शिवशिखरका सञ्चालक शर्मादम्पतीको नाममा ३३ ठाउँमा जग्गा, ७८ करोडभन्दा बढी बीगो दाबीसहित मुद्दा
काठमाडौं । शिवशिखर सहकाकारी तथा बहुउद्देश्यीय संस्थाका निवर्तमान अध्यक्ष केदारनाथ शर्मा र उनकी श्रीमती गीताको नाममा मात्र देशभर ३३ ठाउँमा जग्गा भेटिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्माको नाममा १७ ठाउँ र गीताको नाममा १६ ठाउँमा जग्गा फेला परेको जनाएको छ । उनीहरूले खोलेका संस्था र कम्पनीका नाममा पनि देशका विभिन्न ठाउँमा जग्गा फेला परेको छ ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले शर्मा दम्पतीसहित १९ जनाविरुद्ध संगठितरूपमा सहकारी ऐनअन्तर्गतको कसूरमा बिहीबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सहकारीका एक हजार १ सय ४५ जना बचतकर्ताले जाहेरी दिएका थिए ।
सरकारी वकिल कार्यालयले ७८ करोड १९ लाख ६३ हजार २ सय १४ रुपैयाँ २६ पैसा बिगो दावी गरेको छ । सीआईबीका अनुसार उक्त सहकारीमा २१ हजार ३ सय ६९ जना बचतकर्ताले २ अर्ब ११ करोड ५२ लाख ६२ हजार २ सय १९ रुपैयाँ २१ पैसा बचत गरेको पाइएको छ ।
अनुसन्धानमा सहकारीको नाममा विभिन्न ७ ठाउँमा जग्गा रहेको पाइएको छ । यस्तै शिवशिखर एग्रो प्रालिका नाममा २० ठाउँमा, त्रिदेवी फ्लोर एन्ड ओयल इन्डस्ट्रिजका नाममा ७ ठाउँमा, तुलसी कृषि अनुसन्धान केन्द्रका नाममा २२ ठाउँमा, गार्डेन मार्ट प्रालिका नाममा ७ ठाउँमा र नटराज एग्रो प्रालिका नाममा ३२ ठाउँमा, शिखर दीप एग्रोका नाममा २८ ठाउँमा, शिखर स्पाइस एन्ड फुड इन्डस्ट्रिजका नाममा एक ठाउँमा र अन्य तीन कम्पनीका नाममा झन्डै १० ठाउँमा जग्गा भेटिएको छ।