नेपाल अल्पविकसितबाट विकासशीलमा स्तरोन्नतिपछि आउने चुनौतीबारे रुपन्देहीमा छलफल – Nepal Press

नेपाल अल्पविकसितबाट विकासशीलमा स्तरोन्नतिपछि आउने चुनौतीबारे रुपन्देहीमा छलफल

रूपन्देही । उद्योगी तथा व्यवसायीहरूले नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि आउने चुनौतीहरुका बारेमा छलफल गरेका छन् ।

उनीहरूले पर्याप्त तयारी नभई विकासशील मुलुकमा स्तरोन्नति गर्दा आत्मनिर्भरता र औद्योगिक विकासको गतिलाई परनिर्भर बनाउने खतरा बढी भएको बताएका छन् ।

बुटवलमा रुपन्देही उद्योग संघको आयोजनामा भएको कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले विकासशील मुलुकमा स्तरोन्नति गर्दा आउन सक्ने चुनौतीको बारेमा समयमै सचेत हुनु जरुरी भएको बताए ।

उनले विश्व जगतलाई नेपालको अर्थतन्त्र अग्रगामी छ भनेर राम्रो सन्देश दिन र लगानीकर्ता आकर्षित गर्न पनि अब स्तरोन्नतिमा जानु जरुरी रहेको बताए ।

पाण्डेले नेपालमा उद्योग क्षेत्रका समस्याहरु धेरै रहेको हुँदा स्तरोन्नतिपछि थप संकट आउन सक्नेप्रति उद्योगीहरुले देखाएको चासोलाई उद्योग परिसंघले सरकारलाई अवगत गराएको बताए ।

कार्यक्रममा लुम्बिनी उद्योग परिसंघका अध्यक्ष एजाज आलम, उद्योग परिसंघका पूर्वअध्यक्ष डम्बरदेव अर्याल, गणेशप्रसाद अधिकारी, सल्लाहकार भुपालकुमार श्रेष्ठ, उद्योगीहरु कन्हैयालाल कसौधन, मुकुन्द ज्ञवाली, रामप्रसाद खनाललगायतले उद्योगीका समस्या र समाधानका विषयमा जिज्ञासा र धारणा राखेका थिए ।

आयोजक संघका अध्यक्ष माधव पौडेलका अनुसार छलफलमा सहभागी उद्योगीहरुले उद्योग र औद्योगिक विकासको क्षेत्रमा देखिएका समस्याले उत्पादकत्वमा ह्रास आएको र विकासशील मुलुकको मापदण्ड कागजी मापदण्डमात्र हुने टिप्पणी गरे ।

अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन तय गरिएको आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीन वटा सूचकमा नेपाल दिन प्रतिदिन खस्कँदो अवस्थामा रहेको उद्योगी व्यवसायीहरुको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *