स्वास्थ्यकर्मीको काज फिर्ता एक महिनाभित्रै टुंगिन्छ : मन्त्री बस्नेत (भिडिओ)
काठमाडौं । स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले एक महिनाभित्रै काज फिर्ताको विषय टुंगिने बताएका छन् ।
बिहीबार नेपालगञ्जको भेरी अस्पतालको निरीक्षण गर्ने क्रममा अस्पताल विकास समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहुँच र भनसुनको भरमा मन्त्रालय र आफू अनुकूल ठाउँमा वर्षौदेखि काजमा बस्नेहरु अब एक महिनाभित्रै आफ्नो दरबन्दीमा जाने बताए ।
उनले कतै चाहिएको भन्दा धेरै स्वास्थ्यकर्मी हुने र कतै स्वास्थ्यकर्मीको अनुहारै नदेखिने स्थिति आएपछि काज फिर्ताको कामलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागिएको पनि स्पष्ट पारे । काज फिर्ता हुन थालेपछि चिकित्सकको अनुहार नै नदेखिएका विकटका ठाउँका जनताले चिकित्सकीय सेवा पाउन थालेको समेत स्मरण गराए ।
संविधानले नै स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरिसकेकाले पैसा र उपचार अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सवालमा मन्त्रालय स्पष्ट रहेको उनको भनाइ छ ।