लुम्बिनीबाट एमाले शीर्ष नेताको संकेत- केन्द्रीय नेतृत्वमा केपी ओलीको विकल्प छैन – Nepal Press

लुम्बिनीबाट एमाले शीर्ष नेताको संकेत- केन्द्रीय नेतृत्वमा केपी ओलीको विकल्प छैन

रुपन्देही । नेकपा एमालेभित्र केन्द्रीय नेतृत्वमा अध्यक्ष केपी ओलीलाई पुनः दोहोर्याउने कि नदोहोर्याउने विषयको चर्चा चलिरहेका बेला लुम्बिनीमा शनिवारदेखि सुरु भएको पार्टीको प्रदेश अधिवेशनमा यो विषयले प्रवेश पाएको छ ।

उमेर र स्वास्थ्यका कारण ओलीलाई अब पुनः तेस्रो कार्यकाल जिम्मेवारी पठाउन नहुने पार्टीका केही नेताहरूले बहस चलाइरहेका बेला पार्टीमा ओलीपछि नेतृत्वको दाबी गर्ने नेताहरूले नै उनको विकल्प अहिले नभएको प्रष्ट पारेका छन् ।

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले यो विषयमा ओलीको सामुन्ने लामै व्याख्या गरेर पार्टीभित्र नीति र नेतृत्वको विषयमा कुनै विवाद नभएको र पार्टीले सञ्चालन गरेको मिसन ०८४ को नेतृत्व अध्यक्ष केपी ओलीबाटै हुने प्रष्टसँग भनेका छन् ।

एमालेले यसअघि उमेर हद तोकेर उमेर पुगेका नेताहरूलाई नेतृत्वका लागि रोक्न खोजेको कानुन बनाए पनि अहिले त्यसलाई हटाइएको छ । धेरैले यसलाई ओलीलाई पुनः अध्यक्ष बनाउन ल्याइएको भनेर प्रचार गरेका छन् ।

शनिवार बुटवलमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अध्यक्ष ओली नै निर्विकल्प पार्टीको नेतृत्वमा रहने स्पष्ट संकेत गर्दै कसले धेरै प्रशंसा गर्ने होडबाजीजस्तै गरेका थिए ।

उपाध्यक्ष पौडेलले भने, ‘हाम्रो पार्टीमा नीति र नेतृत्वमा कुनै विवाद छैन, अध्यक्ष केपी शर्मा ओली निर्विवाद हुनुहुन्छ, मिसन ०८४ को नेतृत्व उहाँबाटै भइरहेको छ ।’

महासचिव पोखरेलले पनि यही कुरा पटक पटक दोहोर्‍याएका थिए । ‘नीति र नेतृत्वको विषयमा पार्टीमा कुनै समस्या छैन, अध्यक्ष ओलीको नेतृत्वमा पार्टीमा कुनै विवाद छैन, मिसन ०८४को नेतृत्व उहाँले नै गर्नुभएको छ ।’ उनले भने ।

उनीहरु दुवैले प्रदेशको नेतृत्वमा आफूहरू बीच कुनै विवाद नभएको, एमाले बलियो बनाउन दुवै जनाले सहकार्य गरेको भन्दै नेताकार्यकर्तालाई प्रष्टाउने प्रयास गरेका थिए ।

तर पार्टी अध्यक्ष ओली लुम्बिनीमा नेताहरूले आफू निकटका व्यक्तिलाई नेतृत्वमा ल्याउन गुट बनाएको विषय बाहिर आएपछि असन्तुष्ट बनेका थिए ।

शनिवारको सभामा ओली त्यो असन्तुष्टिको विषय प्रष्टसँगै राख्दै भने- ‘मैले पौडेलजी र पोखरेलजीका कुरा सुने, केही त बजारमा बनेर आएका विषय पनि होलान्, तर नेतृत्वका लागि विवाद छैन भनेर तपाईँहरूले देखाउने समय आएको छ, १९ पदाधिकारीमा ७ जना यहीँबाट हुनुहुन्छ र अनि यहाँको नेतृत्वको लागि विवाद भएका कुरा बाहिर आउनुहुन्छ । तपाईँहरू आजै बसेर मिलाउनुहोस्, सहमतिमा टुङ्गाउनुहोस्, म घोषणा गरेर जान्छु ।’

अध्यक्ष ओलीभन्दा पहिले नै यो विषयमा आफूहरुबीच कुनै विवाद नभएको भन्दै दुवै नेताहरूले सफाइ त दिएका थिए तर केही दिनयता दुवै पक्षका नेताहरूको बीचमा बढ्दै गएको विवादका विषयमा जानकार रहेका अध्यक्ष ओलीले आफू आउनु अगाडि नै सबै सूचना लिएका थिए ।

अध्यक्ष ओलीसँगै नजिकको सम्बन्ध भएका नेतृ पद्मा अर्याल र पोलिटब्यूरो सदस्य सूर्य थापाले आज ओलीले भनेजस्तै गरी नेतृत्व सहमतिमा टुंगिने भएकाले दुई समूहमा भइरहेको तयारी र नेतृत्वका विषयमा बढेको असमझदारी अध्यक्ष आएसँगै समाधान हुने स्पष्ट पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर