सुन काण्डको अनुसन्धान गर्न सीआईबीका एसएसपी आचार्य हङकङतर्फ
काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुन प्रकरणको अनुसन्धानका लागि एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको छ।
मङ्गलवार साँझ एसएसपी आचार्य हङकङतर्फ लागेका छन्। ब्रेक सुमा राखेर भएको ६० केजी सुन तस्करी प्रकरणमा हङकङ जोडिएपछि सीआईबीले एसएसपीलाई त्यसतर्फ पठाएको हो।
प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोलसँगको समन्वयमा आचार्यले त्यहाँ काम गर्ने बुझिएको छ।
यसअघि हङकङबाट आएको ब्रेक सुलाई राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको थियो।
यो प्रकरणमा हालसम्म २३ जना पक्राउ परेका छन्। त्यसमा ७ जना चिनियाँ नागरिक पनि छन्।
चिनियाँ नागरिकसँग नेपालको पनि नागरिकता रहेको पाइएको छ।
गिरोहले नेपालको बाटो भएर भारततर्फ सुन तस्करी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।