एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका तीन प्रत्याशी प्रतिनिधि छानिए, केन्द्रीय सदस्य मैदानमा आएपछि कँडेललाई चुनौती – Nepal Press

एमाले लुम्बिनी अधिवेशन : अध्यक्षका तीन प्रत्याशी प्रतिनिधि छानिए, केन्द्रीय सदस्य मैदानमा आएपछि कँडेललाई चुनौती

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका लागि शनिवार सबै जिल्लामा प्रतिनिधि निर्वाचित भएका छन् । यही भदौ १६ र १७ गते हुन लागेको प्रदेशको पहिलो अधिवेशनको लागि प्रदेशमा रहेका १२ जिल्लाका १०९ पालिका र जनसंगठनबाट शनिवार एकै दिन प्रतिनिधि छनौट भएको हो ।

अधिवेशनबाट नयाँ नेतृत्वका लागि यसअघि आकांक्षी रहेकामध्ये तीन जना निर्वाचित भएका छन् । अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पाबाट, केन्द्रीय सदस्य रहेका हरि रिजाल प्यूठानबाट र प्रदेश सचिव रहेका लक्ष्मण आचार्य दाङबाट प्रतिनिधिमा निर्वाचित भएका हुन् । यसबाहेक आकांक्षी रहेका केही केन्द्रीय सदस्यहरू भने प्रतिनिधि छनौट प्रक्रियामै जान चाहेनन् ।

यसअघि प्रदेश नेतृत्वमा आउन सक्ने संकेत गरेका नेताहरू पनि त्यो प्रक्रियामा जाँदा केन्द्रीय सदस्य गुम्ने भएकाले रोकिएका हुन् । धेरै नेताहरूलाई यसको प्रक्रियाकै विषयमा अलमल पारेको देखिन्छ ।

प्रदेशको नेतृत्वका लागि केन्द्रीय सदस्य छाडेर मैदानमा आएका प्यूठानका हरि रिजालले प्रदेश कमिटीलाई थप बलियो बनाउन चाहेको बताए ।

‘प्रतिनिधि छनौट भएपछि नेतृत्वको मार्ग प्रशस्त भयो, सबै साथीहरूसँग सल्लाह गरेर अगाडि बढ्छु, प्रदेश अध्यक्षलाई पोलिटब्यूरो मान्यता दिएसँगै यताको नेतृत्वका लागि साथीहरूकै सल्लाहमा आएको हुँ, सबै क्षेत्रलाई समेटेर लैजानुपर्दछ, अब प्रतिनिधि छनौटको प्रक्रिया सकिएको छ, नेतृत्व तथा अन्य साथीहरूसँग बसेर अगाडि बढ्छु ।’ उनले नेपाल प्रेससँग भने ।

पार्टीलाई व्यवस्थित, वैचारिक रूपमा सुधार ल्याउन नेतृत्वमा आउन चाहेको बताउँदै पार्टी थप मजबुत बनाउन आफू पार्टीको प्रदेश नेतृत्व गर्न चाहेको रिजालले बताए ।

आकांक्षीमध्ये बलियो दाबेदार मानिएका अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले अब प्रतिनिधि छनौट भएपछि नयाँ नेतृत्वका लागि योजना बनाएर अगाडि बढ्ने बताए ।

‘म पाल्पाको रामपुरमा प्रतिनिधि छनौट सकाएर बुटवल फर्कँदैछु, एक पटक अधिवेशनबाट नेतृत्वका लागि साथीहरूकै प्रस्तावमा म अगाडि बढेको हुँ, पहिले छानिएको थिएँ, अब निर्वाचित भएर पूरा काम गरेर देखाउने इच्छा छ । अब साथीहरूसँग बसेर योजना बनाउँछु कसरी अगाडि बढ्ने भनेर’ उनले भने ।

अध्यक्ष कँडेलले पार्टीलाई बलियो र सुदृढ बनाउन एक पटक नेतृत्वमा आउने इच्छाअनुसार अघि बढेको बताए । ‘म पार्टीको संसदीय र केन्द्रीय कमिटीमा पनि छैन, पार्टीको निर्देशनअनुसार अघि सरेको हुँ, नेतृत्वसँग थप सल्लाह गरेर अगाडि बढ्छु’ उनले भने ।

आकांक्षी मध्येका अहिलेका प्रदेश सचिव लक्ष्मण आचार्य अब नयाँ नेतृत्वका लागि योजना बनाउने बताए ।

‘भरखर प्रतिनिधि छनौटको काम सकिएको छ, मेरो पनि नेतृत्वको दावेदारी हो, अब कसरी अगाडि बढेने भनेर साथीहरूसँग सल्लाह गर्नुछ, सकेसम्म सर्वसम्मत गरेर जानुपर्छ, सबै क्षेत्र मिलाउनुपर्दछ भन्ने मेरो मान्यता हो’ उनले भने ।

अहिलेका अध्यक्ष कँडेल र लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य हरि रिजाल मुख्य दाबेदार भएसँगै नेतृत्वले यसअघि सर्वसम्मत मिलाउने विषय थप चुनौतीपूर्ण देखिएको छ ।

एमाले नेताहरूका अनुसार कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाल महासचिव शंकर पोखरेल निकट मानिए पनि स्वयं शीर्ष नेताहरूले यसरी कुनै नेतालाई नबोक्ने तर बीचको समूहले कित्ता छुट्टाएर समूह निर्माण गरिदिने गरेका छन् ।

एमाले नेता तथा प्रदेश सांसद विष्णु पन्थीले कँडेल र रिजालमध्ये एक जना प्रदेश अध्यक्षको नेतृत्वमा आउने बताए ।

‘पार्टीमा चुनाव हुने अवस्था जहाँसम्म नआउला, निर्वाचन हुने अवस्था आए कँडेल र रिजालबीच नै प्रतिस्पर्धा हुन्छ जस्तो मलाई लाग्छ । पार्टीमा अहिले गुटबन्दी छैन । आन्तरिक रूपमा आफ्नो फेवरको नेताहरूलाई नेतृत्वमा ल्याउन पार्टीका दोस्रो तहका नेताहरू अवश्य लाग्नुहुन्न, अब समूह बनाएर गए पार्टी बलियो बन्दैन’ पन्थीले भने ।

अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरू नेतृत्वमा आउन लबिङलाई तीव्र बनाएका छन् ।

वामपन्थी वर्चस्व क्षेत्र भएको र अन्य प्रदेशभन्दा पहिला अधिवेशन हुन थालेपछि केन्द्रीय नेताहरूको चासो बढ्दै गएको छ ।

पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा चासो बढेको छ ।

प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल आउने निश्चित भइसकेको छ ।

१२ जिल्ला रहेको यो प्रदेशमा भूगोल तथा जिल्ला समेटेर नेतृत्व छनौट गर्न नेतृत्वलाई चुनौती छ । अहिले प्रदेश कमिटीमा ६०० भन्दा बढी सदस्य रहेकाले पनि अबको कमिटी २५० मा झार्नुपर्ने अवस्था पार्टीलाई छ ।

त्यसका लागि झन् नेतृत्वलाई सकस रहेको एमालेका नेताहरू बताउँछन् । शनिवारको प्रतिनिधि छनौटबाट १ हजार १ जना प्रतिनिधि छानिएको र अधिकांश ठाउँका निर्विरोध भएपनि केही ठाउँका आकांक्षी धेरै भएकाले निर्वाचनबाट छनौट गरिएको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर