बुटवलमा समाजवादी मोर्चाको शक्ति प्रदर्शन : सरकारको प्रशंसा र एमालेको आलोचना – Nepal Press

बुटवलमा समाजवादी मोर्चाको शक्ति प्रदर्शन : सरकारको प्रशंसा र एमालेको आलोचना

रुपन्देही । सरकारमा सहभागी रहेका माओवादी, नेकपा एस, जसपा र संसदमै नभएको विप्लव नेतृत्वको नेकपाले मंगलबार बुटवलमा शक्ति प्रदर्शन, जनसभा तथा मोर्चाको प्रदेश कमिटी घोषणा गरेको छ ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा खचाखच भरिएका ती दलका कार्यकर्तालाई सम्बोधन गर्न दलका शीर्ष नेताहरु मंगलबार नै काठमाडौंबाट यहाँ आएका थिए ।

सोमबारसम्म काठमाडौंमा एमसीसीविरुद्धको आन्दोलनमा रहेका नेकपा महासचिव विप्लव सी गाडीबाट करिब १२ बजे कार्यक्रमस्थलमा आइपुगेका थिए भने नेता नेपाल र यादव भैरहवा एयरपोर्टबाट साढे १० बजे आइपुगेका थिए भने प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाट सिधै सम्मेलन केन्द्रमा ओर्लिएका थिए ।

मंगलबार उनी संसदमा रहेको सवालजवाफ कार्यक्रमबाट सिधै आएका थिए । ‘म संसदबाट सिधै आएको हुँ, हेर्नुस त यो सरकारी ड्रेसमै छु, संसदबाट सिधै आएको हुँ’ आफूले लगाएको सरकारी पोशाक देखाउँदै उनले भने ।

कार्यक्रम सुरु नहुँदै खचाखच भरिएको हलमा करिब साढे १ मा प्रचण्ड आएसँगै कार्यक्रम शुभारम्भ भएको थियो । तोपजस्तै पटका पड्काएर उद्घाटन गर्न खोजिएको कार्यक्रममा चार दलका चार नेतालाई यो पड्काउन दिइएको थियो ।

नेकपाका नेताहरुले संयोजन गरेकाले विप्लवले यो सजिलै फुटाएर भने, प्रचण्ड र राजकिशोरले सहयोगीको साथ खोजेर पड्काउनुुपर्यो तर माधव नेपालले सहयोग लिएर पनि पड्काउन नसकेपछि हलमा हाँसोको फोहोरा छुट्यो । सोही समयमा कार्यक्रम संचालक माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बरालले हँसाए, ‘यस्तै पड्काएर आएकाहरु धेरै समय भएकाले बिर्सेजस्तो छ ।’

कार्यक्रममा सहभागी धेरै अनुहार विप्लव नेतृत्वको नेकपा र माओवादी केन्द्रका देखिन्थे । उनीहरुको हाउभाउ अनि नेताहरुले बोल्ने समयको हुटिङ अनि नेतृत्वको संकेतबाट पनि त्यो प्रष्ट झल्किन्थ्यो । हलमा वक्ताहरुले प्रचण्ड, विप्लवको प्रशंसा अनि सरकारको बचाउ गर्दा सहभागीले हुटिङ गर्दै सिठ्ठी बजाएका थिए । व्यवस्थित सभाहलमा गरिएको कार्यक्रम भएपनि सहभागी धेरै भएकाले धेरैलाई बसाउन समस्या देखिन्थ्यो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारको समर्थन र एमालेको विरोध गर्दा हलमा सहभागीले हुटिङ गर्थे । जसपाका राजकिशोर यादव, नेकपाका विप्लव र माओवादी केन्द्रका प्रचण्डले धेरै ताली पाउनेगरी अभिव्यक्ति दिएका थिए । प्रचण्डले आफू प्रधानमन्त्री हो कि दलको अध्यक्ष भन्ने बडो अफ्ठेरो भएको बताउँदा हलमा भएका अधिकांश हाँसेका थिए ।

प्रचण्डले प्रतिगामीको षडयन्त्र, विदेशी शक्तिको षडयन्त्र, मोर्चाले आन्दोलन थाल्ने र सबै माओवादी घटक एक हुने विषय र एमाले नेता ओलीको आलोचना गर्दा धेरै हुटिङ पाएका थिए भने राजकिशोरले सरकारको समर्थन र प्रचण्डको योगदानको चर्चा गर्दा धेरै ताली पाएका थिए ।

नेता विप्लवले एसमसीसीको विरुद्ध बोल्दा र अहिले भएका परिवर्तनका उपलब्धिका विषयमा चर्चा गर्दा धेरै ताली पाए । सभामा नेता माधव नेपालले सरकारका उपलब्धी र मोर्चाको आवश्यकताका विषयमा चर्चा गरेपनि अरुले जस्तो हुटिङ पाएनन् ।

 


प्रतिक्रिया

One thought on “बुटवलमा समाजवादी मोर्चाको शक्ति प्रदर्शन : सरकारको प्रशंसा र एमालेको आलोचना

  1. दिल्लीका दुतहरूले गर्ने भनेकै एमालेको विरोध हो । देश लुटने एमालेको विरो गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर