प्रचण्डको विश्लेषण- माओवादीका नेताहरू पद र पैसाका लागि जे पनि गर्न तयार भए, शक्ति केन्द्रमा रमाए
आर्थिक रूपले अपारदर्शी जीवनशैली अपनाउनेदेखि आलोचना आत्मालोचना नगर्ने प्रवृत्ति बढेको निष्कर्ष
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार भएको कारणले संगठनात्मक गतिविधि कमजोर भएको विश्लेषण गरेका छन् ।
साउनको दोस्रो साता बसेको केन्द्रीय समितिको चौंथो पूर्ण बैठकबाट पारित राजनीतिक एवं संगठनात्मक प्रतिवेदनमा उनले संगठनात्मक गतिविधि कमजोर भएकोप्रति पार्टीका नेताहरुमाथि आरोप लगाएका हुन् ।
प्रदेश समितिहरू र विभागहरूबाट प्राप्त रिपोर्टहरूका आधारमा अध्यक्ष प्रचण्डले सङ्गठनमा पार्टीका नेताहरुमा आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्ति, गुटबन्दी गर्ने, समितिको बैठक बसी सामूहिक योजना बनाउन नचाहने, कार्य क्षेत्र र जनतामाझ नजाने, सिंहदरबार, बालुवाटार र प्रदेश राजधानीलगायतका शक्ति केन्द्रमा धाउन रमाउने समस्या देखिएको उल्लेख गरेका छन् ।
कमीकमजोरीबारे समितिमा आलोचना आत्मालोचना नगर्ने, बाहिर आलोचना र गुनासाहरू गर्ने, उत्पादनका काममा नलाग्ने, परिश्रम नगर्ने, आर्थिक रूपले अपारदर्शी जीवनशैली अपनाउने, श्रमजीवी वर्गीय पक्षधरता छोड्दै जाने र विजातीय वर्ग खोज्दै हिँड्ने, पद, प्रतिष्ठा र पैसाका लागि जे पनि गर्न तयार हुने, विधि र विधानको पालना नगर्ने, पार्टी अनुशासनको पालन नगर्ने, मालेमावादसम्बन्धी वैचारिक राजनीतिक विषयहरूको अध्ययन छलफलमा रूचि नलिने प्रवृत्ति बढेको उनले विश्लेषण गरेका छन् ।
यस्ता नकारात्मक प्रवत्ति माओवादीमा बढे पनि पार्टी वैचारिक र राजनीतिक रूपले देशको निर्णायक र नेतृत्वदायी भूमिकामा रहेको उनको दाबी छ ।
प्रचण्डको हालै सार्वजनिक प्रतिवेदनमा भनिएको छ, ‘पार्टी जीवनमा देखापर्ने उपरोक्त प्रकृतिका कमीकमजोरीहरूप्रति निर्ममतापूर्वक आत्मसमीक्षा गरेर रूपान्तरण हुन सबैले जोड दिनुपर्नेछ ।’
पार्टी संगठनलाई अगाडि बढाउन आवश्यक भएको उल्लेख प्रतिवेदनमा भनिएको छ, ‘नयाँ परिस्थितिले निम्त्याइरहेको नयाँ संकटको सामना गर्न एउटा कम्युनिष्ट पार्टीका लागि सर्वाधिक महत्वको कुरा वैचारिक-राजनैतिक स्पष्टता कायम गर्नु नै हो । यसका लागि तात्कालिक दृष्टिले पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको दस्तावेजमा आधारित रहेर सिंगो पार्टी पंक्ति, जनवर्गीय संगठन, मोर्चा, विभाग, आयोग र सम्भव भएसम्म आमजनतासम्म व्यापक प्रशिक्षण, बहस, छलफल आन्तरिक प्रकाशन, प्रचारप्रसारलाई व्यवस्थित गर्नुपर्दछ ।’
विधान सम्मेलनसम्मको एक चरणको अभियान वैचारिक, राजनैतिक स्पष्टता हासिल गर्ने तथा विशेष महाधिवेशनसम्म पुग्दा अध्ययन, अनुसन्धान र बहसको अर्को अभियानमार्फत आठौं महाधिवेशनबाट पारित २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो दस्तावेजलाई नयाँ उचाइमा परिमार्जनसहित नयाँ वैचारिक संश्लेषणमा पुग्ने उद्देश्य प्राप्तिमा सिङ्गो पार्टी एकजुट भएर अगाडि बढ्न जरुरी भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रचण्डले आम पार्टी र जनस्तरसम्म सामन्ती राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक महत्व र परिवर्तनका उपलब्धिलाई प्रशिक्षण र प्रचार गर्ने, पार्टीको कार्यदिशा, कार्यनीति कार्यान्वयन र त्यसको निरन्तर विकासको सन्दर्भमा पार्टीका केन्द्रीय पदाधिकारीदेखि आमसदस्यहरूबीच निरन्तर छलफल एवं वैचारिक काममा अनिवार्य सहभागीलगायतको कार्यभार पूरा गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
पार्टी एकता गर्दा संख्या र पदलाई भन्दा विचार र कार्यदिशालाई प्राथमिकतामा राख्ने, पार्टी प्रवेशको हकमा जिम्मेवारी समायोजन गर्दा संगठनात्मक सन्तुलन नबिग्रिने गरी व्यवस्थापन गनुपर्नेमा जोड दिइएको छ ।
प्रतिवेदनमा भनिएको छ, ‘समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो । हाम्रै पार्टीले नेपालको वामपन्थी एवं कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ । यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताका सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ ।’
पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नेपर्नेमा उनले जोड दिएका छन् ।
सबैभन्दा बढी पैसा चाहिने, ठाँटको जिन्दगी बाँच्नुपर्ने, सम्पत्ति छैन भन्दै अरूका नाममा लुकाउने माओवादी मूल नेतृत्वको चरित्र नै हो नि ।
पैसा बिना चुनाव जित्न सकिदैन भन्दै सबैभन्दा धेरै अन्तर्राष्ट्रिय जासुस , तस्कर र भ्रष्टहरुलाई पार्टीमा भित्र्याउने पार्टी माओवादी हाे ।
सामुहिक समीक्षा ठिक हाेला हाेईन र ?