पैसा नदिएपछि कैँची, हँसिया र चक्कुले हानेर हजुरआमाको हत्या : लाश लुकाएका थिए, यसरी पक्राउ परे दीपक र आशीष – Nepal Press

पैसा नदिएपछि कैँची, हँसिया र चक्कुले हानेर हजुरआमाको हत्या : लाश लुकाएका थिए, यसरी पक्राउ परे दीपक र आशीष

कैलाली । भदौ ८ गते दार्चुलाको जोलजिवी हुँदै भारत जाने योजना बनाएका मालिकार्जुन गाउँपालिका–७ का २१ वर्षीय दीपक चन्द र दुहु गाउँपालिका–३ का १८ वर्षीय आशीष बमसँग गाडी भाडा समेत नभएपछि उनीहरु फर्किए ।

‘मेरो आमा (हजुरआमा) सँग पैसा मागौला । उनीसँग पैसा लिएर भारत जाउला’ चन्दले सँगै रहेका आशीष र अर्का एक जनालाई सुनाए । दीपक र आशीष पैसा माग्न भन्दै मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८३ वर्षीया भागरथी चन्दको घरमा पुग्छन् । ८३ वर्षीया भागरथी चन्दको दीपक चन्दको हजुर आमा हुन् ।

उनी घरमा आमा एक्लै बस्थिन् । दीपकको बुवा करिब १२ बर्ष देखी सम्पर्कविहीन छन् भने अमा दिदी भारतमै बस्छन् । दीपक भने महाकाली नगरपालिका ४ बागावगडमा परिवारसँगै होटेल गरेर बसिरहेका थिए । त्यस दिन पैसा माग्न गएका दीपक र आशीषले पैसा नपाएपछि भागरथीको बीभत्स हत्या गरे ।

‘पैसा माग्न गएको बेला विवाद भयो । मसँग छैन । पटक पटक किन पैसा चाहियो भनेपछि विवाद भएको हुनुपर्छ’, प्रहरी अधिकारीले भने, ‘सुरुमा कैँची उठाएर घाटीमा हाने, हरियाले घाटी रेटे र पेटमा पटक पटक सानो चक्कुले रोपेर बीभत्स हत्या गरे ।’

८ गते भागरथीको हत्या भएपनि प्रहरीले भने घटनाबारे १० गते साझ थाहा पाउँछन् । त्यो बेला सम्म उनीहरु दुवैजना पुलघाट हुँदै भारतको पिथौरागढ टनकपुरबाट पलिया पुगिसकेका थिए। त्यहीबाट बरेली हुँदै जाँदै थिए ।

भागरथीको हत्या गरेर घरमा भएको ४० हजार पैसा र उनले कानमा लगाएको सुन समेत लगेर उनीहरु भागेका थिए । उनीहरुले लगेको सुनको गहना ९० हजारमा बेचे । दुवै जनाले आकस्मिक रुपमा हत्या गरे पनि उनीहरुले त्यसपछि घटनालाई रहस्यमय बनाउन निकै ठूलो योजना बनाए ।

८ गते राति हत्या गरेर उनीहरुले ३ सय मिटर पर भिरालो जमिनमा शव फाल्छन् र झारले छोप्छन् । त्यसपछि घर भित्र आएर घटनास्थल सफा गर्छन् ।

‘घटना स्थलमा रगत पुछेको र डिटोल छर्केको समेत पाइयो’, अनुसन्धानमा संलग्न एक प्रहरीले अधिकारीले भने ‘हँसिया त्यही राख्छन् सफा गरेर । सुन, पैसा लिएर सबै कोठामा ढोका लगाउँछन् । चाबी र प्रयोग भएको चक्कु तथा कैँची ल्याएर फाल्छन् । ’

प्रहरीले केहि दिनमै खोला नजिक रुखको हाँगामा अड्किएको अवस्थामा घरको चाबी र प्रयोग भएको चक्कु तथा कैँची फेला परेको थियो । घरमा एक्लै बस्दै आएकी भागरथीलाई ९ गते छिमेकीले नदेखेपछि महेन्द्रनगर बस्ने जेठो छोरालाई उनीहरुले खबर गर्छन् । प्रहरीले १० गते घटना थाहा पाएपछि घटना स्थलमा पुग्दा बाहिरबाट चाबी लगाएको देखिन्छ ।

छोरा बुहारी पुगेपछि प्रहरी भित्र पस्छन् ।भित्र केहि भेटिएन । दोस्रो दिन ११ गते शव भेटिन्छ । हत्या पछि नाति फरार भएको विषयले घटनामा दीपकको संलग्नता रहेको बुझ्न प्रहरीलाई समय लाग्दैन ।

८ गते जोलजिवीको पुलमा दीपकसँगै आशीषको पनि फोटो प्रहरी फेला परेपछि उनीहरु दुबै जना माथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ८ गते स्थानीयले पनि प्रहरीलाई दीपकसँगै अर्का एक व्यक्ति पनि देखेको बयान दिएका थिए । त्यसले प्रहरीको शङ्का अझै बलियो बनायो ।

उनीहरु दुवैको प्रहरीले रेक्की सुरु गर्छ । १२ गते उनीहरु दुबै जनालाई कञ्चनपुर स्थित भिमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो ।

दुवै जनाबाट प्रहरीले २१ हजार रकम पनि बरामद गर्यो । उनीहरुले बयानमा गहना बचेको बारे बताएपछि गहन बेच्न प्रयोग भएका व्यक्ति र किनेका व्यक्तिलाई पनि प्रहरीले अहिले पक्राउ गरिसकेको छ । प्रहरीले जानकारी पाएको तीन दुई भित्रै दुबै जनालाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धान सकेर आज दुबै जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

‘घटनाबारे हामीलाई ढिलो जानकारी भयो चाँडै थाहा पाएको भए अझै चाडै पक्राउ पर्ने थिए’, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले भने ‘बिभिन्न ढङ्गबाट अनुसन्धान गर्दा उनीहरु पक्राउ परेका हुन् । ’

नेपालको सिम अफ गरेर भारतीय सिमा प्रयोग गरिरहेका उनीहरु काठमाडौँ लुकेर बस्ने योजना सहित भारतबाट पुन गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरे लगत्तै पक्राउ परेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर