एमालेले मनाउन थाल्यो जयपृथ्वी जयन्ती, रावलले भने- सिंहको व्यक्तित्व र कृतित्व फैलाउने जिम्मा पार्टीको – Nepal Press

एमालेले मनाउन थाल्यो जयपृथ्वी जयन्ती, रावलले भने- सिंहको व्यक्तित्व र कृतित्व फैलाउने जिम्मा पार्टीको

कैलाली । दोस्रो गौतम बुद्धका रूपले परिचित मानवतावादी जयपृथ्वी बहादुर सिंहको जन्म जयन्ती नेकपा(एमाले) मनाउन सुरु गरेको छ । जिल्ला कमिटी बझाङले यस पटकबाट औपचारिक रुपमा सिंहको जन्म जयन्ती मनाउन सुरु गरेको हो ।

बिहीबार एमाले पोलिटब्युरो सदस्य तथा बझाङ इन्चार्ज समेत रहेका सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रत्येक बर्ष सिंहको जन्म जयन्ती पार्टीले पनि मनाउने बताएका हुन् ।

१४७ औँ जन्म जयन्तीको अवसरमा पार्टी कार्यालय चैनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उहाँ बझाङको मात्र नभएर अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुहुन्थ्यो, यहाँ जन्मिएर विश्व जगतमा मानवतावादको प्रचार-प्रसारमा सक्रिय रहनुभयो । उहाँको व्यक्तित्व र कृतित्व फैलाउने जिम्मा अब एमालेको काँधमा आएको छ। अव प्रत्येक बर्ष हामी जन्म जयन्ती मनाउँछौँ । उहाँको विचारलाई बुझाउँछौँ ।’

कार्यक्रममा सुदूरपश्चिमका संस्थापक सभामुख अर्जुन बहादुर थापाले ‘जयपृथ्वी बहादुर सिंहको बहु-आयामिक व्यक्तित्वः एक विवेचना’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए। एमाले बझाङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा अनेरास्ववियुका पूर्व केन्द्रीय सचिव लोकेन्द्र सिंहले कार्यपत्र प्रस्तुत गर्दै सिंहको बारेमा प्रकाश पारेका थिए ।

सरकारले २०७९ असार ८ गते सिंहलाई राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको थियो । अहिले बझाङमा जयपृथ्वी मार्ग, जयपृथ्वी नगरपालिका, जयपृथ्वी क्याम्पसका नामले जयपृथ्वी सिंहलाई स्मरण गरिन्छ। जन्म जयन्ती समारोह जिल्ला अध्यक्ष दमन बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो।

‘जयपृथ्वी बहादुर सिंह अक्षरांक छात्रवृत्ति पुरस्कार’ दिइने

जन्म जयन्ती समारोहका प्रमुख अतिथि रावलले आउँदो वर्षदेखि सिंहको नाममा जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिने बताए ।

‘एसईई, प्लस टु र उच्च शिक्षातर्फ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीले आफ्नै सदस्यहरूको सहयोगमा अक्षयकोष खडा गरी पुरस्कार दिने व्यवस्था मिलाउँदै छौँ,’ उनले भने ।

जयपृथ्वी बहादुर सिंहको प्रभावले नै त्यो बेला श्री ३ देव शमशेरले शिक्षा प्रतिको चासो बढाएका थिए। नेपालमा शिक्षाको कुनै पाठ्यक्रम थिएन। त्यसैले नेपाली भाषाको माध्यमबाट सबै विषयको शिक्षा दिनु पर्छ भन्ने सुझाव सिंहले नै दिएका थिए ।

नेपाली भाषामा शिक्षा दिँदा राष्ट्रियता बलियो हुँदै जाने तर्क उनको थियो। सिंहले त्यहीँ बेला ‘अक्षरांक शिक्षा’ नामक ४० पृष्ठको हस्तलिपि पुस्तिका तयार पारेका थिए । जयपृथ्वीको सल्लाह अनुसार नै श्री ३ देव शमशेरले खस भाषालाई ‘राष्ट्र भाषा नेपाली’ माध्यममा शिक्षा दिन पाठशाला खोल्ने अनुमति दिएका थिए ।

नेपाली भाषामा शिक्षा दिने निर्णय भएपछि जयपृथ्वीले अक्षरमाला, व्यवहार माला, भूगोल विद्या, पदार्थ-तत्व-विवे, वाल-वोध, ज्ञानमाला, श्रेष्ता-वोध, शिक्षा-दर्पण, प्राकृत व्याकरण र तत्व प्रशंसा पुस्तकहरू प्रकाशन गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर