एमाले कोशीको कमाण्ड सम्हाल्न यी नेताको दाबी, कसले मार्ला बाजी ? – Nepal Press
एमाले प्रदेश अधिवेशन

एमाले कोशीको कमाण्ड सम्हाल्न यी नेताको दाबी, कसले मार्ला बाजी ?

विनोद र तुलसी प्रमुख प्रतिस्पर्धी

विराटनगर । एमाले कोशी प्रदेशको अध्यक्ष बन्न तीनजनाले आन्तरिक तयारी थालेका छन् । आगामी असोज १२ र १३ गते हुने अधिवेशनबाट कोशीले नयाँ नेतृत्व पाउँदैछ ।

पदाधिकारीका आकांक्षीले भने अहिलेसम्म सार्वजनिकरूपमा दाबी देखाएका छैनन् । एमाले स्रोतका अनुसार पार्टीले भने सहमतिमा नै प्रदेशको नेतृत्व छान्ने तयारी गरेको छ । तर, दाबेदार धेरै हुँदा चुनावै गर्नेसम्मको तयारीमा उनीहरू देखिन्छन् ।

अहिलेसम्म कोशीको अध्यक्ष बन्न विनोद ढकाल, तुलसी न्यौपाने , घनश्याम खतिवडा र टीकाराम चेम्जोंगको दौडधुप छ । ढकाल केन्द्रीय सदस्य तथा प्रदेशका सहइन्चार्जसमेत हुन् । उनी अहिले धनकुटा जिल्लाको इन्चार्जको जिम्मेवारीमा पनि छन् । उनले २ कार्यकाल मोरङको जिल्ला अध्यक्ष भएर काम गरेका छन् ।

तर, मुख्य दाबेदार ४ जना देखिएपनि अन्तिममा ढकाल र न्यौपानेमध्ये एकजना अध्यक्ष बन्ने देखिन्छ ।

पार्टी अध्यक्ष ओलीसँग नजिक सम्बन्ध भएका ढकालले कोशी प्रदेशको अध्यक्ष बन्नका लागि आन्तरिक तयारी थालेका हुन् ।

कोशी प्रदेशमा ओली समूह कमजोर हुँदा समेत ढकालले ओली समूहमा बसेर काम गरेका थिए । उनी अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसमेत भए । न्यौपाने भने अहिलेका प्रदेश अध्यक्ष हुन् । उनलाई पार्टीले तदर्थ समितिको अध्यक्षको जिम्मेवारी दिएको थियो ।

संख्वासभा घर भएका न्यौपाने संखुवासभाकै सचिव हुँदै जिल्ला अध्यक्ष भएका हुन् । न्यौपाने २०७४ को निर्वाचनमा प्रदेश सांसद निर्वाचित भएका थिए । माधव नेपाल एमालेमै रहेका बेला २ लाइन संघर्ष चल्दा उनी माधव नेपालसँग नजिक थिए । पार्टी नेतृत्वले अध्यक्षको जिम्मेवारी दिए आफू अध्यक्ष बन्न तयार रहेको उनको भनाइ छ । उनी कोशीका आर्थिक मामिला तथा योजनामन्त्री पनि भए ।

न्यौपानेले नेपाल प्रेससँग भने, ‘कार्यकर्ताको समर्थन र नेतृत्वको विश्वास भए म अध्यक्षका लागि तयार हो । तर, अहिले नै म हो भनेर प्रचार गर्दै हिँडेको छैन ।’

अर्का दाबेदार टीकाराम हाल प्रदेश कमिटी उपाध्यक्ष हुन् । धनकुटा घर भएका चेम्जोङ्ग संविधानसभा सदस्यसमेत भए ।

घनश्याम खतिवडा भने मोरङका पुराना नेता हुन् । प्रदेश प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका उनीसँग मदन भण्डारीसँगै काम गरेको लामो अनुभव छ ।

कोशी प्रदेश कमिटीका सचिव चिन्तन पाठकले असोज ५ गते प्रदेशका सबै स्थानीय तहमा एकै दिन प्रतिनिधि छनोट हुने बताए । सर्वसम्मतरूपमा प्रतिनिधि छनोट नभए निर्वाचन प्रक्रियाबाट पालिकाबाट प्रतिनिधि आउने छन् ।

एमालेले एक हजारसम्म सदस्य रहेको पालिकाबाट १०० जना बराबर एक र त्यसभन्दा बढी भएको पालिकामा १५० जना बराबर एकजना अधिवेशन प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाएको छ ।
पाठकले प्रदेश अधिवेशनमा एक हजारदेखि ११ सय जनासम्म प्रतिनिधि आउने जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर