युवाले ठूला सपना देख्नुपर्छः एनसेल सीईओ जाब्बोर
काठमाडौं । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले ठुलो सफलता हासिल गर्न सपना देख्नुपर्ने बताएका छन् ।
‘काठमाडौं युथ कन्क्लेभ २०८०’ कार्यक्रममा सहभागी युवाहरूलाई प्रोत्साहन गर्दै सीईओ जाब्बोरले राम्रो र ठुलो सफलता हासिल गर्न सपना देख्नुपर्ने बताएका हुन् ।
उक्त ‘केवाईसी’ संस्करणको ‘इन्स्पायरिङ युथ, लिडिङ द नेसन’ कार्यक्रमा नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत, मास्टरशेफ सन्तोष शाह, ट्रेल रनर मीरा राई, ईसेवाका सीईओ जगदीश खड्का, क्रिकेटर पारस खड्का र रूपेश्वर गौरा दासजस्ता प्रेरणादायी वक्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागी युवाहरुलाई लक्षित गर्र्दै जाब्बोरले भने, ‘यदि तपाईं अझ राम्रो गर्न चाहनुहुन्छ र ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने तपाईंले सपना देख्नु पर्छ ।’
‘प्रतिस्पर्धाले तपाईंलाई राम्रो बनाउँछ । राम्रा प्रतिस्पर्धीहरूले तपाईंलाई अझ राम्रो बनाउँछन’, ‘उनले भने, “आफूले विश्वास गरेको कुरा सिक्ने जोस हुनुपर्छ र त्यसलाई भिजुअलाइज गर्नुपर्छ । व्यक्तिगत रूपमा युवाहरूसँग जोडिन पाएकोमा र उहाँहरूको ऊर्जा देखेर म साँच्चै प्रेरित भएको छु । यस किसिमको सम्मेलनले युवा प्रतिभाहरूको प्रवर्द्धनमा सहयोग गर्ने एनसेलको प्रतिबद्घतालाई बढावा दिन्छ ।’