उत्पादनमूलक उद्योगले ५० प्रतिशतसम्म चालू पूँजी कर्जा लिन पाउने
चाडपर्वलक्षित व्यवसाय गर्नेलाई पनि कर्जा सुविधा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगलाई कारोबारको ५० प्रतिशतसम्म चालू पूँजी प्रकृतिको कर्जा दिन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार चालू पूँजी कर्जा मार्गदर्शन संशोधन गर्दै उत्पादन मूलक उद्योगलाई राहत दिएको हो । यसअघि २ करोड रुपैयाँसम्म र कारोबारको ४० प्रतिशतसम्म मात्रै चालू पूँजी कर्जा उपयोग गर्न पाउने व्यवस्था थियो ।
सोही व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले ४ करोड रुपैयाँ र कारोबारको ५० प्रतिशतसम्म यस्तो कर्जा लिन पाउने व्यवस्था मिलाएको हो । तर अन्यका लागि भने ४० प्रतिशत कर्जा लिन पाउने व्यवस्था छ । चालु पुँजी कर्जा सिजनल व्यवसायले पनि पाउने भएका छन् ।
रासायनिक मल खरिद, चाडपर्वसँग सम्बन्धित व्यापार गर्न चालु पुँजी कर्जा औचित्यको आधारमा प्रवाह गर्न सकिने केन्द्रीय बैंकले भनेको छ ।
कुनै ऋणीलाई एक आर्थिक वर्षमा दुई पटक भन्दा बढी आकस्मिक प्रकृतिको एडोक कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो कर्जा प्रदान गर्न सक्नेछ ।
यसअघि एक पटकभन्दा बढीको लागि मात्र सञ्चालक समितिको निर्णय आवश्यक थियो ।