गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि छानबिन समिति गठन
रुपन्देही । मंगलबार गुल्मी अस्पतालमा उपचारका क्रममा ७ वर्षकी बालिका मृत्यु भएपछि भएको विषय छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ ।
सोमबार अस्पतालमा ल्याइएकी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान उपचारको मृत्यु भएको थियो । बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि मंगलबार दिनभर गुल्मी अस्पताल तनावग्रस्त बनेको थियो ।
बालिकाको मृत्युपश्चात उत्पन्न समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको कार्यकक्षमा अस्पताल प्रशासन, पीडितका आफन्तबीच छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।
समितिको सदस्यमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थ, श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डा. बिवेक खनाल, रेसुंगा नगरपालिकाका अधिकृत बिनोद मरासिनी र प्रहरी निरीक्षक किरण सापकोटा रहेका छन् ।
समितिले बुधवार बिहान ८ बजे बालिकाको शब पोष्टमार्टट गरेर छानबिनको सुरुवात गर्ने भएको समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गैरे बताए । उनका अनुसार बालिकाको शव पोष्टमार्टम श्रृङ्गा स्वास्थ्य चौकीका प्रमुख डा. विवेक खनालले गर्नेछन् ।
बालिकाको मृत्युको छानबिन माग गर्दै आन्दोलनमा उत्रिएका दुई युवक जलेर घाइते भएका छन् ।
आन्दोलनमा उत्रिएका पीडित पक्षले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै टायर बाल्ने क्रममा पेट्रोल शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका–६ र ७ का लक्ष्मण पाण्डे र कृष्ण पौडेल जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
एक्कासी पेट्रोल खनाएर बाल्ने क्रममा पाण्डे र पौडेलको शरीरमा परेर जलाउँदा घाइते भएका हुन् । उनीहरुलाई तम्घासमा सामान्य उपचार गरी थप उपचारको लागि पाल्पा लगिएको हो । उनीहरुको तानसेनस्थित मिसन अस्पतालमा उपचार हुँदैछ ।