेको छ । त्यसको ऐतिहासिक प्रभावबाट नेपालको कम्युनिष्ट आन्दोलन पनि अछुतो रहने कुरा भएन । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा नेपालमा भने वर्तमान सन्दर्भमा पनि कम्युनिष्ट आन्दोलन विभाजित तर उर्बरायुक्त र आकर्षणमय नै देखिन्छ ।
नेपालमा कम्युनिष्ट आन्दोलनले सात दशकभन्दा बढीको अवधि पार गरिसकेको छ । खासगरी नेपालको सन्दर्भमा वाम र कम्युनिष्ट आन्दोलनलाई समानार्थी रुपमा बुझ्ने नै गरिएको छ । २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपश्चात यो अवधिसम्म वामपन्थी शक्तिहरु सशस्त्र र शान्तिपूर्ण दुवै संघर्षको अनुभवसहित अगाडि बढिरहेका छन् । सात दशकको दौरानमा नेपाली कम्युनिष्ट आन्दोलनले राणा शासनको अन्त्य, निरङ्कुश राजतन्त्र र एकात्मक राज्यसत्ताको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भएको छ । अथवा सामन्तवादको अन्त्य गरी जननिर्वाचनमार्फत आफ्नो प्रतिनिधि र सरकार चुन्ने अधिकार जनतालाई दिन कम्युनिष्ट आन्दोलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । आजसम्मका हिंसात्मक र शान्तिपूर्ण तरिकाहरु अपनाइएको जनसङ्घर्षमा प्रजातान्त्रिक, कम्युनिष्ट, वामपन्थी र देशभक्तहरुले कहिले एक्लाएक्लै त कहिले संयुक्त रुपमा आन्दोलनको नेतृत्व गरेकै हुन् । प्रतिस्पर्धा र सहकार्य सँगसँगै गर्दै आएका वामपन्थी र प्रजातान्त्रिक शक्तिहरु नै आजको नेपालका निर्णायक राजनीतिक शक्तिहरु हुन् ।
सन् १९६० को दशकपछि नयाँ समाजवादी राज्यहरुको स्थापना हुन नसकेको कुरा साँचो हो । तर, समाजवादी सत्ताको स्थापनाको प्रयत्न विभिन्न तवरबाट विश्वका कम्युष्टिहरुले गरिरहेकै छन् । पूर्वी युरोपमा स्थापना भएको समाजवाद र विश्व कम्युनिष्ट आन्दोलनमा मा सोभियत संघको विघटनले ठूलो धक्का लाग्यो । त्यसपछि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा नै चलिराखेको छ ।
विशेषगरी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा वैचारिक धारहरु निर्माण भएसँगै नेपालमा पनि त्यसको प्रभाव स्वतः पर्यो । त्यसले आन्दोलन विभाजित हुने कुरा स्वाभाविक नै बन्न पुग्यो । अझै २०१७ सालको पञ्चायती ‘कु’ सँगै तत्कालीन पार्टी महासचिव डा.केशरजङ्ग रायमाझी दरबार छिरेपछि कम्युनिष्ट आन्दोलनको औपचारिक विभाजनले ऐतिहासिक श्रृङ्खलाको सुरुवात गर्यो, जुन आज पर्यन्त चलिराखेको छ । जसले गर्दा नेपालको राजनीतिक अस्थिरताको प्रमुख कारण वाम आन्दोलनलाई देखाउने बलियो तथ्य बनेको छ । हुन पनि सबै वामपन्थीहरुको ठूलो त्याग, तपस्या, बलिदान र मेहनतले नेपाली भूगोल वाममय बनेको छ । वाम आन्दोलनलाई माया र समर्थन गर्ने शक्तिशाली जनमत छ, ऐतिहासिक कालखण्डमा ठूल्ठूला योगदान गरेका पुराना पाका नेतृत्वहरु छन्, भर्भराउँदा युवा नेताहरु उत्तराधिकारीको रुपमा तैनाथ छन्, हजारौं लाखौंको सङ्ख्यामा पार्टी र आन्दोलन भनेर लागेका पूर्णकालीन कार्यकर्ताहरु छन् । वर्तमान संसदभित्रकै अङ्कगणित हेर्दा पनि लगभग बहुमतको अवस्थामा वामपन्थीहरु नै छन् । सडकको मोर्चामा पनि वामपन्थीको एकल शक्ति नै देखिन्छ ।
यसरी हेर्दा स्पष्ट बहुसङ्ख्यक जनता कम्युनिष्ट आन्दोलनको समर्थक छन् । तर, ती समर्थकहरुको प्रतिनिधित्व गर्ने आआफ्नै राजनीतिक पार्टीहरु छन् र ती आशावादी जनमत विखण्डित र विभाजित भएका छन् । यसले घाटा देश, जनता र आन्दोलनलाई भएको छ । राजनीतिमा सधैं एउटै प्रकारको शक्ति सन्तुलन रहिरहन्छ भन्ने हुँदैन । जनताको मनोविज्ञान पनि आवश्यकताले समय सापेक्ष परिवर्तन भइरहन्छ, जसलाई रोकेर रोक्नै सकिँदैन । किनकि समय गतिशील छ । त्यसैले यदि सही समयमा जनताको आकाङ्क्षा र मनोभावनालाई सम्बोधन गर्न सक्ने वाम आन्दोलन भएन भने यो रहरलाग्दो जनमत भोलि अर्काे बनिदिने सम्भावना हुन पनि सक्छ ।
आज कम्युनिष्ट पार्टीहरुसँग गर्विलो इतिहास छ, जनता छन्, देशका जल्दाबल्दा मुद्दाहरु छन् । समाजलाई समाजवाद हुँदै साम्यवादको यात्रामा लैजाने सपना पनि छ । तर, मौजुदा नोकरशाही दलाल पूँजीवादसँग लड्ने भरपर्दाे हतिहार छैन, राजनीतिक कार्यक्रम छैन । किनकि भिन्न भिन्न आकार र स्वरुपका कम्युनिष्ट पार्टीहरुले आआफ्ना वेग्लावेग्लै कुरा भनिरहँदाखेरी जनता कन्फ्युजनमा छन् र विभाजित बनेका छन् । त्यसैले वाम आन्दोलनले परिणाममुखी आकार लिन सकिराखेको छैन ।
वाम आन्दोलनलाई माया र समर्थन गर्ने शक्तिशाली जनमत छ, ऐतिहासिक कालखण्डमा ठूल्ठूला योगदान गरेका पुराना पाका नेतृत्वहरु छन्, भर्भराउँदा युवा नेताहरु उत्तराधिकारीको रुपमा तैनाथ छन्, हजारौं लाखौंको सङ्ख्यामा पार्टी र आन्दोलन भनेर लागेका पूर्णकालीन कार्यकर्ताहरु छन् । वर्तमान संसदभित्रकै अङ्कगणित हेर्दा पनि लगभग बहुमतको अवस्थामा वामपन्थीहरु नै छन् ।
समय सन्दर्भ बदलिएको छ । जनताको राजनीतिक र सामाजिक चेतना विकसित भएको छ । नयाँ युवा पुस्ताले धेरै धैर्य गरेर परिणाम कुरिबस्ने परिस्थिति छैन । टाठाबाठा र पढेलेखेका अनि बलिया हातपाखुरा भएकाहरु सपना खोज्दै लाखौंको सङ्ख्यामा समुद्रपारि पुगिराखेका छन् । जनताका आवश्यकता र सोचाइमा तीब्र परिवर्तन भइराखेको छ । केही समय अगाडि मात्र एउटा अन्तर्राष्ट्रिय पश्चिमा सञ्चारमाध्यमले नेपाल असफल राज्य भनेर लेखेको छ । यो परिस्थितिमा नेपालका कम्युनिष्टहरुले लम्बिँदो सङ्क्रमणलाई अन्त्य गर्ने उपायतिर नजाने हो भने पार्टी आन्दोलन बचिराख्छ त ? इतिहासले मात्र वाम आन्दोलनको साख जोगाइराख्न सक्छ त ? प्रश्न साह्रै गम्भीर प्रकारले नै उठ्नेवाला छ ।
कम्युनिष्ट पार्टी र त्यसका अगुवाहरुको आआफ्नै योगदान र अनुभवहरु पक्कै छन् । हाल दर्जनभन्दा बढी कम्युनिष्ट पार्टीहरुले आआफ्नो कार्यक्रमसहित अस्तित्व धानिराखेकै छन् । सबैले देशमा वैदेशिक हस्तक्षेप भएको, दलाल पूँजीवादले राष्ट्रिय अर्थतन्त्रलाई गाँजेको, देशमा आर्थिक, सामाजिक र राजनीतिक समस्या छ भन्ने तथ्य स्वीकार गरेकै छन् । यो सामाजिक व्यवस्थाभन्दा अगाडि बढेर समाजवादी व्यवस्थामा पुग्नुपर्छ भन्ने सबैको साझा मत पनि छ । तर, एकीकृत कम्युनिष्ट आन्दोलनको निर्माण हुन सकिराखेको छैन । वर्तमान नेपाली समाजको वर्ग विश्लेषण र चारित्रिक विशेषताहरुको सम्बन्धमा सबै पार्टीको आनको तान र वारपारको बुझाइरहेको पनि पाइँदैन । कसैको साझा र कोहीको नजिक नजिककै बुझाइ रहेको पाइन्छ । रणनीतिक विषयमा पार्टीहरुको विमति देखिँदैन । तर, कार्यनीतिक विषयमा भने आआफ्ना तर्कहरु छन् । यस्ता हजारौं तर्कहरुका बाबजुद अनुभवले के पुष्टि गरिदिएको छ भने सिद्धान्त, तर्क र व्यवहारको सन्तुलनविना आन्दोलनले गति लिन सक्दैन र सामाजिक रुपान्तरण पनि हुन सक्दैन ।
अहिले देशको आवश्यकताले, बदलिँदो राजनीतिक समीकरण र सन्तुलनले एकीकृत कम्युनिष्ट आन्दोलनको माग गरेको छ । उसो त नेपालका कम्युनिष्टहरु आपसमा ठूलो अन्तरविरोधसहितको सङ्घर्ष र विभाजन अनि एकता प्रक्रियालाई सँगसँगै लाने विषयमा अभ्यस्त नै छन् । अब हिजोका तीता, टर्रा, अमिला विषयहरुलाई बहसको विषय बनाएर समय बर्बादी गर्ने र विगतलाई सम्झेर भविष्य बिगार्नेभन्दा पनि ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै नयाँ आधारमा नयाँ एकता कायम गर्ने दिशामा अगाडि बढ्नुको विकल्प देखिँदैन । एकीकृत वाम आन्दोलनमा नै देश र जनताको भलो छ र पार्टी र सिङ्गो आन्दोलनको भविष्य छ ।
समाजवादको विरोध गर्ने हो भने पार्टी नै चल्न नसक्ने अवस्था छ । यस्तो वातावरण बनेको अवस्थामा समाजवादकै लागि जेलनेल भोगेका नेताहरु, हजारौंको सङ्ख्यामा बलिदान गरेका पार्टीहरुले बुद्धि नपुर्याउने हो भने यो सुनौलो अवसरले वामपन्थीलाई छाड्नेछ ।
बरु एकताको प्रारम्भिक विन्दू र एकताको बलियो रसायनको सामूहिक खोजी गर्न जरुरी छ । हिजो वैचारिक बेमेलका कारण, कतिपय सन्दर्भमा व्यक्तिगत टकराबका कारण, निषेधात्मक प्रवृत्तिका कारण, समय समयमा राजनीतिमा घटिरहने केही घटनाक्रमहरुलाई बुझ्ने सन्दर्भमा देखिने फरकपनाका कारण र स्वार्थ समूहहरुको आन्तरिक लडाइँका कारण पार्टीहरु विभाजन भएका छन् । इतिहासबाट शिक्षा लिँदै एकताका नयाँ सम्भावनाहरुको खोजी गर्नु नै समाजवादी व्यवस्था चाहने जनताको प्रतिनिधित्व गर्छु भन्ने वाम पार्टीहरुको दायित्व हुन आउँछ । नेपाली विशेषताको समाजवादमा जाने सैद्धान्तिक सहमति सबैको छ । बरु यसलाई मूर्त र समृद्ध गर्न मेहनत गर्नुपर्छ । समाजवादमा पुग्ने बाटो के हुने भन्नेबारेमा सङ्घर्ष, प्रतिस्पर्धा र सहकार्य यो तीन विधिमा खुला बहस गर्दा त्यति असजिलो हुने पनि देखिँदैन र कम्युनिष्ट पार्टीमा सबैभन्दा जटिल बन्दै आएको विषय नेतृत्वको प्रश्नलाई एउटा समयसापेक्ष विधि बनाएर हल गर्दा उपयुक्त होला । इतिहासको सम्मान हुने, क्षमतावानहरुलाई अवसर प्राप्त हुने र नयाँ पुस्तालाई आन्दोलनमा भविष्य देखाउने नेतृत्व प्रणालीको विकासको कुनै विकल्प नै छैन ।
सामूहिक नेतृत्व वा एकल नेतृत्व, आवधिक नेतृत्व, चक्रीय प्रणाली, उमेरको हदबन्दी, सरकार र पार्टीको नेतृत्वको सन्दर्भ वा एकल जिम्मेवारी जस्ता विविध आयामहरुमा सबैको अस्तित्व स्वीकार गर्ने गरी सङ्गठनमा नयाँ विधिको विकास गरेर साङ्गठनिक क्षेत्रमा देखापर्दै आएका अन्तरविरोधहरुको हल गर्न नसक्ने विषय पनि त छैन । अरु दुनियाँमा सम्भव हुने नेपालमा सम्भव नहुने पनि त होइन । तसर्थ असीको दशकलाई वाम एकताको दशक, समाजवादको दशक बनाउने हो भने एकीकृत वाम आन्दोलन अनिवार्य छ ।
नेपाली समाजमा समाजवाद यति लोकप्रिय बनेको छ । वामपन्थी आन्दोलनभन्दा बाहिरका नयाँ पुराना सबै राजनीतिक शक्तिहरु समाजवादलाई स्वीकार गर्नुपर्ने बाध्यात्मक अवस्थामा छन् । समाजवादको विरोध गर्ने हो भने पार्टी नै चल्न नसक्ने अवस्था छ । यस्तो वातावरण बनेको अवस्थामा समाजवादकै लागि जेलनेल भोगेका नेताहरु, हजारौंको सङ्ख्यामा बलिदान गरेका पार्टीहरुले बुद्धि नपुर्याउने हो भने यो सुनौलो अवसरले वामपन्थीलाई छाड्नेछ । इतिहासले वर्तमानका नेतृत्वहरु र पार्टीहरुलाई धिक्कार्नेछ । तसर्थ नयाँ पुस्ताको भविष्यसँग जोडिएको आन्दोलन भएको हुनाले एकीकृत कम्युनिष्ट आन्दोलनको बहस हामीले किन नगर्ने ? शक्तिशाली कम्युनिष्ट आन्दोलन र समाजवादी गणतन्त्रको नारा हामीले किन नलगाउने ? सबैले आआफ्नो अहङ्कार छोड र विकेन्द्रित जनमतलाई केन्द्रित गर किन नभन्ने ? आन्दोलन कसैको पेवा हुन सक्दैन । समाजवादमा जाने जनताको चाहनालाई सम्मान गर किन नभन्ने ?
हो, त्यसैले हामीले भागशान्तिको कुरा छाडौं, म कहाँ हुन्छु भन्ने हिसाबकिताब नगरौं, हिजोका आग्रह पूर्वाग्रहका कुरा छाडौं, हामी धेरैतिर छरिएका छौं, एक ठाउँमा आउने प्रयत्न गरौं र शक्ति सञ्चित गरौं । सबैतिर आशावादको सञ्चार गरौं । समाजवादमा पुग्न र दलाल पूँजीवादसँग लड्ने नयाँ हतियारको विकास गर्न नयाँ पुस्ताले एक स्वरले नारा लगाऔं- सबै वाम एकै ठाम !
(गुरुङ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य हुन् ।)