राजतन्त्रकालीन ऐनले पर्यटन क्षेत्रको विकास गर्न सकिँदैन: मन्त्री किराँती (भिडिओ)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालीन ऐनले वर्तमान पर्यटन क्षेत्रको विकास गर्न नसकिने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबार भएको बैठकमा उनले अहिले कार्यान्वयनमा रहेको पर्यटन ऐन २०३५ सालको रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकताअनुसार संशोधन गर्न सरकार लागेको बताए ।
सरकारले पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेको उनको भनाइ छ । पर्वतारोहणको क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिनेसहितको पर्यटन नियमावली संशोधन गर्न लागेको मन्त्री किराँतीले जानकारी गराए ।
उनले नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्यीय समिति गठन गर्न लागेको पनि जानकारी दिए ।
‘अण्डा दिने पोथी काटेर खाएपछि के हुन्छ ?’
सांसदले उठाएका प्रश्नबारे जवाफ दिँदै मन्त्री किराँतीले आफू मन्त्री भएर आएपछि नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गरे ।
उनले वायुसेवा निगमले पौने ४ अर्ब ऋण तिरेको भन्दै तीन वटा जहाज किन्ने तयारी पनि अन्तिम चरणमा पुगेको बताए । मन्त्री किराँतीका अनुसार निगमको ४८ अर्बको ऋण जहाज किन्न दिएर व्यापार गर्न दिएपछि मात्रै तिर्न सकिने बताए ।
‘एनओसीमा नाफा कति भनेर सोध्नुहुन्छ ? अरे यो धमिजा, लाउडा, वाइडबडी काण्ड हुँदै उड्डयन क्षेत्र यहाँसम्म आइपुग्दा एकैपटक जादुको छडीअनुसार परिवर्तन आउँदैन’, उनले भने, ‘तर पनि यो साल हामीले पौने चार अर्ब ऋण ति¥यौं । ४८ अर्ब ऋण कहिले तिर्छौ नि भनेर प्रश्न आइहाल्छ । अनि अण्डा दिने पोथीलाई नै काटेर खाएपछि कसरी हुन्छ त ? नकारात्मक सन्देश प्रवाह गरेर छलफल गर्नुहुँदैन ।’