विराट कोहलीको हातबाट फुत्किएर ऐतिहासिक अर्धशतक पूरा गरेका आसिफ – Nepal Press

विराट कोहलीको हातबाट फुत्किएर ऐतिहासिक अर्धशतक पूरा गरेका आसिफ

काठमाडौं । नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले करियरको उल्लेखनीय सफलता हात पारेका छन् । भारतविरुद्ध अर्धशतक पूरा गर्दै उनले ऐतिहासिक सफलता प्राप्त गरेका हुन् ।

आसिफ भारतविरुद्ध अर्धशतक बनाउने पहिलो नेपाली ब्याट्सम्यान हुन सफल भएका छन् । भारतविरुद्ध उनले ५८ रन बनाए । ९.५ ओभरमा उनले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै भारत र भारतीय बलरलाई निराश बनाएका थिए ।

त्यसपछि रोहित पौडेल, कुशल मल्ल र भीम सार्की सस्तैमा आउट भए पनि गुल्सन झासँग पाँचौं विकेटका लागि ३१ रनको साझेदारी गर्दै उनले नेपाललाई सम्हाल्ने प्रयास गरेका थिए । उनी पाँचौं विकेटका रुपमा आउट हुनुअघि नेपालले १३२ रन जोडेको थियो ।

यसअघि आसिफले दोस्रो ओभरको पहिलो बलमा जीवनदान पाएका थिए । मोहम्मद सिराजको बलमा उनले विराट कोहलीबाट जीवनदान पाएका थिए । कोहलीबाट क्याच छुटेको थियो । त्यसपछि उनले सम्हालिएर खेले । खेलमा उनले ९७ बलमा ८ चौका प्रहार गरे । अन्ततः उनलाई सिराजकै बलमा कोहलीले क्याच आउट गराए ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो १०औं अर्धशतक हो । ४३ खेल खेल्ने क्रममा उनले एक शतक पनि बनाएका छन् । उनी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो सर्वाधिक रन बनाउने नेपाली ब्याट्सम्यान हुन् । उनले १,२५० रन बनाएका छन् ।


प्रतिक्रिया

One thought on “विराट कोहलीको हातबाट फुत्किएर ऐतिहासिक अर्धशतक पूरा गरेका आसिफ

  1. कामीले पनि ४८ रन पुगेपछि २ रन बिस्तारै खेलेर अनि ठोक्नुपर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *