निर्देशक झरना भन्छिन्- विपिनलाई लिँदा नै क्यारेक्टर हिट हुन्छ भन्ने थियो – Nepal Press

निर्देशक झरना भन्छिन्- विपिनलाई लिँदा नै क्यारेक्टर हिट हुन्छ भन्ने थियो

काठमाडौं । झरना थापा निर्देशित सिनेमा ‘एक भगवत् गीता’को पब्लिसिटी सुरु गरिएको छ । ३६० डिग्रीमा टिकटक खिच्दै निर्माण पक्षले सिनेमाको प्रचार सुरु गरेको हो ।

भदौ २९ गते रिलिज हुने चलचित्रकी निर्देशक झरनाले आफूले यो पटक सिनेमा ‘एक भगवत् गीता’ मार्फत चुनौती उठाएको बताएकी छन् ।

लभ स्टोरी सिनेमा निर्देशन गर्दै आएकोमा यस पटक लभ स्टोरीसँगै सामाजिक विषय उठान गरेको उनले बताएकी हुन् ।

‘यसअघि जस्तै यो पटक पनि म रिस्क जोनमा भने छैन । किन भने हामीले सोचेजस्तै काम भएको छ । लभ स्टोरीसँगै सामाजिक विषय पनि उठान गरेका छौँ,’ उनले भनिन्, ‘काम गर्दै सिक्दै जाने हो । त्यसैले केही नयाँ काम गरौँ भन्ने सन्दर्भमा हामीले तेस्रोलिंगीको विषय पनि उठान गरेका छौँ ।’

तेस्रोलिंगीको क्यारेक्टरमा अभिनेता विपिन कार्की छन् । पोस्टर र टिजर सार्वजनिक भएपछि विपिनको क्यारेक्टर खुलेको थियो । उनको क्यारेक्टरलाई लिएर यतिबेला आम दर्शक कौतूहल छन् ।

विपिनलाई उक्त क्यारेक्टरमा लिनुको कारण पनि झरनाले स्पष्ट पारेकी छिन् । उनी राम्रो अभिनय गर्ने कलाकार भएको र यसअघि नै आफूलाई अभिनयमा प्रमाणित गरिसकेकाले आफूले विपिनलाई लिएको उनले बताइन् ।

निर्माता सुनिल कुमार थापाले आफूलाई दर्शकलाई हरेक सिनेमामा नयाँ टेस्ट दिऊँ भन्ने लाग्ने र सोही अनुसार काम गर्दै आएको बताए । यो पटक मिथिलाको विषय र परिवेश उठान गरेको उनले बताए ।

बालकलाकारका रूपमा सुवेक्षालाई पनि देख्न सकिने छ । उनले सिनेमाका मुख्य कलाकार धिरज मगरको भान्जीको भूमिका निर्वाह गरेकी छन् ।

अन्तरजातीय प्रेमकथामा आधारित रहेको सिनेमामा धिरज र सुहानासँगै विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायत कलाकारको अभिनय छ ।

सिनेमामा झरनासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको पटकथा रहेको छ । सिनेमामा परिच्छेद र पुरुषोत्तमले संवाद लेखेका छन् ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ । हर्कुलस बस्नेत, आशिष अविरल र प्रवेश मल्लिकको संगीत छ ।

सुनिल कुमार थापाको निर्माण तथा झरना थापा निर्देशित ‘ए मेरो हजुर’का तीनवटा सिरिजपछि यो उनीहरूको चौथो सिनेमा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *