मकवानपुरमा घर फोडेर सुन चोरी गर्ने गिरोह र खरिदकर्ता काठमाडौंबाट पक्राउ
हेटौंडा । मकवानपुरको हेटौंडामा एकजना स्थानीयको घर फोडेर सुन चोरी गर्ने ३ सहित उक्त सुन खरिद गर्ने सुनचाँदी व्यवसायीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन चोरीमा संलग्न रहेकामध्य एक जना फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल- ७ बस्ने २८ वर्षीय भीमलाल लामा, २८ वर्षीय प्रदीप तामाङ र २९ वर्षीय आकाश तामाङ तथा चोरीको सुनका गरगहना खरिद गर्ने सोही गाउँपालिकाको वडा नम्बर ६ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका- ८ स्थित रितु सुन पसलका सञ्चालक ३१ वर्षीय राजेन्द्र रसाइली रहेका छन् ।
उनीहरु काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेको र अझै फरार रहेका एकजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए ।
सुन चोरीमा संलग्नहरुले साउन ३० मा हेटौंडा– ९ लामसुरेधापस्थित सुशीला साउदको घरबाट सुनको सिक्री डेढ तोलाको एक थान, सुनको बाला एक तोलाको एक थान, सुनको चन्द्र हार एक तोलाको एक थान, सुनको टप ४ आनाको एक जोडी, सुनको मुन्द्रा २ आनाको एक जोडी, घडी एक थान र नगद ३० हजार रुपैयाँ चोरी गरेका थिए । चोरी गरिएको गरगहना काठमाडौं पुगेर रसाइलीलाई बिक्री गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारैजनालाई हेटौंडा ल्याएर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।