६० प्रतिशतले इँटा उत्पादन घट्यो, मूल्यमा गिरावट आउँदा २ हजार उद्योग बन्द हुने अवस्थामा  – Nepal Press

६० प्रतिशतले इँटा उत्पादन घट्यो, मूल्यमा गिरावट आउँदा २ हजार उद्योग बन्द हुने अवस्थामा 

विराटनगर । विराटनगरका उद्योगी भीम घिमिरेसङ डेढ करोड भन्दा बढी इँटा तयारी अवस्थामा छन् । उनको भट्टामा अरू नयाँ इँटा पनि बनिरहेका छन् । तर बजार छैन । सरकारको नीति र आर्थिक मन्दीका कारण भौतिक निर्माणको काम हुन नसकेपछि बजार खस्कियो ।

घिमिरेका अनुसार अहिलेको बजार मूल्य अनुसार एउटा इँटा उत्पादन गर्न कम्तीमा २२ रुपैयाँ खर्च हुन्छ । तर यसपालि घिमिरेले १६ रुपैयाँ प्रति गोटा इट्टा बेचिरहेका छन् ।

बजार नभएपछि अरू उद्योगीहरूले मूल्य घटाएर बेच्न थाले उनले भने बैकको व्याज, बोक्नु भन्दा लागत न उठे पनि बेच्नु परेको छ ।

सुनसरीका इट्टा उद्योगी ईश्वर भट्टराईले पनि सरकारी नीतिका कारण इँटाको लागत उठ्न छडेको बताए । पछिल्लो समय कोइलाको भाउ दोब्बर बढेको छ ।

‘पेट्रोलियम पदार्थको भाउ पनि बढी रहेको छ’ उनले भने ‘इँटाको मूल्य भने निरन्तर घटिरहेको छ । एक वर्ष अघि सम्म कोशी प्रदेशमा २५ रुपैयाँ प्रति गोटा सम्म इँटा बिक्री भएको थियो ।’

यस पटक अधिकतम १८ रुपैयाँमा बिक्री भएको भट्टराईले बताए । कोशी प्रदेशमा ८० भन्दा बढी साना ठुला इट्टा उद्योग छन् । एउटा उद्योगमा सबै भन्दा कम ५ करोड रुपैयाँ लगानी छ ।

भौतिक निर्माणको काम ठप्प हुँदा इँटा उद्योगी धराशायी भएको भन्दै सरकारसँग सहुलियतको माग गरेका छन् । आर्थिक मन्दीको असर इँटा उद्योगमा परेको भन्दै सरकार सङ्ग सहयोग मागेका छन् ।

उनीहरूले सङ्घीय तथा प्रदेश सरकारले औद्योगिक विकासका लागि महत्त्वपूर्ण भूमिका रहेको इँटा उद्योगलाई नहेरेको गुनासो गरेका छन् ।

सुनसरीको इटहरीमा भएको नेपाल इँटा उद्योग महासङ्घ कोसी प्रदेश समितिको प्रथम साधारण सभामा बोल्दै उद्योगीहरूले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि र बैङ्कको चर्को ब्याजदरका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए ।

सरकारले कोइला आयात र विद्युतमा सहुलियत नदिएका कारण इँटा व्यवसायी मारमा परेको उनीहरूको गुनासो छ ।

आर्थिक मन्दीको असरले ६० प्रतिशत उत्पादन घटाएको सङ्घका केन्द्रीय अध्यक्ष शङ्कर बहादुर चन्दले बताए ।

देशभरमा २ हजार इँटा उद्योग रहेका छन् । ती उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको मुस्किलले ४० प्रतिशत मात्र उत्पादन गरिरहेको चन्दको भनाई छ ।

अहिले इँटा उद्योगीले लागत भन्दा पनि कम मूल्यमा इँटा विक्री गर्नुपरेको र उद्योगले दिने रोजगारीमा पनि कटौती भइरहेको उनले बताए ।

‘यो समस्याप्रति सरकारको ध्यान आकर्षण हुनुपर्ने हो तर सरकारले अहिले सम्म हेरेन’, चन्दले भने ।

अहिले इँटा उद्योगमा प्रयोग हुने कोइला भारत, इण्डोनेशिया तथा अमेरिकाबाट आयात हुने गरेको छ ।

गुणस्तरीय कोइला आउन नसक्दा एकातिर प्रदूषणको मात्रा बढिरहेको व्यवसायीले महँगो कोइला खरिद गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *