सिन्धुलीबाट महेश बस्नेतको घोषणा- राजन दाहाल आफ्नै अपराधबापत जेलको कालकोठरीमा पुग्छन् (भिडिओ)
सिन्धुली । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा युवा संघ इन्चार्ज महेश बस्नेतले माओवादी केन्द्रका सांसद राजन दाहालले विगतका गरेका अपराधबापत एक दिन जेल जाने दावी गरेका छन् ।
राष्ट्रिय युवा संघ सिन्धुलीको नवौं जिल्ला अधिवेशनलाई आइतवार सम्बोधन गर्दै बस्नेतले रामेछाप र सिन्धुलीमा राजन दाहालले गरेको मानवता विरोधी अपराध र लुटपाटको सजाय एमालेले दिलाएरै छाड्ने दाबी गरे ।
उनले भने– रामेछापमा एमालेका तत्कालीन नेता देवशंकर पौडेललाई भिरबाट लडाएर हत्या प्रयास गर्ने नाइके,कालोमोसो दलेर दुव्र्यवहार गर्ने नाइके,ईश्वर पोखरेल पशुपति चौलागाई लगायतका नेतालाई तामाकोशीमा खसाल्न भिरबाट ढुंगा लडाउने नाइके,रातामाटेमा हाम्रो एक लाख रुपैया लुटेर हाम्रो कमरेड केशव देवकोटालाई अपहरण गर्ने राजन दाहाल एकदिन जेलको कालकोठरीमा जान्छ हेरिराख्नु होला ।
पछिल्लो समय एमालेविरुद्ध पुनः आक्रामक बनेर नेताहरुमाथि आरोप लगाइरहेका दाहाल सिन्धुली २ का सांसद समेत हुन् । बस्नेतले १५ वर्षअघि सिन्धुलीको रातामाटे घटना स्मरण गर्दै आफ्नो औंला भाँचिदिएको र नक्कली दाँत हालेर हिँडेको बताए ।
बस्नेतले राजन दाहालमात्र नभएर प्रचण्ड पनि जेल जाने दाबी गरे । अहिले भ्रष्टाचारका फाइल खोल्ने भन्दै माधव नेपाल र माओवादीका नेताहरुलाई सफाइ दिएर हिँडेका प्रचण्ड आफ्नै गल्तिका लागि जेल जाने दावी गरे ।
लडाकु शिविरकाके ४ अर्ब भ्रष्टाचारको उजुरी आफैंले हालेको भन्दै बस्नेतले बाबुराम भट्टराईले ४ होइन २१ अर्ब प्रचण्डले भ्रष्टाचार गरेको भनेर आफ्नो उजुरी सच्याउन सुझाव दिएको समेत उनले बताए ।