एमाले बिर्सिएको समाजवादी मोर्चाको सन्देश सभा – Nepal Press

एमाले बिर्सिएको समाजवादी मोर्चाको सन्देश सभा

पोखरा । ‘दोषी छ भने जोसुकै माओवादी होस्, कांग्रेस होस्, एमाले होस्, समाजवादी होस्, कोही नछुटोस्, कोही निर्दोष नपरून्’ सुरक्षा निकाय र अनुसन्धानका संयन्त्रलाई दिइएको निर्देशन सुनाउँदै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार भने ।

उनले बारम्बार यही आशय दोहोर्‍याउँदै आएका छन् । खास गरी, माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरा सुन काण्डमा संलग्न भएका समाचारहरू सार्वजनिक भएपछि प्रधानमन्त्री दाहाललाई उनीहरूमाथि अनुसन्धान गर्न तीव्र दबाब छ ।

पोखरामा शुक्रवार आयोजित सन्देश सभामा करिब ५० मिनेट सम्बोधन गरेका प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा एक पटक मात्रै प्रमुख प्रतिपक्ष दल एमालेको नाम लिए ।

उनी मात्रै होइन, सन्देश सभामा बोल्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र जनता समाजवादी पार्टीका कार्यकारी सदस्य शिवलाल थापाले समेत सम्बोधनका क्रममा एमालेको नाम लिएनन् ।

एउटै पार्टी नेकपा बनाएर फेरि अदालतको आदेशले फरक फरक मार्गमा उभिएका प्रचण्ड र एमाले अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध निकै उतारचढावपूर्ण छ ।

एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डले बीच करिब शतप्रतिशत सांसदको मत पाए । पछि गठबन्धन नै फेरेर सत्तामा कायम छन् । आफ्नो भारत भ्रमणमा ऐतिहासिक उपलब्धि भएको दाबी गरेको प्रचण्डले सदनमा उभिएर त्यसको व्याख्या गर्न पाएनन् ।

प्रतिपक्षी एमालेले लगातार लामो समय सदनमा अवरोध गरेको थियो । सुरुमा उच्च स्तरीय संयन्त्र गठन आवश्यक नभएको बताएको सत्ता गठबन्धन पछि लचिलो बन्यो । संयन्त्र गठनमा सहमति भएपछि सदनचाहिँ खुलेको छ ।

गठबन्धन परिवर्तनदेखि समाजवादी मोर्चाको भविष्यसम्मको आफ्नो लामो व्याख्या सुनाएका प्रधानमन्त्री प्रचण्डले एमालेको भाषणका क्रममा एक पटक मात्रै एमालेको लिएका थिए ।

केही दिनअघि मधेस प्रदेश र लुम्बिनीमा भएका सन्देश सभामा उनले एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेरै आलोचना गरेका थिए । तर, शुक्रवार पोखराको सभागृहमा भएको सन्देश सभामा भने प्रचण्डसहित सबै नेताले एमालेको बारेमा आलोचना त परैको कुरा, नामसमेत लिएनन् ।

प्रधानमन्त्री प्रचण्डले एक पटक एमाले र एमाले अध्यक्ष ओलीको नाम लिएका थिए । जुन आलोचनाका लागि थिएन । कुनै कुनै बेला प्रमुख प्रतिपक्ष दलले असहयोग गरेको भन्ने भाव व्यक्त गरे पनि उनले एमाले भन्ने शब्द प्रयोग गरेनन् ।

शान्ति प्रक्रियामा माओवादी आएपछि त्यो बेला पहिलो संविधानसभामा उसले ३ क्षेत्रमा जितेको थियो । त्यो बेला चार क्षेत्र रहेको कास्कीमा एक क्षेत्र एमालेले जित्दा कांग्रेस क्लिनस्विप भएको थियो ।

सत्ता गठबन्धनका बाबजुद गएको निर्वाचनमा पनि एमालेले प्रतिनिधिसभाका तीन सिटमै विजय हासिल गरेको छ । गठबन्धनले प्रदेशका २ सिटमा चित्त बुझाएको छ ।

एमालेको गढमा आएका मोर्चाका नेताहरूले एमाले नेता, कार्यकर्तामा सकारात्मक मनोविज्ञान सिर्जन गर्न पनि यसो गरेको हुन सक्छ ।

नेकपा विभाजनपछि केपी ओली, प्रचण्ड र माधवकुमार नेपालका शायदै कुनै सम्बोधन थिए, जहाँ विपक्षको आलोचना नगरिएको होस् । एमालेबाट छुट्टिएर नयाँ पार्टी बनाएका नेपालले यसअघिका सम्बोधनमा अधिकांश समय एमाले र एमाले अध्यक्ष ओलीको आलोचना गर्थे । यसो त नेपाली राजनीतिमा एक अर्कालाई आलोचना गर्ने र आरोप लगाउने परम्परा नयाँ होइन । तर, यसपालि भने त्यसो भएन । अध्यक्ष नेपालले सम्बोधनका क्रममा एमालेको नाम एक पटक पनि लिएनन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले ‘जसपाका अध्यक्ष उपेन्द्र यादव पहिले हाम्रै पार्टीमा हुनुहुन्थ्यो’ भने तर, एमालेमै हुनुहुन्थ्यो भनेनन् । ‘उपेन्द्रजी पहिला हाम्रो पार्टीमा हुनुहुन्थ्यो, त्यसपछि माओवादीमा जानुभयो । अहिले कम्युनिस्ट छाड्नुभएको छ, छिट्टै फर्केर आउनुहुन्छ,’ उनले सम्बोधनका क्रममा भनेका थिए । तर, उनले एमालेको नाम लिन चाहेनन् । जसपाका अध्यक्ष उपेन्द्र यादव एमाले थिए, त्यसपछि माओवादी हुँदै फोरममा प्रवेश गरेका थिए । मधेश आन्दोलनको रापतापलाई प्रयोग गरी उनले राजनीतिक दल बनाएका हुन् ।

कार्यकर्ताबाट एक्लिँदै गएका अध्यक्ष नेपालले कार्यकर्तालाई जनतामाझ जान आग्रह गरे । उनले समाजवादी मोर्चासँगै आफ्नो पार्टीलाई मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए । तर उनका पार्टीका धेरै कार्यकर्ता एमालेमै फर्किइसकेका छन् । कतै कतै त जिल्ला कमिटी नै एमालेमा विलय भएका छन् । जति उनको पार्टीमा बाँकी छन्, तिनीहरूको स्वर पनि निराश सुनिन्छ ।

नेकपा महासचिव विप्लवले पनि सम्बोधनका क्रममा एमालेको नाम उच्चारण गरेनन् । कम्युनिस्ट पार्टीहरू एकै ठाउँमा हुन आवश्यकता रहेको टिप्पणी गरेका उनले एमालेको न आलोचना गरे, न प्रशंशा । प्रचण्डबाहेकका सबै नेताले सरकारले गरेका काम र प्रचण्ड सरकारको प्रशंशा गरेका थिए । समाजवादी मोर्चा बनाएर अगाडि बढेका उनीहरूले मोर्चामै सीमित नरहने र पार्टी एकतासम्म पुर्‍याइ नेपालकै ठूलो विशाल कम्युनिष्ट पार्टी बनाउने जनतालाई आश्वासन बाँडिरहे ।

सोही कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा माधव नेपाल अब औपचारिक रूपमा निर्दोष साबित भएको दाबी गरे । पूर्व प्रधानमन्त्री र सत्ता साझेदार नेपालमाथि मुद्दा चले उनको पार्टी छिन्नभिन्न हुने र प्रचण्ड सरकारमाथि पनि संकट आउन सक्छ ।

खास गरी वामपन्थी जनमत आकर्षण गरी एमालेसँग मुकाबिला गर्न र सत्तामा कांग्रेससँग बार्गेनिङका लागि बनाइएको मोर्चालाई नेताहरूले साझा मुद्दा हुनेहरूको सहकार्यको रूपमा अर्थ्याउने गरेका छन् । तर, उनीहरूले भन्ने गरेको साझा मुद्दा ‘समाजवाद’ के हो, र कसरी त्यहाँ पुग्ने भन्नेमा उनीहरू नै स्पष्ट छैनन् ।


प्रतिक्रिया

2 thoughts on “एमाले बिर्सिएको समाजवादी मोर्चाको सन्देश सभा

  1. सत्ताको मोह ले गर्दा विचार पोलेर खाएका दासहरू को भिडको मोर्चा कांग्रेस हुन लालायित समुह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *