इशान किशन र सुभमन गिल, जसले ७ वर्षअघि नेपालविरुद्ध खेलेका थिए
काठमाडौं। एसिया कपअन्तर्गत समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले सोमबार भारतसँग खेल्दै छ। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो पटक हो। तर हाल भारतीय टोलीमा रहेका २ खेलाडी र नेपाली टोलीमा रहेका ६ खेलाडी ७ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटमै आमनेसामने भएका थिए।
सन् २०१६ को यू-१९ विश्वकपमा भारत र नेपाल पहिलो चरणमै भिडेका थिए। त्यति बेला भारतीय टोलीको कप्तानी इशान किशनले गरेका थिए जो अहिले एसिया कप खेलिरहेका छन्। नेपाली टोलीमा त्यति बेला रहेका चार खेलाडीले अहिले एसिया कप खेलिरहेका छन्।
त्यति बेला पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभरमा ८ विकेट गुमाएर एक सय ६९ रन जोडेको थियो । त्यस खेलमा दीपेन्द्रसिंह ऐरी १, कुशल भुर्तेल ६ र आरिफ शेख २६ रन बनाएर आउट भएका थिए। सन्दीप लामिछानेले पनि ब्याटिङ गर्नु परेको थिएन।
यो खेल भारतले १८.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै जितेको थियो। प्रारम्भिक ब्याट्सम्यानका रूपमा उत्रिएका किशनले ५२ र ऋषभ पन्तले ७८ रन बनाएका थिए। किशनलाई सन्दीप लामिछानेले आउट गरेका थिए। त्यस विश्वकपमा भारत समूह विजेता र नेपाल उपविजेता बन्दै दोस्रो चरण पुगेका थिए। नेपालले न्युजिल्यान्ड र आयरल्यान्डलाई हराएर समूह उपविजेता बनेको थियो।
सोही वर्ष नेपाल र भारत एसिसी यू-१९ एसिया कपमा भिडेका थिए। त्यति बेला नेपालले एक सय ७३ रनको लक्ष्य दिएको थियो। रोहित पौडेलले आठौँ नम्बरमा ब्याटिङमा आएर ६८ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरीले ३४ रन जोडेका थिए। आसिफ शेखले १८ रन बनाएका थिए। भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। सुभमन गिलले ५७ रन बनाएका थिए। गिल अहिले एसिया कप खेलिरहेका छन्।
सन् २०१७ मा पनि नेपाल र भारत एसिसी यू-१९ एसिया कपमा उत्रिएका थिए। त्यस खेलमा भने नेपाल विजयी भएको थियो। भारतको त्यस टोलीमा रहेका कुनैपनि खेलाडी अहिले एसिया कप खेल्ने टोलीमा छैनन्।
नेपालले दीपेन्द्रसिंह ऐरीको ८८ रनको मदतमा एक सय ८६ रनको लक्ष्य दिएको थियो। त्यस खेलमा आसिफ शेख ३, रोहित पौडेल ६ र सन्दीप लामिछानेले ९ रन बनाएका थिए। भीम सार्कीले १५ र किशोर महतोले ७ रन बनाएका थिए। त्यति बेला नेपाली टोलीमा रहेका यी ६ खेलाडीले मात्र अहिले एसिया कप खेल्दैछन्।
उल्लेखनीय के छ भने सन् २००८ को यू-१९ विश्वकपमा भारत र नेपाल दुवै सहभागी थिए। त्यति बेला भारतीय टोलीको कप्तानी विराट कोहलीले गरेका थिए।
त्यति बेलाको टोलीका कोहली र रविन्द्र जडेजाले अहिले पनि एसिया कप खेलिरहेका छन्। तर त्यतिबेला नेपालका लागि खेलेका कुनै पनि खेलाडी अहिले एसिया कपमा छैनन्। त्यस विश्वकपमा भारत विजेता बनेको थियो भने नेपाल प्लेट च्याम्पियनसिपको फाइनलसम्म पुगेको थियो। त्यति बेला नेपाल र भारत आमनेसामने भने भएका थिएनन्।