एमाले सांसद पन्तको प्रश्न- चुच्चे नक्साबारे जानकारी दिन सरकारले कुन कुन देशलाई पत्राचार गर्यो ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले वर्तमान सरकारले चुच्चे नक्सा हाम्रो आधिकारिक हो भनेर कुन कुन देशलाई पत्राचार गरेको छ, सदनलाई जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘चीनले हालैमात्र नयाँ नक्सा जारी गर्यो । छिमेकमा हाम्रो देश देखाउँदा हाम्रो चुच्चे नक्सा छैन । परराष्ट्रमन्त्री अघिल्ला सरकारहरुले चिठ्ठी नै लेख्या रैन्छ भनेर आलोचना गरेर बसिराख्नुभएको छ । यो सरकारको दायित्व हो । परराष्ट्र मन्त्रालय र सरकारले हाम्रो संसदले पारित भएको नक्सालाई कुन कुन देशसँग के के पत्राचार गरेको छ ? त्यसको जानकारी संसदलाई देओस् ।’
उनले प्रधानमन्त्रीले पटक पटक घोषणा गरेर पनि चितवनमा निर्माणाधीन क्रिकेट रंगशालाको निर्माण कार्य नथालेकोप्रति आपत्ति जनाए ।
सांसद पन्तले खेलमैदान, घोषणा गरेको पुरस्कार केही नदिने सरकारले भारतविरुद्ध छक्का नै छक्का हानोस् भन्ने अपेक्षा राख्न नसुहाउने बताए ।